लुम्बिनी प्रदेश सभा : सांसदबीच चर्काचर्की, विपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा

विक्रम खड्का
जेठ २०, २०७८
lumbini psrdesh savava

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारलाई बहुमत पुष्टि गर्न चुनौती दिएका छन् । ठिक १ महिनाअघि संविधानको धारा १६८ (१) अनुसार एकल दलको बहुमतमा रहेको दाबी सहित मुख्यमन्त्रीमा पुनः सपथ लिएका पोख्रेललाई संसद बैठकमा विपक्षीले गम्भीर नैतिक संकटमा पारेका छन् ।

उनको दलका थप २ जना सांसदले समेत राजीनामा दिइसकेको र १ जना नेकपाबाट निर्वाचित सांसदले माओवादी केन्द्र रोजेपछि पोख्रेल नेतृत्वको सरकार अल्पमतमा परेको हो । त्यसको पुष्टि केही दिनअघि राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणामले पनि देखाएको छ । त्यसैलाई आधार मानेर विपक्षी सासदहरुले बुधबारको बैठकमा बहुमत सिद्ध गर्न चुनौती पेस गरेका हुन् ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्ने विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेलको राजीनामा पनि माग गरेका छन् । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको छ । अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ प्रमुख सचेतक खानले भने , ‘आज ३० दिन पुग्यो कि त मुख्यमन्त्रीले विश्वासको मत लिनुप¥यो, अन्यथा राजीनामा दिनुपर्छ ।’

कांग्रेसकै अर्का सांसद शंकर गिरीले मुख्यमन्त्रीले संसदको अपमान गरेको भन्दै सहमति, सहकार्य र एकताका लागि राजीनाको माग गरे । उनले भने, ‘तपाईं पनि शंकर म पनि शंकर हो । मलाई पनि लाज हुन्छ, मुख्यमन्त्रीज्यू । छलछाम नगर्नुस् ।’ सांसद गिरीले मुख्यमन्त्री पोखरेल कुन संविधानको धाराअनुसारको सरकारमा बसेको भनी प्रश्न गरे ।

ठिक १ महिनाअघि एकल दलको बहुमतमा नेकपा एमालेका शंकर पोख्रेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले अल्पमतमा परेपछि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलले सपथ लिएको आरोप लगाए । उनले मुख्यमन्त्री पोखरेलले मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताका रुपमा आफूले चिनेको बताए ।

अर्का सांसद सांसद वीरबहादुर रानाले अविश्वासको प्रस्तावमाथि बहस नगरेर संसद छलेर मुख्यमन्त्री नियुक्ति गरेकोमा आपत्ति जनाए ।

राष्ट्रिय जनमोर्चाकी तारा जिसीले प्रदेशसभा बैठक चल्दाचल्दै बीचमै घाँटी निमोठिन सक्ने बताइन् । गणतन्त्र, संविधान र राष्ट्रियताका सवालमा ओली सरकार मतियार बनेको उनको आरोप छ । सांसद इन्द्रजित थारुले ठूलो दल हो भन्दैमा संविधान मिच्न नपाउने बताए । उनले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको सिको गर्दै अल्पमतमा हुँदा पनि सरकारमा बसेर संविधान मिचेको भन्दै आलोचना गरे ।

प्रदेश सभा सचिवालयबाट भेदभाव : गिरी

सत्तासीन एमालेका सांसद तथा पूर्वमन्त्री लीला गिरीले सरकारसँग स्पष्ट बहुमत रहेको बताए । मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसारको सरकार बनाउनु बाधात्मक अवस्था रहेको उनको भनाइ छ । उनले विपक्षी दलले अस्वस्थ काम गरेको आरोप समेत लगाए । छापामार शैलीमा प्रहरी प्रशासनमा प्रभाव पारेर सपथ रोक्न खोज्ने दृश्य ठिक थियो त ? भन्दै उनले विपक्षी सांसदलाई प्रश्न गरे । उनले भने, ‘प्रदेशसभाबाट भेदभावपूर्ण व्यवहारसहित खेल खेल्दा राम्रो भएन ।’ उनले नैतिकताका कुरा गर्नेहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाट हटाउन खोज्दा समस्या आएको बताए । प्रदेशसभा बैठकमा भने मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिएनन् ।

बैठकको सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको आठौं अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रमाणीकरण भएको विधेयक सम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए । साथै प्रदेशसभा सदस्यबाट दृगनारायण पाण्डेय र अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएकाले पद रिक्त भएको व्यहोरा पनि सभामुखले जानकारी गराए । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width