कोभिड संक्रमण: निमुखालाई सरकारी अस्पतालकै भर

धनबहादुर गुरुङ
जेठ १९, २०७८
Gandaki Hospital 1

पोखरा । रोल्पाका जोगबहादुर बुढामगरले काम नपाएको २ महिनाभन्दा बढी भयो । जब कोरोनाको दोस्रो भेरियन्ट सुरु भयो, तब सरकारले निषेधाज्ञा गरेपछि उनको रोजीरोटी खोसियो । ज्यालामा गएका उनले दैनिक १ हजार लिएर आउँथे । त्यहीबाट बिहानबेलुकीको छाक टार्नेदेखि आफ्नो र श्रीमतीको खर्च धान्ने गर्थे । कोरोनाले हुँदाखाँदाको घर बनाउने काम पनि नियमित हुन छाड्यो ।

घरमा श्रीमती दुई जिउकी भएका कारण निषेधाज्ञा भएपछि श्रीमतीकै हेरचाहमा दिन बिताए । वैशाख २३ गते उनी बाबु पनि भए । उनले श्रीमतीको डेलिभरी नजिकै भएका कारण मनिपाल शिक्षण अस्पतालमा गराएका थिए । डेलिभरी भएको २ दिनमा आमा र बच्चाको स्वास्थ्य सामान्य भएपछि पोखरा ११ फूलबारी आफ्नै कोठामा गए । छोराको न्वारान गरेको अर्कोदिन उनको छोरालाई जन्डिसलगायत अरु पनि समस्या देखिएका कारण फेरि मनिपाल भर्ना गरे । त्यो बेला ३ दिन राखेर फेरि घर पु¥याए । त्यो समयसम्म मजदुरी गरेर जोरजाम गरेको पैसा सकिइसकेको थियो । गत बुधबार छोरालाई स्याँ, स्याँ हुने, हल्का ज्वरो आउने, लगायत निमोनियाको समस्या देखियो । उत्ति बेलै उनले फेरि कोठा नजिकैको मनिपाल नै भर्ना गरे ।

गण्डकी अस्पतालमा अहिले एनआइसियुमा ३ बेड र एनसियु आइसोलेसनमा ३ वटा बेड कोभिड लागेका बालबालिकाका लागि छुट्याइएको छ

मनिपालका चिकित्सकले कोभिड परीक्षण गर्न सुझाए । बच्चाको पिसिआर जाँचका लागि स्वाब संकलन गरियो । बिहीबार उनको छोराको पिसिआर रिपोर्ट पोजेटिभ आयो । उनको होस हवास उड्यो । अब के गर्ने भन्ने उनलाई पिरलो थपियो । चिकित्सकले उनको छोरालाई कोभिड वार्डमा सार्नुपर्ने बताए । उनलाई त्यतिमात्र भनिएन्, ९० हजार डिपोजिट गर्न पनि भनियो । डिपोजिटको रकम सुनेपछि उनी थरथरी काँप्न थाले । सुत्केरी स्याहार त्यसपछि जन्डिस देखिएपछि अस्पताल भर्ना गर्दा नै उनले जोहो गरेको पैसा सकिइसकेको थियो । मनिपालमै उपचार गर्ने भए ९० हजार डिपोजिट गर्नका साथै दैनिक २२ देखि २६ हजार खर्च लाग्ने चिकित्सकले आफूलाई भनेको उनको भनाइ छ । ‘यहीँ उपचार गर्ने भए डिपोजिट गर्नुस् भन्नुभयो,’ उनले भने, ‘त्योबाहेक पनि औषधी र खानाको छुट्टै तिर्नुपर्छ पनि भन्नुभयो ।’ त्यतिका पैसा खोज्नभन्दा त कोठामै लैजान्छु भन्ने उनले सोचिसकेका थिए । त्यही बेला उनले गण्डकी अस्पतालमा के छ भनेर सोध्दाको त्यहाँका चिकित्सकले फोन गरेर हो कि नगरी बेड छैन भन्ने जवाफ दिएको उनी सुनाउँछन् ।

छटपटीमै उनले आफ्नो ठेकदारलाई फोन गरे । ठेकदारले गण्डकी अस्पतालमा बेड खाली भएको सुनाएपछि उनले गण्डकीमा लैजाने निधो गरे । गण्डकीमा जाँदा कोभिड भएर मनिपालबाट पठाएको नभन्ने मनिपालका चिकित्सकले भनेको उनले बताए । ‘ठेकदारले त्यसो भनेपछि म गण्डकी आउन तयार भएँ,’ उनले भने, ‘त्यो बेला उहाँहरुले तल जानुस् तर बच्चालाई पोजेटिभ भएको छ भनेर नभन्नु भनेर भन्यो ।’ उनले बिहीबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनले छोरालाई भर्ना गरे । बिहीबारदेखि अहिलेसम्म उनले १ पैसा पनि तिर्न नपरेको उनले बताए । आफ्नो छोरोका स्वास्थ्यमा दिनानुदिन सुधार हुँदै गएको उनको भनाइ थियो ।

पछिल्लो समय पोखराका केही निजी अस्पतालले पैसा तिर्न नसक्ने कोभिडका बिरामीहरुलाई उपचार नगरेको १ चिकित्सकले बताए । ‘मनिपालजस्तो अस्पतालले गरिबहरुको भावना बुझ्दैन भने कोराना लागेका बिरामी मर्नुभन्दा अरु उपाय भएन,’ उनले भने, ‘उहाँहरुले पैसाकै कारण उपचार नगर्दा हाम्रोमा आउँदा धेरै क्रिटिकल अवस्था भइसकेको हुन्छ, अनि यहाँ एक्स्पाएर हुन्छ ।’ आइतबार पनि सोही केसका बच्चा मनिपालबाट आएको उनले बताए । रातभरि उपचारमा संलग्न भए पनि सोमबार बिहान ३ बजेतिर ती बच्चाको मृत्यु भएको उनको भनाइ छ । ‘ती बच्चाको अभिभावकले देखाएको कागजपत्र हे¥यौं, अस्पतालले भने अनुसार पैसा तिर्न नसकेकै कारण उनीहरु डिस्चार्ज भएको देखियो,’ उनले भने, ‘हामीले रातभरि उनको उपचार ग¥यौं, तर बिहान ३ बजेतिर एक्स्पाएर भयो ।’ मनिपाललाई सरकारले कोभिड डेडिकेटड अस्पताल बनाए पनि गरिब जनताहरु अझै त्यहाँ गएर उपचार गराउन सक्ने अवस्थामा नएको उनी बताउँछन् ।

यता, गण्डकी अस्पतालका बाल रोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले कोभिड पोजेटिभ देखिएका बच्चाहरुका लागि अस्पतालमा निशुल्क उपचार हुने बताउँछन् । अहिले पनि एनआइसियुमा ३ बेड र एनसियू आइसोलेसनमा ३ वटा बेड कोभिडका बच्चाहरुका लागि छुट्याएको उनले बताए । ‘हामीसँग अहिले एनआइसियु र एनसियु आइसोलेसनमा १÷१ बच्चाको उपचार भइरहेको छ,’ उनले भने, ‘कोभिडका बच्चाका २० बेड तयार गरेका छौं, आवश्यकता परे अझै बढाउँछौं ।’ यसको व्यवस्थापनका लागि नवनियुक्त डिन डा. श्रीकृष्ण श्रेष्ठ र निर्देशक प्राडा भरतबहादुर खत्रीको राम्रो साथ र सहयोग रहेको डा. बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width