गठबन्धनमा मन्त्रालय बाँडफाँट हुँदै, मुख्यमन्त्रीसँग ३ मन्त्रीले सपथ खाने

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
31 member

सरकार गठनको दाबीसहित प्रदेश प्रमुख निवास पुगेका प्रतिपक्षी दलका सांसदहरु ।

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनको पुर्व तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटको अन्तिम छलफलमा छ । सांग्रिला रिसोर्टमा बसेका ३१ सांसदहरुमा कसलाई सरकारमा पठाउने भन्ने निधो भैसकेको छैन । अहिले त्यसबारे छलफल चल्दै छ ।

श्रोतका अनुसार पहिलो चरणमा मुख्यमन्त्री सहित तीन जनालाई विना विभागीय मन्त्रीको रुपमा सपथ गराईने छ । कांग्रेसबाट मुख्यमन्त्री, माओवादी र जनता समाजवादीबाट पार्टीले पठाएका एक एक जनालाई मन्त्रीमा एकै पटक सपथ गराउन लागिएको हो ।

सपथ अघि नै पार्टी बीच मन्त्रालय बाँडफाँट टुंगो लाग्ने छ । यसअघि ७ मन्त्रालय हुँदा कांग्रेस र माओवादीले ३–३ मन्त्रालय तथा जनता समाजवादी पार्टीले एउटा मन्त्रालय लिने सहमति थियो । अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै ११ मन्त्रालय बनाईदिएका छन् ।

अब नयाँ शीराबाट छलफल हुने छ । जसपाले ७ मन्त्रालय हुँदा एउटा र मन्त्रालय बढी भए दुईवटा मन्त्रालय मागेको छ । सरकारलाई सुझाव दिनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने तथा जसपा र जनमोर्चालाई पनि दलको मान्यता दिने सहमति यसअघि नै भैसकेको छ ।

‘संसद विघटन होला भन्ने चिन्ता भयो । यसलाई जोगाउन तिर लाग्यौं,’ सांसद धनमाया लामाले भनिन्, ‘हिजो र आजको परिस्थिति बदलियो । अब नयाँ हिसावले छलफल अघि बढ्छ ।’ जसपाको प्रदेश कमिटीको बैठक शनिबार विहानै जुममार्फत बसिसकेको छ । पूरानो सहमति कार्यान्वयनमा दवाव दिन बैठकले सुझाएको छ ।

श्रोतका अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भए कांग्रेसबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीबाट रामजी बराल र जसपाबाट हरिशरण आचार्यलाई सपथ गराउने तयारी छ । तर पार्टीले अन्तिम निर्णय भने दिईसकेका छैनन् । ‘महिला कम्तिमा एकजना पठाउनुपर्छ भन्ने सुझाव छ । छलफल टुंगिएको छैन,’ एक सांसदले भने, ‘सुरुमा तीन वा पाँच जनालाई सपथ गराउन खोजिएको छ ।’

पार्टीलाई मन्त्रीको भागबण्डा करिव मिलेको बताईन्छ । ११ मन्त्रालय हुँदा कांग्रेस र माओवादीलाई ४–४ तथा जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाईने छ । धेरैले मन्त्रालय घटाउन सुझाव पनि दिएका छन् । तर गठबन्धनमा दावी धेरै भएका कारण घट्ने सम्भावना निकै कम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width