कास्कीका पत्रकारलाई कोरोना खोप उपलव्ध गराउन महासंघको माग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
fnj

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।

शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गर्नुभएको हो ।

जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो तथा चौथो लहर आउन सक्ने तर्फ सचेत गराइसकेको र उच्च जोखिममा रहेको सञ्चार जगत र आम नागरिकलाई कोरोना विरुद्ध खोपको आवश्यकता टड्कारो बनेको महासंघको ठहर छ ।

कोरोना संक्रमणका कारण पत्रकार कास्कीका क्रियाशील र जुझारु एक पत्रकारलाई गुमाउन बाध्य भएको, संक्रमण सुरु भएयता ४७ जना पत्रकारहरु संक्रमित भएको र कतिपय संचारकर्मीहरु अहिलेपनि विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

नयाँ भेरियन्टको रुपमा कोभिड १९ को दोस्रो लहर सुरु भए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीलाई उच्च जोखिम जिल्लाको सूचीमा सुचिकृत गरेको र सो अवस्था अहिलेपनि यथावत रहेपनि राज्यको चौथो अंग सञ्चारकर्मीहरु जनताको सुसूचित हुने अधिकार प्रत्याभूत गर्न महामारीबीचमा पनि निरन्तर आफ्नोे कार्य क्षेत्रमा खटिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
कोरोना संक्रमणका कारण अहिलेसम्म देशभर २० जना पत्रकारले ज्यान गुमाईसकेका छन । अहिलेपनि झण्डै २ हजार पत्रकार कोरोना संक्रमित भई विभिन्न अस्पताल र होम आईसोलेसनमा रहेको बताइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width