गण्डकीमा कांग्रेसका कृष्णचन्द्रलाई सरकार नेतृत्वको अवसर, नियुक्ति आजै 

प्रकाश ढकाल
जेठ २९, २०७८
31 member

सरकार गठनको दाबीसहित प्रदेश प्रमुख निवास पुगेका प्रतिपक्षी दलका सांसदहरु ।

पोखरा । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत सहित दाबी पेस गरेको छ । शुक्रबार प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै विपक्षीहरु भौतिक रुपमै उपस्थित भएर मुख्यमन्त्री दाबी गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद राजीव गुरुङलाई प्रदेश प्रमुखको निवासमा उपस्थित गराएका थिए ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बहुमत सदस्यले अस्वीकृत गरेपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो । गुरुङलाई आफैले मन्त्री बनाएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समेत मत दिएनन् । गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा ३० मत खस्यो । जनमोर्चा सांसद कृष्ण थापा तटस्थ रहे भने स्वतन्त्र सांसद गुरुङ संसद नै गएनन् । उनले गुरुङलाई मतदान नगरेर विघटनको सम्मुखमा रहेको प्रदेशसभा समेत जोगिएको छ भने विपक्षीले सरकार गठनको मौका जुराएका छन् ।

विपक्षी गठनवन्धनले बहुमत ३१ जना नै उपस्थित गराए पनि प्रदेश प्रमुखले शनिबार ३ बजेसम्म समय छ भनेर केही निर्णय दिइनन्

सोझो हिसाबले शनिबार कांग्रेस नेता नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । संविधानको व्यवस्था अनुसार सबै प्रक्रिया पूरा भएकोले सरकार आफ्नै नेतृत्वमा बन्ने नेपालीको दाबी छ । ‘सबै डकुमेन्ट पेस ग¥यौं,’ उनले भने, ‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको नजिर हेर्दा हामी विश्वस्त छौं । ३१ सांसदहरु सशरीर उपस्थित भएर सनाखतसहित निवेदन दर्ता गराएका छौं । अब अरु विकल्प छैन, बोलाउनु हुन्छ ।’

विपक्षी गठवन्धनले औपचारिक रुपमा हस्ताक्ष सनाखत गर्न गरेको आग्रह प्रदेश प्रमुखले इन्कार गरेकी छन् । प्रदेश प्रमुखकै कार्यालयको रजिस्टरमा ३१ जना सांसदले हस्ताक्षर गरेर छाप भने लगाइएको छ । उक्त हस्ताक्षरको फोटोकपी माग्दासमेत केहीबेर आनाकानी भएको एक सांसदले बताए ।

सरकारले असार १ गते बजेट ल्याउनुपर्ने वाध्यकारी व्यवस्था छ । त्यसैले छिटो सपथको व्यवस्था मिलाउन पनि विपक्षीले प्रदेश प्रमुखसँग आग्रह गरेका छन् । ‘बजेट ल्याउनुपर्छ । त्यसबीचमै नीति तथा कार्यक्रम ल्याउनुपर्छ । त्यसो भएकाले छिटो शपथको कार्यक्रम टुंग्याइदिनुस् भन्यौं,’ नेपाली भन्छन्, ‘उहाँले (प्रदेश प्रमुख) भोलि ३ बजेसम्म अध्ययन गरेर अगाडि बढ्छु भन्नुभयो ।’

नीति तथा कार्यक्रम र सरकार गठनबारे मुख्यमन्त्रीको नियुक्तिपछि मात्रै टुंगो लाग्ने उनले सुनाए । ‘औपचारिकरुपमा हामीमाथि जिम्मेवारी आएपछि समयको सीमा र परिस्थिति हेरेर चारै दल बसेर नीति तथा कार्यक्रम बनाउछौं,’ उनले थपे, ‘अहिले मन्त्रालयतिर प्रवेश गर्ने कुरै छैन । फेरि मन्त्रालय हामी बीचमा ठूलो कुरा छैन । मुख्य कुरा अहिलेको चुनौतीलाई मिलेर चिरेका छौं । यहि ठूलो कुरा हो ।’ सभागृहमा चारै दलका सांसद र स्वतन्त्र सांसद सहित उपस्थित भएर उनीहरु प्रदेश प्रमुखको निवासमा पुगेका थिए ।

सरकारमा सत्तारुढ एमालेले पनि दाबी पेस गर्ने बुझिएको छ । यद्यपि औपचारिक निर्णय बाहिरिएको छैन । ‘अब गर्नुपर्ने केही छैन । भित्री ढंगले जालझेल गर्नुपर्ने छैन । आफ्नो दाबी पेस गर्ने हो । भोलिसम्म म्याद बाँकी छ । त्यो कुरा दलको सल्लाह अनुसार टुंगो लाग्छ,’ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘उहाँहरुले दाबी गर्नु भयो । विधिपूर्वक नै होला । प्रदेश प्रमुखले निवेदन छानबिन गरेर टुंगो लगाउनु होला ।’ सभामुखले पछिल्ला बैठकहरुमा देखाएको गतिविधिबारे भने उनले आलोचना गरेका छन् । ‘कुनै संसद बैठकमा हाम्रो मतभेद भएन । परामर्शको लागि गठन भए पनि निर्णय सोही समितिले गथ्र्यो,’ उनले थपे, ‘आजको बैठकको लागि सल्लाह थिएन । एजेन्डा पनि थिएन । पेलेर संसद चलाउनुभयो ।’

सत्तारुढ एमालेको अवरोधकै बीच मन्त्री अनुपस्थित भएको बेला सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चा सांसद कृष्ण थापा कारबाहीमा परेको सूचना पढेर सुनाएका थिए । २०७४ फागुनमा दुई तिहाई बहुमत सहित मुख्यमन्त्री नियुक्त भएका गुरुङ माओवादीले साथ छोडेपछि वैशाख २ गते अल्मपतमा परेका थिए । उनीविरुद्ध २८ सांसदले अविश्वास प्रस्ताव समेत दर्ता गराए । छलफल चल्दै गर्दा वैशाख २६ मा राजीनामा दिएर २९ गते उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पुनः नियुक्त भएका थिए । गुरुङले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा अन्तिम दिन संसद फेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width