संक्रमणममुक्त साईको अनुभव : कोरोनाको दबाइ त आत्मविश्वास रहेछ

सुनील सापकोटा
जेठ २१, २०७८
Sai

पोखरा । यातायात व्यवसायी एनकुमार साई कोभिड केही पनि होइन भन्ने ठान्थे । उनमा कोरोना सजिलै जित्न सकिन्छ भन्ने धारणा थियो । उनी दोस्रो चरणमा संक्रमित भए । ३२ दिनपछि संक्रमणमुक्त पनि । त्यतिबेला उनले युद्ध जितेको महसुस गरे ।

साईकी श्रीमती लक्ष्मीलाई ११ वैशाखदेखि ज्वरो आयो । उनले फेवा सिटी हस्पिटलमा जँचाए । डाक्टरले भने, ‘पिसिआर जाँच गरौं ।’ लाइफ केयर डायग्नोस्टिक प्रालिमा पिसिआर जाँच गर्दा साई दम्पतीमा संक्रमण पुष्टि भयो । पिसिआर लेभल एनकुमारको २८ र उनकी श्रीमती लक्ष्मीमा १६ देखियो । कोरोना संक्रमणभन्दा पनि समस्या त आत्मबल नहुनुमा रहेछ भन्ने उनको निष्कर्ष छ ।

मुटु, ब्लड प्रेसर, कोलेस्ट्रोल, सुगरका बिरामी साईले ३२ दिनपछि कोरोना जित्न सफल भए । उनी भन्छन्, ‘सोचाइमै बिरामी बढी हुँदो रहेछ, म कोरोना केही होइन भन्थेंं १६ वैशाखमा लाइफकेयरमा स्वाब दिएँ, रिपोर्ट पोजेटिभ आएको सुनेपछि गाह्रो फिल भइसकेको थियो ।’

पहिलो चरणमा संक्रमितको सम्पर्कमा रहेका कारण उनी १४ दिन क्वारेन्टिन बसे । त्यतिबेला उनले पिसिआर जाँच गरेनन् । स्वास्थ्यमा केही जटिलता थिए, जटिलता नै भए पनि आत्तिएका थिएनन् ।

उनले थपे, ‘कोरोनाको औषधी त सिटामोल र भिटामिन दिँदा रहेछन्, कोरोनाको दबाइ त आफ्नै आत्मविश्वास, साथीभाइ, आफन्तको सहानुभूति र माया नै रहेछ ।’ साथीभाइबाट राम्रै व्यवहार पाए पनि आफन्त इष्टमित्रबाट घृणा पाएको, आफन्तले फोनसम्म नगरेको उनको भोगाइ छ । उनले कोरोनाका बिरामीलाई आत्मविश्वास बढ्ने सहानुभूति र प्रोत्साहन दिन आग्रह गरेका छन् ।

कोरोनाको औषधी त सिटामोल र भिटामिन दिँदा रहेछन्, दबाइ त आफ्नै आत्मविश्वास, साथीभाइ, आफन्तको सहानुभूति र माया रहेछ

चरक मेमोरियलमा जाँदा पहिलो पटक बेड पाएनन् । दोस्रो पटक २१ वैशाखमा ५ दिन भर्ना गरी श्रीमतीको उपचार गरिएको उनी सम्झछन् । उनले भने,‘ रिकभरि त श्रीमतीकै छिटो भयो, गाह्रो पनि उनैलाई भयो ।’ लक्ष्मीमा तल्लो पेट दुख्ने, खाना रुचि कम हुने र बान्ता हुने समस्या थिए । पहिलोपटक पिसिआर रिपोर्ट आउने बेलासम्म त ज्वरो आएर कम भइसकेको थियो ।

लक्षण छैन क्यारे भन्नु पनि छैन । फरक लक्षण पनि देखिए । स्वास्थ्यमा केही गडबड भयो कि कोरोना शंका गर्नुपर्ने उनले सुझाए । उनकी श्रीमतीमा देखिएको तल्लो पेट दुख्ने केस पहिलो भएको डा.बद्री पौडेलको भनाइ उनले स्मरण गरे ।
उनलाई कसरी संक्रमण भयो भन्ने यकीन छैन, तर श्रीमती नगर बसमा यात्रा गर्दा संक्रमण भएको अनुमान छ । पिसिआर लेभल २० मुनि भए खतरा हुने र श्रीमतीको १६ रहेकाले संक्रमणको जोखिम उच्च हुने डाक्टरको भनाइ थियो । उनले दोस्रो पटक पिसिआर गर्दा श्रीमतीमा पिसिआर लेभल १६ बाट २९ पुगेको तर आफूमा रिकभरि हुनमा अन्य रोगका नियमित औषधी खाइरहेकाले गाह्रो भएको उनको बुझाइ छ ।

एक कल फोन आउँदा पनि धेरै आराम मिलेजस्तो हुन्थ्यो उनलाई । साथीहरुले आयुर्वेदिक औषधी पठाइदिए । घरायसी औषधीका साथै पौष्टिक खानामा जोड दिए । लाँकुरी पात पहिलो दिन ३ वटा, दोस्रो दिन २ वटा र तेस्रो दिन १ वटा खाए रिकभरिमा सघाउने आयुर्वेदका जानकारका साथीको भनाइ रहेको र सोही अनुसार गरेको उनले सम्झे ।

दोस्रो पटक १ जेठको रिपोर्ट पनि पोजेटिभ आयो । १६ जेठमा फेरि पिसिआर जाँच गराउँदा बल्ल रिपोर्ट नेगेटिभ आयो । उनले भने, ‘मलाई ४/५ दिनमा कम भयो, बूढीलाई १२/१३ दिन लाग्यो कम हुन ।

कोभिड पुष्टि हुने बेला ज्वरो भने कम भइसकेको थियो ।’ १७ दिनमा पोजेटिभ आए पनि सुरक्षित हुने डाक्टरले बताएका थिए । तर उनी रिपोर्ट नेगेटिभ नआई ढुक्क हुन सकेनन् । किनभने साईका साथीहरुको ३५ दिनभित्र ३ पटक पिसिआर गर्दा पोजेटिभ आएको थियो । उनी भन्छन्, ‘म धेरै साथीहरुको सम्पर्कमा थिएँ, मैले ल है विचार पु¥याउनुस् पनि भनेँ तर कोही पनि संक्रमित भएको जानकारी छैन ।’

खानपानमा ख्याल गर्ने, आफूले आफैंलाई कन्ट्रोल गर्ने, मनोबल बढाउने प्रयास गर्नुपर्छ । गाह्रो अवश्य नै हुन्छ, आत्मबल नै सबैभन्दा ठूलो उपचार भएको अनुभव उनको छ ।

माइली छोरीले खानपानको व्यवस्था मिलाइन्, हस्पिटलमा कुरुवा पनि उनै हुन् । तर उनले स्वास्थ्य सावधानी अपनाएकाले संक्रमण हुन पाएन । स्वास्थ्य मापदण्ड पालना गर्दा संक्रमणबाट जोगिन सकिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width