एन्फामा झमेला : खेलाडी चिठ्ठामा बाँडियो, पदाधिकारीको मन बाझियो

धनबहादुर गुरुङ
जेठ २४, २०७८
ANFA Photo

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि छनोट गरेका खेलाडीलाई आइतबार चिठ्ठा थुतेर एकेडेमीलाई बाँडिसकेको छ । शुक्रबार नाम सार्वजनिक ४२ खेलाडीलाई ‘लक्की ड्र’ गरेर एन्फाले समानरुपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको एकेडेमीलाई उपलब्ध गराएको हो । एन्फाले देशभरबाट छनोट गर्दै एकेडेमीका लागि ४२ जना यु–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।

छनोटमध्ये २१ छात्रवृत्तिका लागि छानिएका हुन् । तीमध्ये नेपाल पुलिस क्लब, आर्मी क्लब र एपीएफ क्लबको एकेडेमीमा ७–७ जना रहने छन् । बाँकी २१ जनाले भने शुल्क तिर्नुपर्छ । एन्फाले ४२ बाहेक वैकल्पिकमा ९ खेलाडी पनि राखेको छ । एकेडेमी सञ्चालनका लागि एन्फाले यसअघि नै विभागीय टिमको स्कुलसँग सम्झौता गरिसकेको छ ।

विभागीय टिमले एकेडेमी सञ्चालन गर्ने भएपछि एन्फाले त्यसमा सघाउने भयो । खेलाडी छनोटका लागि एन्फा उपाध्यक्ष कृष्ण थापा संयोजकत्वमा समिति गठन भयो । कोरोनाको दोस्रो भेरियन्ट सुरुअगावै देशभरबाट १ सय ६६ बाट ७१ खेलाडी छनोट भए । लगत्तै कोरोना महामारी सुरु भयो । तैपनि भित्रभित्रै छनोट चलि नै रह्यो ।

७१ बाट ४२ जना अन्तिम चरणमा छनोट गर्नुपूर्वको काममा लकडाउनले केही प्रभाव पार्‍यो । संयोजक कृष्ण थापा अन्तिम ४२ को नामावली छनोट नगरी घरायसी भेटघाटका लागि पोखरा हानिए । त्यही समयमा विभागीय टिमबाट खेलाडी भर्ना गर्नुपर्ने भन्दै अन्तिम नामावलीका लागि एन्फामा ताकेता भयो । आफूहरुका कारण खेलाडीको भविष्य अन्यौलमा नपरोस् भनेर एन्फाले तयारी तीव्र बनायो । लकडाउनकै बीच भर्चुअलमाध्यम ‘जुम मिटिङ’ बसेर ७१ बाट ४२ जनाको नाम सार्वजनिक भयो । जुम बैठकमा विद्युत समस्याका कारण संयोजक सामेल भएनन् । उनको उपस्थितिबिना नै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित सदस्यको उपस्थितिमा नाम सार्वजनिक भयो ।

खेलाडी छनोट समिति संयोजक एन्फा उपाध्यक्ष कृष्ण थापाले आफू उपस्थिति नभएको बैठकले गरेको निर्णयमा आपत्ति जनाएका हुन् ।

यता, संयोजक थापा भने राति मोबाइल खोलेर हेर्दा खेलाडीको अन्तिम नामावली देखेर तीनछक परे । संयोजकलाई थाहा नदिई, सल्लाह नगरी गरिएको निर्णय र आफ्नो हस्ताक्षर नभएको अन्तिम नामावलीप्रति उनले आपत्ति जनाए । एन्फा अध्यक्ष शेर्पाले एकलौटी रूपमा खेलाडी छनोट गरेको थापाको आरोप छ । थापाले सामाजिक सञ्जालबाटै विरोध जनाए । उनले एन्फा अध्यक्षको उपस्थितिमा भएको कार्य अवैधानिक भएकोसम्म भन्न भ्याए ।

खेलाडी छनोटपछि पनि उनी शान्त छैनन् । खेलाडी छनोटमा चिठ्ठा रोजिनुले ‘शक्तिको अगाडि सत्य झुकेको’ उनको भनाइ छ । ‘पावरको अगाडि मेरो कुरा यतिकै सेलायो,’ थापाले भने, ‘सबै पदाधिकारी मिलेर गरेको छ गरोस्, म अझै भन्छु यो सिस्टम अनुसार होइन ।’ कुन आधारमा छनोट गर्‍यो भन्ने अझै उनलाई चित्त बुझेको छैन । ‘एन्फामा बेतिथि चाहीँ पक्का छ । सबै एक पक्षमा लागेर खेलाडी बाँडिसके,’ उनले भने, ‘अब उनीहरुको भविष्यका लागि पनि म बोल्दिनँ, यस्तो मुद्दा मामिलामा जाने कुरा पनि भएन ।’

यसैबीच, संयोजक थापालाई पटक–पटक फोन गर्दा समेत उपस्थित नभएपछि एन्फाको युवा विकास समितिले छनोट प्रक्रिया अगाडि बढाएको एन्फा अध्यक्ष शेर्पाको दाबी छ । उनले थापालाई पठाएको इमेल, जुम मिटिङको लिंक , म्यासेज र फोन कलको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएका छन् । विद्यार्थीको भविष्य मध्यनजर गर्दै प्राविधिक टिमले निर्णय गरेको हुँदा कुनै नियमविपरीत नभएको उनको भनाइ छ । ‘जहाँसम्म सिग्नेचर (हस्ताक्षर) को कुरा छ, जुम मिटिङमा कसरी सिग्नेचर लिने ?’ उनले भने ।

आफूहरुले प्रक्रिया पुर्‍याएर खेलाडी छनोट गरेको एन्फा उपाध्यक्ष एवं युवा विकास समिति संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए । ‘हामीले सबैको परामर्श र मेडिकल रिपोर्ट हेरेर छनोट गरेका हौं,’ उनले भने, ‘अध्यक्षज्यूले कृष्ण दाइलाई पनि खबर गर्नुभएको थियो, उहाँ विद्युत नभएकाले नआनुभएको जानकारीमा आयो ।’ एक्कासि विरोध गर्दा अचम्म लागेको उनको भनाइ छ । विभागीय स्कुलमा भर्ना गर्न ढिलो हुने भएकाले सबैको परामर्शमा खेलाडी छनोट गरिएको सिंहले प्रष्ट पारे ।

चिठ्ठामार्फत छात्रवृत्ति पाउनेमा सैनिक महाविद्यालयतर्फ सुशील बर्मासानी (गोलरक्षक–धनुषा), दीपेश डुम्जन (सर्लाही), किसन थापा (स्याङ्जा), भुवन कामी (मकवानपुर), दीपक बिक (बर्दिया), अफरोज अली (स्याङ्जा) र अनुभव पुरी (सिन्धुली) छन् । यसैगरी, नेपाल पुलिसमा दीप्सन परियार (गोलरक्षक–पर्वत), प्रशान्त मोक्तान (सर्लाही), लक्ष्मण थामी (दोलखा), निश्चल थामी (दोलखा), मिजास श्रेष्ठ (कास्की), भुपेश लामा (धनुषा) र पर्वत मगर (दोलखा) छन् भने एपिएफतर्फ विवश विक (गोलरक्षक–स्याङ्जा), उत्सव थापा (झापा), दतिन राई (इटहरी), दमरा बिक (सर्लाही), तेन्जिङ शेर्पा (काठमाडौं), अनुज श्रेष्ठ (सिन्धुली) र विवेक पासिमा थारु चौधरी (नवलपरासी) छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width