११२० रुपैयाँमा ग्यास, ६३ रुपैयाँमा चिनी पाइने भनेर ढुक्क नहुनुस्, ग्यास कठमाडाै‌मा मात्र, अरु छुट पनि सिमित

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
khadya samagri

पोखरा । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा निषेधाज्ञाको अवधिभर साल्ट ट्रेडिङबाट बिक्री हुने खाद्य सामाग्री र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गर्‍याे । छुट लागु नभएको भन्दै विराेध पनि भयो । विरोध भइरहँदा ल छुट लागु भयो भनेर समाचार पनि आए । तर के नेपालभरका उपभाेक्ताले त्याे छुट उपभोग गर्न पाउने हुन् त ?

होइन, आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको घोषणाअनुसार काठमाडौं उपत्यकाका ३ ठाउँबाट २० प्रतिशत छुटमा खाद्य तथा उपभोग्य सामग्रीहरुको बिक्री हुने भएको छ। उपत्यका बाहिर जिल्लाहरुमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड  को बिक्री कक्षमा पनि छुट सुविधा पाइने छ । ग्यासका हकमा एसटिसी ब्रान्डका सिलिन्डर लिएर गए साल्ट ट्रेडिङका डिपोबाट मात्र पाइने छ । त्यो पनि काठमाडाैंमा मात्र ।

काठमाडौंको थापाथलीस्थित खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड)  को बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायममा रहेको बिक्री कक्षबाट २० प्रतिशत छुटमा पाइने सामान किन्न पाइने भएको छ।

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका अधिकारीबीच भएको बैठकमा सरकारले बजेटमार्फत् घोषणा गरेअनुसार निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा बिक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको हो।

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खाने तेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

बैठकमा छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाइ मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ।

यस्तै, साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ सिलिण्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ ।

सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजात सहितको विवरण तयार पार्ने, दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छुटसम्बन्धी विवरण मासिक रुपमा तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सोध भर्ना माग गर्ने निर्णय पनि भएको छ ।

छुटपछि सामनाको मूल्य

चिनी प्रतिकेजी       ६३।२० रुपैयाँ  (२ केजी मात्र किन्न पाइने)

पिठो प्रतिकेजी      ४४ रुपैयाँ (२ केजी मात्र किन्न पाइने)

नुन प्रतिकेजी        १६ रुपैयाँ (२ केजी मात्रै किन्न पाइने)

भटमासको तेल प्रतिलिटर     १८८ रुपैयाँ (१ लिटर मात्रै किन्न पाइने)

खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार १ सय २० रुपैयाँ ( एसटिसीकै सिलिण्डर चाहिने, काठमाडाैंमा मात्र)

Related News

सम्बन्धित समाचार

hero news full width