नेतृत्व अडानले जुटेन सहमति, गण्डकीमा सकियो सर्वदलीय सरकार गठनको सम्भावना

प्रकाश ढकाल
जेठ २६, २०७८
cabinet building gandaki

पोखरा । दुबै पक्षले नेतृत्व दाबी गरेपछि गण्डकीमा सर्वदलीय सरकार गठनको सम्भावना करिब टुंगिएको छ । सत्ता–विपक्षीको बहुमत नपुग्ने निश्चित भएका कारण सर्वदलीय सरकार गठनको प्रयास गरिएको थियो । सत्तापक्षले आफ्नै नेतृत्वमा अरु राजनीतिक पार्टीलाई सरकारमा बोलायो । विपक्षीले एमालेबाहेकको नयाँ नेतृत्व बनाउन प्रस्ताव गर्‍यो । सत्ता र विपक्षी दुबैले आफ्नो नेतृत्व छोड्न नमानेपछि सर्वदलीय सरकार गठनको सम्भावना अब सकिएको छ । विपक्षी गठबन्धनले मंगलबार अनौपचारिक बैठक बसी आफैंले नेतृत्व पाएमात्रै सर्वदलीय सरकार गठन प्रक्रियामा छलफल गर्ने निधो गरेको छ । चारै दलका नेताहरुको उपस्थितिमा भएको बैठकले एमालेको नेतृत्व स्वीकार्न नसकिने निर्णय गरेको हो ।

‘कृष्णचन्द्र नेपालीको नेतृत्व स्वीकार नभए अरु व्यक्ति खोजौं । तर एमालेको नेतृत्वमा फेरि सरकार बन्न सक्दैन,’ कांग्रेस वार्ता कमिटी सदस्य विन्दुकुमार थापाले भने, ‘४ दलको अनौपचारिक छलफलले त्यही निधो गरेको छ । अब एमालेको नेतृत्वमा बन्ने सर्वदलीय सरकार गठनमा हामी नजाने नै निर्णय भयो ।’ गठबन्धनको निर्णय सत्ता पक्षलाई जानकारी गराइएको थापाले बताए । ‘उहाँहरुले राजीव गुरुङलाई भित्र्याएजसरी भित्र्याउने चाहना देखाउनुभयो । त्यसमा हामी नजाने नै भइयो,’ उनी भन्छन्, ‘त्यसपछि पनि बैठक बसौं भन्नुभएको थियो । हामीले बस्नै परेन भनेर जवाफ दियौं ।’ गठबन्धनको निर्णयपछि सत्ता पक्षले निर्वाचनमा जाने त ? भनेर प्रश्न गरेको थापाले बताए ।

‘नेतृत्वमा सेक्रिफाइस गर्ने अवस्था छ भने छलफल गरौंला भनिदियौं । त्यसपछि उहाँहरुले त्यसो भए निर्वाचनमा जाने त भनेर प्रश्न गर्नुभयो । परिस्थितिले जे भन्छ, त्यही गरौं भनिदियौं,’ थापा भन्छन्, ‘प्रतिगमनविरुद्ध लडाइँ लड्ने र त्यही नेतृत्वमा मतियार भएर जाने त कुरै भएन ।’ कांग्रेसबाहेकका अरु दलहरुले संसदीय दलको बैठक नै बसेर एमाले नेतृत्वको सरकारविरुद्ध मतदान गर्ने निर्णय नै गरिसकेका छन् । सोमबार माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै बैठक बसेर विपक्षी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका हुन् । कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्दै छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनबाट विश्वासको मत लिने जानकारी गराएका छन् । त्यसको सूचनासमेत टाँस भइसकेको छ । ‘मुख्यमन्त्री कार्यालयबाट पत्र आयो । त्यसका आधारमा बैठक बिहीबार १२ बजे बस्ने गरी सूचना गरिएको छ,’ सचिव हरि पोखरेलले भने, ‘सबै माननीय ज्यूहरुलाई खबर गरिसकिएको छ । मतदान पनि बिहीबार नै हुन्छ ।’ बिहीबारको बैठकका लागि बुधबार १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही समितिले बिहीबारको कार्यसूची तयार गर्छ ।
६० सांसद रहेको गण्डकीमा पार्टीगत विभाजन हुँदा दुवै पक्षसँग बहुमत पुग्दैन ।

विपक्षीसँग सभामुखबाहेक ३० सांसद छन् भने सत्ता पक्षसँग जनमोर्चाका १ सहित २९ सांसद छन् । विपक्षीले सरकारलाई ३१ मत पुग्नबाट रोक्ने प्रयास गरिरहेको छ भने सत्तापक्ष सांसदहरु फकाउन व्यस्त छ । मुख्यमन्त्रीको तर्फबाट सरकारका प्रवक्ता रामशरण बस्नेतले दल र सांसदहरुसँग छुट्टाछुट्टै बैठकहरु जारी राखेका छन् । उनैले सर्वदलीय सरकार गठनको प्रस्तावसमेत दलहरुलाई बोलाएर गरेका थिए । फ्लोर क्रसबाहेक यहाँ कुनै पनि पक्षको बहुमत पुग्ने देखिँदैन । त्यसो त विपक्षीहरुले सभामुखको राजीनामा गराएर ३१ सांसदको हस्ताक्षर बुझाउने तयारी पनि गरेका छन् ।

यद्यपि टुंगो भने लागेको छैन । सत्तारुढ एमालेको पक्षमा भर्खरै मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापा छन् ।

विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडक संघर्ष नै गरेको एमालेभित्र माधव नेपाल खेमाका १ सांसद पनि गण्डकीमा छन् । तर उनले सरकारविरुद्ध नजाने सार्वजनिक वक्तव्य नै दिएका छन् । बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको बाटो खुल्छ । कसैले पनि ३१ मत पुर्‍याउन सकेनन् भने संसद विघटन गरी ६ महिनाभित्र चुनाव गर्ने गरी मिति तय हुनेछ । त्यो चुनाव गुरुङ सरकारले नै गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width