भेरोसेलले दिलाएको खुसी

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
tanahu khop

दमौली । व्यास नगरपालिका वडा ५, कन्टारका ६४ वर्षीय तारा खनालले मंगलबार कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा गएर खोप लगाएपछि खनाल खुसी छन् । ‘सरकारले हामीलाई खोपको व्यवस्था गरेर राम्रो ग¥यो । सबैले लगाउन पाए राम्रो हुन्थ्यो’, उनले भने, ‘धेरै अझै छुट्नु भएको छ । उहाँहरुलाई पनि छिटो लगाइयोस् ।’

चीन सरकारले अनुदानमा पठाएको भेरोसेलको खोप यहाँ ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको हो । ‘स्थानीयस्तरमा खोप केन्द्र निर्धारण गरेर खोप लगाउने अभियान चलेको छ’, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने, ‘सरकारले तोकेको मापदण्डभन्दा तलमाथि नपर्ने गरी लगाइन्छ ।’

यस्तै काठमाडौं उपत्यका बाहिर रहेका तर भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी भएकालाई पनि यस अभियानअन्तर्गत खोप लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेकालाई समेटिएको हो । ‘काठमाडौंमा पहिलो मात्रा लगाइयो । दोस्रो मात्रा लगाउन छुटेको थियो । यसपालि लगाउन पाइयो,’ पतेनीका रामकुमार पौडेलले भने ।

तनहुँमा यसपटक करिब ४ हजार ९ सय जनालाई भेरोसेल खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंखरबाबु अधिकारीले बताए । जिल्लामा ९९ वटा खोप केन्द्रमार्फत खोप लगाइएको छ । मंगलबार छुटेका ज्येष्ठ नागरिकलाई बुधबार लगाइने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width