तरकारीसँगै खेर गए किसानका सपना

धनबहादुर गुरुङ
जेठ २३, २०७८
Krishi News (1)

पोखरा । हेमजाकी कल्पना तिमिल्सिनाले तरकारी लगाएर घाटा खाएको लगातार ३ वर्ष भयो । २ वर्ष पहिला असिनाले बाली ठटाएपछि हुनुसम्मको पीडा भयो । अर्को वर्ष कोरोनाका कारण लकडाउन भएपछि तरकारी बेचेरै कमाउँला भन्ने उनको सपनामाथि तुसारापात भयो । यो वर्ष पनि लकडाउन भएपछि बारीमा फुलेका मुलासँगै सपना फुलेर ओइलाउन थालेको छ ।

३ वर्ष अगाडिसम्म आलु, बन्दा, काउली बेचेर खर्च धानेकी तिमिल्सिनाले विदेशमा कमाउन गएका श्रीमान्लाई नेपाल नै डाकिन् । श्रीमान् भीम तिमिल्सिना पनि अरुको देशमा दुख गर्नुभन्दा नेपालमा २ जना भएर कमाउँला भनेर नेपाल फर्किएर तरकारी बाली नै होमिए । आउँदाको वर्ष नै दम्पतीको मेहतन खेर गयो । मेहनत गरेर फल खाने बेला तरकारीले बजार पाउन सकेन । ‘पोहोर पनि सस्तोमा दिइयो, यो वर्ष पनि यही हालत छ,’ उनले भने, ‘विदेशबाट आफ्नै देशमा कमाउँला भनेर आए यहाँ हालत यस्तो छ ।’ कल्पना र भीम मिलेर ९ रोपनीमा मुला, काउली, धनियाँ लगाएका छन् ।

लकडाउनकै कारण बजार नपाउँदा धनियाँ र मुला बारीमा फुलेका छन् भने, बन्दा सस्तोमा बेचेर सक्न लागेका छन् । सस्तोमा भए पनि बेचेर केही रकम संकलन गरेकोमा खुसी छन् । ‘सस्तोमा भए पनि अलिअलि बेचियो, केही भए पनि पैसा कमाइयो’ उनले भने, ‘मुला र धनियाँ त फुलेरै सकियो, बन्दा पनि केही त कुहिएरै गए ।’ जति नै घाटा लागे पनि अर्को वर्ष कमाइएला भनेर दम्पती चित्त बुझाउन बाध्य छन् ।

निषेधाज्ञाकै कारण बजार नपाउँदा मुला र धनियाँ त फुलेरै सकियो, बन्दा पनि केही त कुहिएरै गए

तिमिल्सिना दम्पतीको तरकारी बारी नजिकै एकबहादुर कार्की निकै चिन्तामा देखिन्थे । एकबहादुर बारीमा फुलेका धनियाँ र मुला अनि कुहिएका बन्दा र काउलीमा बेला बेलामा नजर डुलाउँथे । ‘अघिल्लो वर्ष पनि बारीमै तरकारी कुहिएर गयो, यो वर्ष पनि यही हालत,’ उनले भने, ‘कमाएर खाउँला भन्दा उल्टै घाटामा गइयो ।’ गत वर्ष नै मन मारेका कार्कीले यो वर्ष आलु लगाएर राम्रै आम्दानी गरेपछि हौसिएका हुन् । यो वर्ष पनि उनले गत वर्ष जस्तै ७ रोपनीमा बन्दा, काउली, मुला र धनियाँ लगाएका थिए । तरकारी बजार पुर्‍याउने बेला लकडाउन भएपछि दिनानुदिन बारीमा गएर तरकारी हेर्दै फर्किने उनको दैनिकी बनेको छ । उनको बारीमा पनि मुला र धनियाँले फूल खेलेका छन् भने काउली र बन्दा कुहिएका छन् । साढे १ रोपनीमा लगाएको बन्दा, ३ रोपनीमा लगाएको काउली, २ रोपनीमा लगाएको मुला र बाँकीमा क्षेत्रमा लगाएको बन्दा माटोमै मिल्ने भएकोमा उनले चिन्ता व्यक्त गरे । ‘यो वर्ष ५ लाखको घाटा पर्‍यो,’ उनले भने, ‘१ जना कामदारको पैसा, बीउ, मलमा गरेको लगानी छुट्टै छ ।’ कार्कीको ७ जनाको परिवारमध्ये ३ जना खेती किसानीमै तल्लीन रहन्छन् । १ छोरा र २ छोरीको पढाइ खर्च उनले तरकारी बचेरै धानेका थिए । नेपाल पुलिसबाट रिटायर्ड भएपछि ५८ सालदेखि उनी कृषिमा होमिएका हुन् । उनलाई पेन्सनभन्दा पनि तरकारी बालीबाट भएको कमाइले आनन्दित बनाउँथ्यो । ‘यतिका वर्ष काम गरियो पेन्सन भन्दा यहीँको कमाइले खुसी मानेको थिए,’ उनले भने, ‘यो २ वर्षजस्तो त कहिल्यै पनि भएको थिएन, अब पनि नआओस् ।’ उनले किसानको मर्म सरकारले बुझ्नुपर्ने बताउँछन् । ‘हामीलाई यत्रो नोक्सान भयो, सरकार खै कता छ,’ उनले भने, ‘केही भए पनि राहत दिए चित्त बुझ्ने थियो ।’

यता पोखरा महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरिया उपभोगमा आएको कमीका कारण किसानका उत्पादन बिक्री नभएको बताउँछन् ।‘मानिस बाहिर खरिद गर्न ननिस्कनी, जे जति छ आफ्नै घरमा उत्पादन गर्ने भन्ने पनि भयो,’ उनले भने, ‘छिटपुट नै हो त्यस्तो धेरै, ठूलै मासमा त त्यसरी त आएको छैन ।’ यो परिस्थितिकै उपज भएको उनको भनाइ छ । समग्र उपभोग नै कम भएको अवस्थामा भोलिका आकलनलाई आधार मानेर उत्पादन गर्नुपर्ने उनको सुझाव छ । कृषि सेवा केन्द्र, कृषि कार्यालयमा क्षतिका बारेमा जानकारी गराएमा आगामी दिनको कार्यक्रममा प्राथमिकतामा राख्न सकिने उनले जानकारी दिए । सम्बन्धित क्षेत्रमा जानकारी गराएमा राज्यले दिने सहयोगमा प्राथमितामा पर्न सकिने कडरियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width