खाना वितरण भन्दै यात्रु बोक्ने समातिए, गोंगबु– पोखरा भाडा ५ हजार

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७८
thagi

पोखरा । कोरोना संक्रमण बढेपछि देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ । निषेधाज्ञामा स्वास्थ्य सामग्रीदेखि अन्य कुरामा ठगी भइरहेको छ । त्यस्तै, राहतको खाना वितरण भन्दै यात्रुसँग महँगो भाडा लिएर ठगी गर्ने गरेकोसमेत भेटिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आइतबार गोंगबुबाट यसरी ठगी गरेको अभियोगमा नुवाकोटका २८ वर्षीय जीवन नेपालीलाई नियन्त्रणमा लिएको छ । उनले पोखरा लैजाने भन्दै ३ जना यात्रुसँग ५ हजार रुपैयाँको दरले भाडा लिएको खुलेको छ । सामान्य समयमा काठमाडौंदेखि पोखराको भाडा माइक्रोबसमा ५ सय रुपैयाँ छ ।

निषेधाज्ञामा अत्यावश्यक सवारी र जिल्ला प्रशासनबाट जारी गरिएको पासको आधारमा चल्न दिएको छ । तर, उनले बा ६ च २९०६ नम्बरको गाडीमा जय महाकाल खाना वितरण अभियान लेखिएको ब्यानर राखेर मानिस बोक्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र भएको निषेधाज्ञामा यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने ५३ जनालाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width