जसले मुस्ताङका स्याउ चिनाए …

सुशील बाबु थकाली
जेठ २९, २०७८
Sherchan

मुस्ताङ । मुस्ताङ जिल्लामा स्याउको जन्मदाताको रूपमा परिचित बुद्धिरत्न शेरचनको निधन भएको छ । बिहीबार साँझ पौने ९ बजे शेरचनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

१९९६ साल चैत १८ गते शनिबार म्याग्दीको सिंगामा जन्मिएका शेरचन मुस्ताङमा स्याउ खेती गर्नुपर्छ भनेर दीर्घकालीन सोच बनाएर अघि बढ्ने एकमात्र व्यक्ति थिए । उनी पूर्णबहादुर शेरचन र लालकुमारीका जेठा छोेरा हुन् । सुरुआती चरणहरुमा प्रशस्त खेतीयोग्य जमिनमा स्याउका बिरुवा लगाएको देखेर उनकी हजुरमुमाले खुब गाली गरेकी थिएन् रे । शेरचनले परिकल्पना गरेर साकार पारेको हजारौं स्याउ खेतीबाट अहिले आम मुस्ताङबासीले मनग्ये आम्दानी गर्छन् । मुस्ताङको स्याउ खेती आम मुस्ताङबासीको लागि दैनिक रोजिरोटीको गतिलो स्रोत बनेको छ ।

पूर्व वागवानी अधिकृत मदन राइले स्व. शेरचन आम मुस्ताङबासीको लागि पितासमान भएको बताउँछन् । हरेक जनताको जीवनस्तर उकास्ने सकारात्मक उद्देश्यसहित भूमिका निर्वाह गर्न सक्ने क्षमता शेरचनसँग भएको राई सम्झन्छन् । ‘विशेषगरी मार्फाबासीको लागि त शेरचन भगवान् नै हुन्,’ राईले भने, ‘तत्कालीन समयमा शेरचनले भारतको जम्मु कश्मिरबाट १२ प्रजातिका स्याउका बिरुवा ल्याएर मार्फाको उर्वरभूमिमा लगाएको उल्लेख गरे । आज उनकै प्रेरणास्वरुप शीतोष्ण बागवानी विकास केन्द्रमा करिब ४ दर्जनजति स्याउका प्रजातिहरु छन् । यो सँगसँगै शेरचनले ओखर, कागजीबदाम, खुर्पानी, चिली, नास्पाती, आरु, चेरी, कटुसलगायत फलफूल खेतीको किास गरेको राईले बताए । ‘अझ भनौं शेरचन शीतोष्ण बागवानी विकास केन्द्रको जन्मदाता नै हुन्,’ राइले भने ।

मुस्ताङको स्याउलाई विश्वभर चिनाउने शेरचनले थालेको गरेको वैज्ञानिक स्याउ खेती अहिले जीविकोपार्जनको उपयुक्त माध्यम बनेको छ

पारिवारिक स्रोतका अनुसार शेरचनले २०१५ सालमा काठमाडौंको जुद्धोदय पब्लिक हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । २०२२ सालमा भारतको युनिभर्सिटी अफ एग्रिकल्चर इन टेक्नोलोजी भुवनेश्वरबाट हर्टिकल्चरमा बिएससी उत्तीर्ण गरेका थिए । २०३१ सालतिर भारतकै उडिसाबाट एमएससी (मास्टर) गरेका थिए । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी भन्ने मुल मन्त्रलाई आत्मसात गरी शेरचन आफ्नो जिल्ला मुस्ताङ आएका थिए । साथै उनको साथमा भारतबाट प्राविधिकसहित टोली मुस्ताङ आइ स्याउ खेतीका लागि मुस्ताङको मार्फा नै रोजेका हुन् । हप्तौं लगाएर उत्तरी सिमाना तिब्बतसम्म पुगेर स्याउ खेतीका लागि प्रारम्भिक तयारीसमेत गरेका थिए । तर अत्यधिक चिसो र उचित वातावरण नदेखेपछि फर्केका उक्त टोलीद्वारा स्थापना गरेको बागवानी अहिले आम मुस्ताङबासीमात्रै नभएर सारा संसारको मान्छेहरूले मुक्तकण्ठले प्रशंसा गर्ने ठाउँ भएको छ, मार्फा ।

यसैगरी शेरचनलाई अत्यन्तै नजिकबाट नियालेका सुकबहादुर भट्टचनले मुस्ताङमा २०२२ सालमा स्याउ खेती सुरु गरेका थिए । २०२२ सालको अन्ततिर र २०२३ सालको भदौ महिनाबाट औपचारिक रूपमा स्याउ खेतीको सुरुआत गरेकै कारण मार्फाली जनताहरुको जीवनस्तर धेरै नै माथि उठेको भट्टचनको भनाइ रहेको छ । जिल्लाको कृषि क्षेत्रलाई अत्यन्तै माया गर्ने शेरचनकै कारण आज आम मुस्ताङी जनताहरुको आर्थिक स्थिति मजबुत बनेको भट्टचनले बताए, उनले भने, शेरचनकै कारण शीतोष्ण बागवानी विकास केन्द्रको स्थापना भएको हो । तर दुखको कुरा उनको योगदानलाई जिउँदो हुँदै कसैले पनि सम्झन सकेन, भट्टचनले दुखेसो पोखे ।

शेरचनले जीवनको आधाभन्दा बढी समय स्याउ खेती विस्तार र अर्गानिक स्याउ उत्पादनमै खर्चेको भट्टचनको जिकीर छ । त्यसैले त आज सारा नेपालीको लागि शेरचन स्याउका पिता हुन् । शेरचन दुई पटकसम्म बागवानी अधिकृसमेत बनेका थिए । र मुस्ताङको मार्फालगायत अन्य दर्जनौं गाउँहरुमा औपचारिक रुपमा स्याउ खेतीको सुरुआत गरी निरन्तरता दिएका थिए । आज उनै शेरचनले सुरुआत गरेको वैज्ञानिक स्याउ खेती सबैको लागि जीविकोपार्जनको उपयुक्त माध्यम बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width