लकडाउनका बेला फलफूलमा मनपरी, केरामा विषादी

धनबहादुर गुरुङ
जेठ २६, २०७८
Anugaman Photo 1

पोखरा । ‘केरामा विषादीको प्रयोग भइरहेको छ, ल अब उपभोक्ता हितका लागि अनुगमन हुन्छ कि हँुदैन ।’ भन्दै फोटोसहित उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको म्यासेन्जरमा एउटा म्यासेज आयो । मंगलबार बिहान म्यासेन्जर मार्फत आएको फोटोमा केराको घरी नजिकै विषादी छर्कने स्प्रे प्रष्ट देखिन्थ्यो । सधैं उपभोक्ताको हितका लागि काम गर्ने कोइरालालाई यो विषय गम्भिर लाग्यो । तत्काल बुझ्दै जादा कृषि उपज बजार पृथ्वीचोकको पसल भन्ने पत्ता लगाए ।

उपभोक्ताबाट फोटोसहित जानकारी आएपछि मंगलबार नै सबै सम्बन्धीत कार्यालयमा फाने हाने । बेलुका पख उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यको संयोजकत्वमा समिति गठन भयो । समितिमा आचार्यसहित कपिलनाथ कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रणण डिभिजन कार्यालयका प्रमुख शिवजी बराल, जिल्ला प्रशासन र जिल्ला प्रहरीका प्रतिनिधि थिए । लकडाउनको समयमा रातीको समयमा पसल नखुल्ने भएपछि मंगलबार समिति मात्र गठन भयो । बुधबार बिहानै टोली कृषि उपज बजार केन्द्र पृथ्वीचोक पुग्यो ।

खोज्दै, बुझ्दै जाँदा बजारको सटर नम्बर ६९ मा तस्बिरको स्प्रेसहित केराको घरी भेटियो । म्यासेन्जरमा आएको तस्बिरसँग वास्तविकता मेल खाएपछि पसलको बारेमा सोधपुछ सुरु भयो । सोध्दै जाँदा सटर नम्बर ६९ मा सञ्चालनमा रहेको भुर्तेल फ्रुट सेन्टरले नै त्यो बदमासी गरेको पत्ता लाग्यो । उनीहरुले के प्रयोग गरेका हुन्, ठ्याक्कै भन्न नसकिने खाद्य प्रविधि तथा गुण नियन्त्रणण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । ‘उनीहरुले के प्रयोग गरेको हो थाहा भएन्, उनीहरुले खोलपनि देखाएनन्,’ उनले भने, ‘हामीलाई चाँही क्याल्सियम कार्बाइड जस्तो लागेको छ ।’ क्याल्सियम कार्बाइडलाई पानीमा घोलेर प्रयोग गर्दा केरा छिटो पाक्ने भएका कारण पनि सोही रसायन प्रयोग गरेको हुन सक्ने उनको आँकलन थियो । अनुगमनका क्रममा अखाद्य वस्तु प्रयोग गरेको भेटिएकाले अखाद्य बस्तु नियन्त्रणमा लिएर २४ घण्टाभित्र कार्यालयमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

उक्त फ्रुट सेन्टरको गत ८ वर्षदेखि नविकरण फेल रहेको पनि उनले जानकारी दिए । ‘उनीहरुले नाम पनि नभनेपछि हामीले प्रयोगशालामा पठाउनका लागि स्याम्पल ल्याएका छौं,’ बरालले भने, ‘त्यसको रिजल्ट आएपछि कार्बाइड नै रहेछ भने कानुन अनुसार कारबाही गर्ने टिमको निष्कर्ष भएको छ ।’ कार्बाइडबाट एसिटिलीन ग्यास निस्कने भएका कारण ग्यास स्वास्थ्यका लागि हानिकारक रहेको उनले जानकारी दिए । अनुगमन कै क्रममा केहीले एसीको प्रयोग गरेर केरा पकाउने गरेको पनि भेटियो । एसीबाट पकाउँदा ७२ घण्टा लाग्ने र कार्बाइड प्रयोग गर्दा २४ घण्टा मै पाक्ने भएका कारण विषाधीको प्रयोग बढ्न थालेको हो । एसीको प्रयोग गर्दा भने शरिरमा कुनै असर नगर्ने उनको भनाई छ ।

अनुगमन कै क्रममा केही फलफुल खरिद मुल्यभन्दा बढिमा बेचेको भेटिएको उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला जानकारी दिए । बजारको सटर नम्वर ८० को माँ बालकुमारी फ्रुट सेन्टरले बढि मुल्यमा फलफुल बेचेका हुन् । माल्टा भन्ने फल बिदेशमाबाट प्रतिकिलो ५८ रुपैँयामा खरिद गरेर होलसेलमा १ सय ६७ र खुद्रामा ३ सय रुपैयाँ प्रतिकिलोमा बेचेको भेटिएको उनले बताए । उक्त फ्रुट सेन्टरलाई पनि २४ घण्टामा कागजपत्र र खरिद तथा बिक्री मुल्य सहित उपस्थित हुन निर्देशन दिइएको छ । त्यसैगरि बाबाधाम फ्रुट सेन्टर, नितेश सप्लायर्स र फुयाँल फ्रुट सेन्टरले प्यान तथा भ्याटको प्रमाण देखाउन नसकेका कारण ३ दिन भित्रमा कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएको कोइरालाले बताए ।

अनुगमनका क्रममा त्रुटि भेटिएकाहरुको अनुसन्धानको क्रममा रहेको उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले बताए । अनुसन्धानपछि उपभोक्ता हकहित संरक्षण ऐन २०७५ अनुसार कारवाही हुनेछ । ‘हामी उहाँहरुको कसुरको अनुसन्धानकै प्रक्रियामा छौं, अनुसन्धानमा जुन कसुर ठहर हुन्छ त्यही अनुसार सजाय भोग्नुहुन्छ,’ आचार्यले भने, ‘दण्ड सजाय र कसुरको व्यवस्था उपभोक्ता हकहित संरक्षण ऐन २०७५ मा भएको व्यवस्था अनुसार हुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width