वर्षाले लोकमार्गको काम प्रभावित

श्रीभद्र पौडेल
जेठ २९, २०७८
lok marga photo

हेमजा । पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा २५, हेमजा खण्डको काम वर्षाको कारण प्रभावित बनेको छ । वर्षाका बेला अस्फाल्ट पिच गर्न मिल्दैन, त्यसका साथै केही निर्माण सामग्रीको पनि अभाव छ । पानी परेसँगै काम प्रभावित बनेको आयोजनाका इन्जिनियर अनन्त बरालले जानकारी दिए ।

‘भारतबाट अलकत्र नआउँदा यसअघिको करिब डेढ महिना त्यहाँ काम हुन सकेन । अहिले अलिकति अलकत्र आएको थियो तर वर्षा सुरु भइहाल्यो, त्यसैले चालु आर्थिक वर्षभित्र काम नसकिने स्पष्ट छ,’ उनले भनेका छन् ।

यसअघि नै उक्त सडकखण्ड अन्तर्गत याम्दीदेखि बाँसबोटसम्मको १० किलोमिटर सडकखण्ड भने कालोपत्रे भइसकेको छ । अब बाँसबोटदेखि घट्टेखोलासम्मको करिब २ किलोमिटर सडकखण्डमात्रै पिच गर्न बाँकी छ । पिचका लागि करिब, करिब सडक तयारी अवस्थामै थियो । तर पनि दिनहुँको पानीका कारण सडकमा खाल्टाखुल्टी पर्नसमेत थालेको देखिन्छ । सो खण्डको शुक्रबारसम्म ९० प्रतिशत कार्य सकिएको पनि इन्जिनियर बरालले जानकारी दिए ।

यता स्थानीयले भने निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै सडक निर्माणमा ढिलाइ गरेको गुनासो गरेका छन् । करिब ४ वर्ष हुन लाग्यो, घाममा धुलो र पानी पर्दा हिलोमात्रै छ । सडक पिच हुने त सपनाको कुराजस्तै भयो, जीर्ण सडकका कारण धेरै दुर्घटनासमेत भइसकेको फेदीका दयासागर भण्डारी बताउँछन् ।

उक्त सडकखण्ड निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा एन्ड कम्पनीलाई २०७४ असोज १ गते ३ वर्षभित्र सक्ने गरी दिइएको हो । यद्यपि कोरोना भाइरसको प्रभाव र बीच सडकस्थित विद्युत् पोलका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको कम्पनीको दाबी छ ।

सडक कुल ३० मिटर चौडा पारिएको छ । जसअन्तर्गत अधिकांश स्थानमा डिभाइडरको रुपमा बीच भागमा ३ मिटरको फूलबारी तथा दायाँबाँया २ मिटर फराकिला नाली निर्माण गरिएको छ । दुबैतर्फ समान ३ लेनको बाटो बनाइएको छ ।

१ अर्ब ९६ करोड लागतमा पोखरा बागलुङ राजमार्गअन्तर्गत उक्त सडकखण्ड स्तरोन्नति गरी लोकमार्गका रुपमा विकास गर्न खोजिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width