जन्मभूमिको मायाः युके र हङकङ समाजको सहयोगमा भिँडाबारीमा आइसोलेसन

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Mardikhola Samaj Photo

पोखरा । मर्दीखोला समाज युकेका आजीवन सदस्य विकास गुरुङका बुवाको कोरोना संक्रमणका कारण युकेमै निधन भयो । उतै काजक्रिया गरियो । गुरुङ संस्कृतिअनुसार अर्घौं र ४९ दिनको पूजा गर्न उनको परिवार १४ चैतमा नेपाल आए ।

त्यतिबेला नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त थियो, उनी नेपालमै रोकिए । उनको बसाइँ लम्बिदै जाँदा नेपालमा कोरोना संक्रमितको ग्राफ निकै माथि पुगेको थियो । कोरोनाका कारण बाबु गुमाएका विकासले नेपालमा सहयोग गर्ने सोंच बनाए । युकेजस्तो विकसित देशमा त कोरोना संक्रमणबाट धेरैले ज्यान गुमाएका छन् भने जन्मभूमि नेपालमा यसले झन् महामारीको रुप लिन्छ भन्ने निष्कर्षमा पुगे । अनि सम्झिए, नेपालको हरेक दुखमा साथ दिने युकेबासी मर्दीखोला समाजलाई ।

मर्दीखोला समाज युकेका अध्यक्ष धर्मराज गुरुङसँग उनको कुराकानी भयो । धर्मले सहयोग जुटाउने आश्वासन दिँदै विकासलाई तयारी थाल्न भने । उनले सुरुमा स्वास्थ्य सामग्री वितरण गर्ने सोच बनाए । स्वास्थ्य केन्द्रका चिकित्सक आनन्द बराल, सल्लाहकार शंकर गुरुङ र बराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङसँग सल्लाह गरे । सल्लाहमा स्वास्थ्य सामग्री बाँड्नभन्दा अक्सिजनसहितको आइसोलेसन बनाउने निचोड निस्कियो । विकासलाई पनि यो महामारीमा आइसोलेसन नै महत्वपूर्ण लाग्यो । फेरि युकेका अध्यक्ष धर्मसँग सम्पर्क गरी आइसोलेसनका लागि सहयोग रकम उठाउने सहमति भयो ।

वडासँग समन्वय गर्न विकासले माछापुच्छ«े गाउँपालिका ७, ८ र ९ का जनप्रतिनिधिसँग छलफल गरे । त्यसको २ दिनपछि फेरि पालिकाको ५ देखि ९ वडाका जनप्रतिनिधिसँगको छलफलपछि बल्ल भिँडाबारीमा आइसोलेसन बनाउने निर्णय भयो ।

अक्सिजनसहित आइसोलेसन बनाउन खर्च धेरै लाग्ने भएपछि विकासले अरु समाजहरुलाई पनि जन्मभूमिमा आफूहरुको सहयोगमा आइसोलेसन बनाउन लागेको सुनाए । उनी आफैंले मर्दीखोला समाज, हङकङका अध्यक्ष रक्ष गुरुङसँग सहयोगको अपील गरे । अध्यक्ष रक्षले पनि सहयोगको प्रतिबद्धता जनाए । युकेबाट अध्यक्ष धर्मराज गुरुङको नेतृत्वमा उठेको साढे २ लाखबाट काम थालियो । युकेबाट दोस्रो र तेस्रो चरणमा क्रमशः ६० र ५० हजार प्राप्त भयो । युकेबाट कूल ३ लाख ६० हजार आयो ।

पालिकास्तरबाट आइसोलेसन बनाउन सुरु भइसकेको थियो । त्यसका लागि युकेबाट आएको ३ लाख १० हजारमध्ये २ लाख ४४ हजार ५ सय आइसोलेसनका लागि दिए । त्यसबाट विकासले भिँडाबारी प्रहरी चेकपोस्टमा २५ हजारको सोलार र ३ हजार ४ सयको राइस कुकर सहयोग गरे । हङकङबाट पनि ३ लाख ६० हजार नै प्राप्त भयो । पहिला बाँकी रहेको र हङकङबाट आएको रकमले आइतबार भिँडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको उपस्थितिमा विकास गुरुङको संयोजनमा एउटा अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर १५ वटा, एन ९५ मास्क २५ थान, सर्जिकल मास्क ३ सय २० वटा सहयोग गरिएको हो । आइसोलेसन वार्डमा बेडका लागि अस्पताल म्याट्रेस १५ वटा, सिरानी, कम्बल लगायत अत्यावश्यक औषधी पनि सहयोग गरिएको छ । यसैगरी सेनिटाइजर, फेससिल्ड, पन्जा, पिपिइ, थर्मोमिटर, नेबुलाइजर मास्क, अक्सिजन मास्क हस्तान्तरण गरिएको छ ।

आइसोलेसनमा आवश्यक सामग्री र खाद्यान्न पनि दिएको हो । अहिलेसम्म ७ लाख ५ हजारको सामान किनिएको विकासले जानकारी दिए । रकम र वाल एन्ड उडहाउस कम्पनीबाट आएको ३४ हजार स्वास्थ्य सामग्री खरिदमै खर्च गरिने उनको भनाइ छ । सहयोग आउने क्रम अझै जारी छ ।

मर्दीखोला समाज यूके, हङकङका सदस्यहरु आफ्नो जन्मभूमिमा आइसोलेसन बनाउन जुटेपछि बल्ल गाँउपालिका काम सुरु गरेको हो । माटोको माया लागेर जन्मभूमिमा दुख नपरोस् भनेर आफूहरु जुरमुराएपछि गाउँपालिका अघि बढेकोमा खुसी लागेको तमु समाज युके आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङले बताइन् । गुरुङ नेतृत्वमा पहिलो चरणको लकडाउन र बाढी पहिरो पीडित मर्दीखोलाबासीका लािग ४ लाखभन्दा बढी राहत वितरण गरिउको थियो ।

माछापुच्छ«े गाउँपालिकाअन्तर्गत धितालको भिँडाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन निर्माण जारी छ । गाउँका कोरोना संक्रमितको प्राथमिक उपचार कम्तीमा पालिकास्तरमै होस् भन्ने हेतुले आइसोलेसन निर्माण गरिएको गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङले बताए । आइसोलेसनका लागि विभिन्न संघसंस्थाबाट पनि सहयोग आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width