सन्जिवनी दिदीबहिनी केन्द्रको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
sanjeevani 2

पोखरा । सन्जिवनी दिदीबहिनी केन्द्रले कोरोना महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण समस्या परेका व्यक्ति तथा संस्थालाई नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले पहिलो र दोस्रो चरणमा गरी सो सहयोग उपलब्ध गराएको केन्द्रकी संस्थापक सदस्य एवं हङकङ विभागीय प्रमुख नानी कमला गुरुङले बताइन् ।
उनका अनुसार आफूसहित केन्द्रका संस्थापक माइली तमुस्यो (पुष्पा), सामाजिक अभियन्ता झुमा गुरुङ, ज्योति गुरुङ, केन्द्रका संस्थापक सदस्य तथा बेल्जियम विभागीय प्रमुख यामकुमारी गुरुङ (उमा) लगायत केन्द्रको अभियानमार्फत कास्की, रुपन्देही र बागलुङमा सहयोग उपलब्ध गराइएको हो ।

जसअनुसार बतास फाउण्डेसनको पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा १ लाख सहयोग गरिएको छ । सो सहयोग एभरेस्ट एफएमका सञ्चालक दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरियो ।

यस्तै, मादी गाउँपालिका वडा ७ का वडाध्यक्ष लालबहादुर गुरुङलाई १० हजार बराबरको मास्क, सेनिटाइजर हस्तान्तरण गरिएको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३९ हजार बराबरको पेसेन्ट सिफ्टिङ ट्रली (२ थान), अक्सिजन ट्रली (२ थान) सहयोग गरिएको छ ।

उता, घाँस काट्नेक्रममा रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेका बागलुङका १८ वर्षीय अभिषेक रोकालाई उपचार सहयोगार्थ १० हजार दिइएको छ भने कास्कीको मादी १, सिक्लेसमा कोरोना संक्रमण फैलिएकोले रोकथाम तथा उपचार सहयोगार्थ ८८ हजार रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ ।
त्यसअघि पहिलो चरणमा संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिडपीडितको उपचारार्थ अक्सिजन भर्न ७० हजार, परिवारका ३ सदस्य गुमाएका बुटवलको कालिकानगर निवासी ६ वर्षीय बालकलाई २५ हजार नगद सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width