प्रदेशमा कोरोना संक्रमणदर घट्यो

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कारोना संक्रमणको दर घटेको छ । पछिल्लो १ महिना अवधिमा एकै दिन १७ सय ३३ जना संक्रमित भएको गण्डकी प्रदेशमा मंगलबार भने ५ सय १८ जना मात्र संक्रमित भए । सोमबार ७ सय ९१ जना संक्रमित भएका थिए ।

मंगलबार सबैभन्दा बढी कास्कीमा २ सय ३२ र कम मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो । मनाङमा कुनै पनि संक्रमित नहँुदा गोरखामा १ सय ६ र पर्वतमा ८७ जना संक्रमित भएका छन् । यसैगरी नवलपुरमा ३१, बागलुङमा १७, म्याग्दीमा १५, स्याङ्जा र लमजुङमा १२÷१२ सहित तनहुँमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसँगै प्रदेशमा कोरोनाको संक्रिय संक्रमित ७९ सय पुगेका छन् । जसमध्ये ७३ सय ७५ जना होम आइसोलेसनमा छन् ।

यता कोरोना संक्रमितको संख्या ओरालो लाग्दा निको हुनेको संख्या दोब्बरले बढेको छ । मंगलबार पनि ५१८ संक्रमित हुँदा १ हजार ७३ जना निको भएका छन् । सोमबार पनि संक्रमितभन्दा निको हुनेको संख्या झन्डै दोब्बर बढी थियो । ७ सय ९१ संक्रमित हुँदा १५ सय ३० ले कोराना जितेका हुन् । प्रदेशभर कोरोना निको हुनेको संख्या ३९ हजार १ सय २० जना पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६ सय ७६ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पिसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा, ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा, १ हजार ३ सय २१ जना आइसीयुमा र ३ सय ७२ जना भेन्टिलेटरमा छन् । यही अवधिमा थप ६ हजार ५ सय ७० जना निको भए । हालसम्म ५ लाख ४ हजार ५ सय ३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४ दशमलव ७ प्रतिशत पुगेको छ ।

कोरोनाबाट थप १० जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीमा ३, पर्वत र स्याङ्जामा २÷२, लमजुङ, तनहुँ र नवलपुरमा १÷१ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका १० का २६ वर्षीय पुरूषको सोमबार होम आइसोलेसनमा मृत्यु भएको हो । पोखरा १७ का ८० वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा १६ का ५० वर्षीय कोरोना संक्रमित पुरूषको मंगलबार मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पर्वतको फलेबास नगरपालिका १ का २८ वर्षीय पुरूषको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पर्वतकै मोदी गाउँपालिका ६ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का ५४ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका ६ का ५२ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । लमजुङको राइनास ९ की ७७ वर्षीया महिलाको चितवन मेडिकल कलेज चितवनमा उपचारको क्रममा ज्यान गएको हो । तनहुँको व्यास नगरपालिका १ का ७५ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको हो । नवलपुरको बौदीकाली गाउँपालिका १ का ८१ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ८९ पुगेको छ । नेपालभर थप १ सय ८ जनाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १ दशमलव ६ प्रतिशत रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width