लमजुङमा निषेधाज्ञा लम्बियो

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
lamjung bhidbhad

लमजुङ सदरमुकामको बैंकमा लागेको भीड

लमजुङ । लमजुङमा निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जिल्लामा कोरोनाका संक्रमित एकैदिन ७६ थप भएसँगै निषेधाज्ञा बढाइएको हो । यसअघि चौथो पटक थप भएको निषेधाज्ञा बिहीबार राति १२ बजे सकिँदै थियो ।

जिल्लामा बुधबार ८ बालबालिकासँगै ७६ जना संक्रमित थप भएका हुन् ।

३ दिनयता ओह्रालो लागेको संक्रमित दर चौथो दिन बुधबार ह्वात्तै बढेर ७६ पुगेको हो । मंगलबार १२, सोमबार ३४ र आइतबार ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलद्वारा जारी आदेशमा निषेधाज्ञा असार ३ गते राति १२ सम्म थप भएको उल्लेख छ । जिल्लामा सातामा २ दिन आइतबार र बिहीबारमात्र त्यो पनि १० देखि १२ बजेसम्म मात्र बैंक खुल्न पाउने भनिएपछि बैंकमा सेवाग्राहीको भिड लागेको छ ।

लमजुङमा हालसम्म कुल संक्रमित संख्या १ हजार ४ सय ६१ पुगेको छ । तीमध्ये २२ जनाको निधन भएको छ भने ७ सय ३४ जनाले कोरोना जितेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ६ सय ९६ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width