सुनचाँदी व्यवसायीको कोरोना हेल्प डेस्क

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
Sunchadi

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीले सुनचाँदी व्यवसायी कोभिड–१९ हेल्प डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टबाट सुनचाँदी व्यवसायी र तिनका परिवार संक्रमित हुँदा अक्सिजन, एम्बुलेन्स व्यवस्थासहित ज्यान गुमाउनबाट बचाउन प्रदेशका सबै जिल्लाका व्यवसायी समेटेर १ सय ५१ सदस्यीय हेल्पडेस्क स्थापना गरिएको हो ।

यसैबीच, हेल्पडेस्क समिति संयोजक चन्द्रकिशोर गौतमको अध्यक्षतामा सम्पन्न डेस्कको जुम बैठकमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले कोरोना भाइरस संक्रमणले पद, पैसा, जाति, भूगोल केही नहेर्ने रहेछ भने । उनले गण्डकी प्रदेशले गरेको कार्य अरु प्रदेशले पनि गर्नुपर्ने र सबै प्रदेश अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनारले कोरोनाका कारण विश्व नै तहसनहस पारिरहेको बताए । उनले हरेक गतिविधिमा सचेत रहदै कार्यविधि नै बनाएर अघि बढ्न संस्थालाई सुझाव दिए । अबका दिनमा व्यवसाय खुल्ला गर्दा हुने जोखिम कम गर्न स्वास्थ मापदण्ड र सचेतना गराउनुपर्ने बताउँदै विज्ञले तेस्रो,चौथो भेरियन्टको लहर नै आउने बताइरहेको हुँदा यो कोषलाई समेत लामो समयसम्म निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका सचिव बाबुराम विश्वकर्माले वेडमा छटपटिएका साथीहरुलाई प्रत्यक्ष सहयोग पुग्दा राम्रो सन्देश गएको बताए ।

महासंघका सचिव केशबहादुर सुनारले व्यवसाय र संघमा लागेकाहरुलाई सहयोग पु¥याउँदा महासंघप्रतिको भावना ओतप्रोत हुँने बताए ।

कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर सुनार, गण्डकी प्रदेशका सल्लाहकार एवं जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेल, केन्द्रीय सदस्य गोविन्द सुनार, तेजबहादुर सुनार, हरिबहादुर विश्वकर्मा, राजेन्द्र विश्वकर्मा, मनकाजी घमाल, अमर घताने, भीम सदाशंकर, निर्मल दियाली, कृष्ण सुनार लगायत जिल्ला अध्यक्षले धारणा राखेका थिए ।

गण्डकी प्रदेश जिल्ला इन्चार्जहरुले जिल्लाका समग्रस्थिति सहित संक्रमित व्यवसायी र मृत्यु हुनेको विवरण र राहत स्वरुप प्रदान गरीएको विवरण प्रस्तुत गर्नेहरुमा बमबहादुर विश्वकर्मा लमजुङ, सन्तोष सुनार कास्की, शान्ता सुनार नवलपुर, पुर्ण बहादुर विश्वकर्मा तनहुँ ।

हेल्पडेस्क समिति संयोजक गौतमले गण्डकी प्रदेश समितिबाट १३ जना सुनचाँदी व्यवसायी र उनका परिवारले ज्यान गुमाएको बताए । उनले ६५ भन्दा बढी व्यवसायी र १ सय १५ जनाभन्दा बढी परिवारका सदस्य कोभिडबाट संक्रमित भएको बताउँदै हालसम्म अति दयनीय ११ जनालाई राहत स्वरुप सहयोग १ लाख ३५ हजार प्रदान गरिएको जानकारी दिए ।

सदस्यबाट संकलित ९ लाख २४ हजार र महासंघबाट प्राप्त २ लाख गरी कुल ११ लाख २४ हजार रुपैयाँ संकलन कोषमा भएको बताइयो । सो कोषमार्फत सुनचाँदी व्यवसायी, व्यवसायीका परिवार, कालिगढ, सुनचाँदीमा आवद्ध कर्मचारी र जिल्ला संघका कर्मचारी तथा संकलित रकमको १५ प्रतिशत व्यवसायभन्दा फरक निनम्न वर्गीय महानुभावको उपाचारमा र कुनै जिल्ला अस्पताल, स्वास्थ चौकीहरुमा सहयोग गरिने भएको छ ।

कार्यक्रम सञ्चालन सचिव रविन विश्वकर्मा र धन्यवाद ज्ञापन उपसभापति कृष्णबहादुर विश्वकर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width