पिएनमा आंशिक प्राध्यापकको आन्दोलन

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७८
Prithvi-Narayan-Campus-1

पोखरा । पोखरा फूलबारीका प्रकाशचन्द्र रेग्मी पृथ्वीनारायण (पिएन) क्याम्पसमा प्राध्यापन गर्न थालेको १४ वर्ष भयो । ४५ वर्षीय रेग्मी पढाउन सुरु गरेदेखि नै आंशिक प्राध्यापकको रुपमा कार्यरत छन् । उनी स्नातक तहमा एकमात्र विषय भौतिक शास्त्र (विज्ञान संकाय) पढाउँछन् । आंशिक प्राध्यापकहरु माग पूरा गर्नुपर्ने भन्दै पटक–पटकको आन्दोलन उत्रिरहन्छन् । उनले पनि धेरै पटक आन्दोलनमा भाग लिए । तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको पालासम्म आफ्ना जायज माग पूरा नहुँदा उनले भन्ने गरेको ‘ज्यालादारी’ मै सीमित छन् । आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाइका वरिष्ठ उपाध्यक्ष समेत रहेका रेग्मी सातामा २० पिरियड जति पढाउँछन् । यतिका समयसम्म पनि माग पूरा हुन नसक्दा दिक्क मान्दै उनी भन्छन्, ‘पृथ्वीनारायण क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपन हो । वर्तमान राजनीतिक नेतृत्वसमेत दोेषी देखिन्छ । अबको आन्दोलन वार कि पार हुन्छ । हामीहरु छोड्नेवाला छैनौं ।’

मुलुक कोरोनाविरुद्ध लडिरहँदा पिएनमा भने आंशिक प्राध्यापकको आन्दोलन चलिरहेको छ । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले प्रभाव पारेसँगै क्याम्पसले यस वर्ष पनि विभिन्न तहमा अनलाइन कक्षा सञ्चालन सुरु गर्नुपर्‍यो । तर आंशिक प्राध्यापकहरु भने माग पूरा नभइञ्जेल अनलाइन कक्षामा सहभागी नहुने भन्दै पठनपाठन रोकेका छन् । करिब १ महिनादेखि उनीहरुको आन्दोलनका कारण १४ हजार विद्यार्थीको नियमित पठनपाठन प्रभावित बन्न पुगेको छ । ‘फुलटाइम’ पढाउने प्राध्यापकले अनलाइनबाटै नियमित कक्षा लिए पनि आंशिक प्राध्यापकले कक्षा बहिस्कार गरेका हुन् । साथै आगामी असार ७ सम्म माग सम्बोधन नभए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

यसको निकासका लागि शुक्रबार भर्चुअल माध्यमबाट सरोकारवालाबीच वार्ता भएको छ । जसमा सहभागी थिए, क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, सहायक क्याम्पस प्रमुख, क्याम्पस वार्ता कमिटी र आन्दोलनरत् आंशिक प्राध्यापक । वार्ता सुरुवातमै आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष सुनिल गौतमले माग सम्बोधन गर्न नसके क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

क्याम्पस प्रमुख प्राडा कोइरालाले आंशिकको समस्या ठूलो भएकोले सम्बोधनका लागि पटक–पटक केन्द्रमा लगे पनि केन्द्रले नसुनेको भन्दै आफूले ‘मार्गप्रशस्त’ गर्ने बताएको वार्तामा सहभागी संघ अध्यक्ष गौतमले जनाए । मार्गप्रशस्तलाई आन्दोलनरत आंशिक प्राध्यापकले राजीनामा बुझेका छन् । तर क्याम्पस प्रमुख प्राडा कोइरालाले आफूले राजीनामा दिने नभनेको प्रष्ट पारे । उनले आदर्श समाजसँग कुराकानीमा भने, ‘उहाँहरुले मार्गप्रशस्त गर्नोस् भन्नुभएको थियो, मैले उहाँहरुको लागि क्याम्पसले २ करोड खर्च गर्न सक्छ । त्रिविले दरबन्दीमा राख्छ भने पनि क्याम्पसले खर्च गर्न तयार छ । नदिए आन्तरिक स्रोतबाट राख्न स्वीकृति दिनोस् भनी हामी आग्रह गर्दछौं भनेको हुँ । उहाँहरुले कुन रुपमा बुझ्नु भो, मैले राजीनामा गर्छु भनेको छैन ।’

पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकको आन्दोलनले १४ हजार विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

वार्ता टोली संयोजक सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले आंशिक प्राध्यापकको माग जायज भएकाले तोकिएको समयसीमाभित्र माग सम्बोधन हुने र यसले अब लामो समय नलिने आश्वासन दिएको आंशिक प्राध्यापक विष्णु गौतमले बताए ।

‘त्रिविका सेवा, शर्त, सुविधा बमोजिम सर्वप्रथम प्रक्रियामा लैजानुपर्छ । समान कामको समान ज्याला हुने गरी १३ महिनाको तलब दिइनुपर्छ,’ आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष सुनिल गौतम भन्छन्, ‘तत्कालका लागि १ सय ४० जनालाई प्रक्रियामा लैजान सकिनेबारे उहाँहरुले बोलेकै कुरा आफैँले कार्यान्वयन गर्न सक्नुहुन्न भने सधैँ होल्ड किन गरिरहने ?’

पोखराकै जेठो तथा ठूलो क्याम्पस पृथ्वीनारायणमा पूर्णकालीन र आंशिक गरी कुल ५ सय ४९ जना प्राध्यापक छन् । तीमध्ये २ सय १८ जना आंशिक छन् ।

आशिंक प्राध्यापककै कक्षाको भरमा क्याम्पसले ‘क्युएए’ उपाधि प्राप्त गरेको दाबी आंशिक प्राध्यापकको छ । माग सम्बोधन नगरी विश्वविद्यालयको भविष्य सिध्याउने, ३ वर्षदेखि पढाएको पारिश्रमिक नदिने, पटकपटक धोखा र भुलभुलैयाबाट समस्या बल्झाउने रणनीति लिएको उनीहरुले आरोपसमेत लगाएका छन् ।

डेढ वर्षअघि पनि यसैगरी आन्दोलन चर्किएपछि त्रिविद्वारा प्राडा ओमप्रसाद बरालको संयोजकतवमा वार्ता समिति गठन गरिएको थियोे । २०७६ माघ २० मा समिति र आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइबीचको सम्झौता अनुसार २०६३ देखि आंशिक रुपमा कार्यरत शिक्षकलाई आंशिक शिक्षकबाट महिनाबारी वेतनमा त्रिवि नियम, सेवा शर्त सहित (शिक्षण सहायक) परिणत गर्न निजहरुको अनुभव र निरन्तरता, कक्षाभार, आवश्यकता र औचित्यता पुष्टी हुने गरी पारदर्शिता, निष्पक्षता र सर्वमान्य सिद्धान्त अनुशरण गरी ३० दिनभित्र कार्यान्वयन गरी मासिक वेतनको सोही प्राध्यापकको सिनेटको बस्ने पहिलो बैठकबाट करारमा लैजाने भनी सम्झौता भएको थियो । सहमति कार्यान्वयन नगरी कोभिडको महामारीबीच अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकामार्फत सिफ्ट मर्ज गरी विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै आतंक फैलाउने कार्य गरेको पनि आंशिक प्राध्यापकको आरोप छ ।

१ पिरियडको लागि क्याम्पस छिर्न मरिहत्ते गर्ने तर पछि करार र स्थायी माग गर्दै आन्दोलन गर्ने प्रवृत्ति देशैभरका आंशिक प्राध्यापकहरुको समस्या सधैं उठ्ने गरेको कतिपयको टिप्पणी छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…

hero news full width