ओली सरकार प्रतिगमनउन्मुख

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Congress Flag

पोखरा । नेपाली कांग्रेसले वर्तमान सरकारले कानुनी शासनको धज्जी उडाएको ठहर गर्दै योजनाबद्ध रोडम्यापसहित प्रतिगमनउन्मुख भएको आरोप लगाएको छ । सबै नागरिकलाई अविलम्ब खोप लगाउने प्रबन्ध गर्न, सम्पूर्ण पालिकास्तरमा औषधी उपकरणसहित आइसोलेसन सेन्टर बनाउन, पिसिआर र कन्ट्याक्ट ट्रेसिङ ब्यापक तुल्याउन तथा गरिब एवं श्रमिकवर्गलाई तत्काल राहत उपलब्ध गराउन माग समेत गरिएको छ ।

सात वटै प्रदेशमा आयोजित प्रदेशस्तरीय जुम बैठकबाट प्राप्त विचार संश्लेषण गरी कांग्रेसका सबै जिल्लाका सभापतितर्फबाट जारी १० बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुलुककै कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभाप्रति असहिष्णु र पूर्वाग्रही बन्नु तथा संसद छलेर अध्यादेश भरमा सत्ता सञ्चालन गर्नु ओलीतन्त्र भएको टिप्पणी गरिएको हो ।

‘नेपालको इतिहासमै कुनै पनि जननिर्वाचित सरकारको पालामा अहिलेजस्तो राष्ट्र, राष्ट्रियताको जग यतिविघ्न कमजोर कहिल्यै भएको थिएन । सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आशयमा ‘बहुल राष्ट्र राज्य’ को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि प्रहार भएको छ । पार्टीको आन्तरिक मामिलामा समेत बाह्य प्रशिक्षण, चलखेल र हस्तक्षेपकारी भूमिका नग्न रुपबाट पटकपटक प्रकट भए भने अन्तर्राष्ट्रिय सम्बन्धमा पारस्परिक सन्तुलन, भाइचारा, विश्वास र हार्दिकता कायम राख्न यो सरकार पूर्णतः असफल भएको ठहर गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । कोरोनाको बेला सामान्य सिटामोल, थर्मोमिटर, अक्सिमिटर तथा अक्सिजन सिलिन्डर उपलब्ध गराउनेतर्फ यो सरकार संवेदनशील नरहेको तर्क काँग्रेसको छ ।

वाइडबडी कान्ड, फोरजी कान्ड, यति–ओम्नी कान्ड, प्रिन्टिङ प्रेस कान्ड, बालुवाटार जग्गा कान्ड, बुढीगण्डकी कान्ड, सुन कान्ड, कोभिड औषधि–उपकरण कान्ड जस्ता थुप्रै भ्रष्टाचारमा केपी शर्मा ओली नेतृत्वको सरकार लिप्त भएको र यसले नेपालको अन्तर्राष्ट्रिय छवि ध्वस्त बनाएको आरोप लगाउँदै भ्रष्टाचार कान्डको विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । महामारीको मौका छोपेर खाने तेल, पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुको बजार मूल्य अराजक ढंगबाट वृद्धि भएको, सरकार आफैंले घोषणा गरेका थुप्रै योजना बजेट अभावमा अलपत्र परेको आरोप लगाइएको छ ।

नेपालको स्वाधीनता रक्षा, नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार, आर्थिक सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणमा एकलव्य संकल्पका साथ लाग्नुपर्ने धारणा काँग्रेसको छ । संवैधानिक निकाय, सामाजिक संघसंस्था, नागरिक समाजलाई कसैको अनुचित प्रभावमा नपरी संविधान र लोकतान्त्रिक मूल्य पद्धतिको रक्षार्थ योगदान गर्न अपील गरिएको छ । देशभरका महत्वपूर्ण योजना, आयोजना, पुरातात्विक महत्वका तीर्थस्थल तथा महत्वपूर्ण स्थलको मौलिकतामाथि नै प्रहार गर्दै नाम परिवर्तन गरी धार्मिक, आध्यात्मिक मौलिक संवेदनामाथि खेलवाड नगर्न सरकारलाई काँगे्रसले अनुरोध गरेको छ ।

साथै, वर्तमान राष्ट्रपतिको भूमिका असन्तुलित रहेको भनी सोप्रति ध्यानार्कषण गराउँदै कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नाम जारी नगर्ने तर अहिले त्यसको ठीकविपरीत कामचलाऊ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल हेरफेर, बिस्तारमा सहयोग पु¥याउने काम एकदमै दुर्भाग्यपूर्ण भएको ठहर गरिएको छ । यतिबेला कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र पार्टीको १४ औं महाधिवेशन तथा अन्य आन्तरिक पार्टी सरोकारका विषयमा पार्टी केन्द्रलाई सामूहिक ज्ञापनपत्र बुझाउने निर्णय समेत सातै प्रदेशका सबै जिल्लाका सभापतिले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width