महिना दिनमै दोब्बर संक्रमितको मुत्यु

सविन लामिछाने
जेठ १९, २०७८
Corona Death

फाइल फोटो ।

दमौली । तनहुँमा कोरोना संक्रमणबाट हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् । वैशाख मसान्तसम्म यसको संख्या मात्र ३५ थियो । दोस्रो लहरको कोरोना भेरियन्टका कारण १ महिनामै दोब्बर बढी संख्यामा संक्रमितको ज्यान गएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार २०७७ वैशाख दोस्रो साता पहिलो पटक संक्रमित फेला परेको तनहँुमा जेठ दोस्रो साताबाट मृत्युको सिलसिला सुरु भएको हो ।

२०७७ वैशाख १४ देखि चैत्र मसान्तसम्म तनहँुमा १ हजार ५ सय ३ जना संक्रमित भए । तीमध्ये १ हजार ४ सय ६९ निको भइ घर फर्केका छन् भने २९ ले ज्यान गुमाए । यस वर्षको जेठमा मात्र १ हजार २ सय ५६ संक्रमित थपिएकोमा ४३ जनाको मुत्यु भयो । यसरी १ वर्ष अवधिमा भएको मृत्यु संख्याभन्दा जेठमा त्यसको दोब्बर छ । यो बढ्दो ग्राफले जिल्ला निकै जोखिममा परेको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले बताए । उनका अनुसार वैशाखमा ४ सय ४८ नयाँ संक्रमित थपिए । तीमध्ये ८५ डिस्चार्ज भए । वैशाखमा मात्र संक्रमण ६ जनाले ज्यान गुमाए ।

गत वर्ष २९ संक्रमितले ज्यान गुमाएकोमा यसपालि जेठमै दोब्बर अर्थात ४३ को मृत्यु भइसकेको छ ।

पहिलो लहरको कोरोना महामारीमा समयमै संक्रमितको सम्पर्कमा आएकाको सोधीखोजी गरिएको थियो । धेरै संक्रमित देखिए टोल नै सिल गरिन्थ्यो । तर अहिले सावधानीका सवालमा दोस्रो चरणमा केही ढिलाइ भएको पाइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, तनहँुलाई जिल्लाका सरोकारवालाले तत्काल लकडाउन गर्न पटक–पटक सुझाव दिएका थिए ।

सरकारले पहाडी क्षेत्रमा २ सय सक्रिय सक्रंमित पुगे निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई अधिकार दिएको थियो । छिमेकी जिल्ला कास्की र चितवन कोरोनाको हटस्पट बन्दै जाँदा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भने २ सय सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा लगाउने सोचमा थियो । वैशाख २२ मा तनहँुको बजार क्षेत्र निषेधाज्ञा लगाइयो । तर यतिबेलासम्म ढिला भइसकेको स्वास्थ्यकर्मी बताउँछन् । अहिले बल्ल जिल्लाभर निषेधाज्ञा छ । दोस्रो लहर सुरु भइसक्दा मानिसको आवतजावत रोक्न, भारतबाट आएकालाई जाँच गरेरमात्रै घर पठाउने काममा ढिलाइ र पहिलो चरणजस्तो सम्झिएर कोरोनालाई सामान्य रुपमा लिइँदा वैशाखमा कोरोनाको आगो दन्किन पुगेको विश्लेषक बताउँछन् ।

पहिला आइसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापनमा जुटेका स्थानीय तह यो वर्ष सबैभन्दा बढी अक्सिजन खोजीमा लागिपरे । अक्सिजन समस्या जिल्लामा अझै छ । कोरोना संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमै छन् । होम आइसोलेसनमा रहेकाहरुले चिकित्सकसँग परामर्श लिन र अलिकति अप्ठेरो परे अस्पताल आउने चिकित्सकले सुझाव दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width