गण्डकीमा कोरोना जित्ने बढे, थप १६ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
Corona Banner

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना निको हुनेहरु दिनानुदिन बढेका छन् । प्रदेशमा मंगलबार ६ सय ८८ जनाले कारोना जितेका हुन् । तुलनात्मक रुपमा सोमबारभन्दा केही कम निको भएका हुन् । तर सक्रमितभन्दा कोरोना जित्नेको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।

सोमबार ९ सय ५९ जना कोरोनामुक्त भएका थिए भने ८ सय ४२ संक्रमित भएका हुन् । आइतबार ५ सय ४० संक्रमित हुँदा ८ सय ५९ जनाले कोरोना जितेका थिए । शनिबार पनि संक्रमितभन्दा कोरोना जित्नेकै संख्या बढी थियो । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ३१ हजार ८७९ पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ छ । गण्डकी प्रदेशमा मंगलबार ४ सय ७३ जना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितमध्ये कास्कीका २ सय १, म्याग्दीका १२, स्याङ्जाका ३५, बागलुङका ३०, पर्वतका ६२, तनहुँका २१, गोरखाका ८, लमजुङका ४१, नवलपुरका ६३ जना गरी प्रदेशका ९ जिल्लामा २ सय ४२ पुरुष तथा २ सय ३१ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ९ सय ९७ पुगेको छ ।

नेपालभर थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पिसिआर परीक्षणमा ५ हजार २ सय ८५ जना र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जना गरी ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३० दशमलव १७ प्रतिशत देखिएको छ । नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ छ ।

गण्डकी प्रदेशमा ३१ हजार ८७९ कोरोनामुक्त हुँदा देशभरबाट ४ लाख ५४ हजार ३४४ जनाले कोरोना जिते

गण्डकीमा थप १६ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मृतकहरु नवलपुरका ४ र कास्की र स्याङ्जाका ३/३ र तनहुँका २ जना रहेका छन् । यस्तै बाग्लुङ, म्याग्दी, पर्वत र रुपन्देहीका १÷१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नवलपुरको कावासोती नगरपालिका २ का ३८ वर्षीय पुरूषको सोमबार चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरको गैंडाकोट नगरपालिका– १२ की ६८ वर्षीया कोरोना संक्रमित महिलाको चितवनमा उपचारको क्रममा आइतबार निधन भएको हो । नवलपुरकै विनयत्रिवेणी गाउँपालिका २ का ८० वर्षीया कोरोना संक्रमित पुरूषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा सोमबार ज्यान गएको हो । नवलपुरको विनयत्रिवेणी गाउँपालिका कै ६ नम्बर वडाका ७३ वर्षीय पुरूषको उपचारको लागि अस्पताल लैजाने क्रममा आइतबार मृत्यु भएको हो ।

यसैगरि कास्कीको पोखरा महानगरपालिका १३ का ४८ वर्षीय पुरूषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ५ की ७२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा सोमबार नै निधन भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ६३ वर्षीय पुरूषको होम आइसोलेसनमा ज्यान गएको हो ।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका ५ का ८६ वर्षीय पुरूषको आर्मी अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङजाको गल्याङ नगरपालिका ८ का ५२ वर्षीय पुरूषका लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारको क्रममा निधन भएको हो । स्याङजा कै कालिगण्डकी गाउँपालिका ७ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ७ की ७५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मंगलबार निधन भएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ७ का ८२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मंगलबार नै मृत्यु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका ४ का ७० वर्षीय पुरूषको धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बाग्लुङको बाग्लुङ नगरपालिका ४ की ४२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका २ का ८२ वर्षीय पुरूषको सोमबार होम आइसोलेसनमा मृत्यु भएको हो । रूपान्देहीको तिलोत्तमा नगरपालिका १७ का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ । नेपालमा मंगलबार ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width