पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा   

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८

गलकोट । बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ ।

दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन मुनि गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । लगातारको चार दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकीमुनीको सडकसमेत बन्द गरेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवासमेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको र सडकसमेतको विकल्प खोज्नुपर्ने अवस्था छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले त झन पहिरो बढेर सडकसमेत पुरेको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भन्नुभयो, “भवन निर्माण गर्दा उपयुक्त जग्गा छनोट नभएका कारण र अव्यवस्थित सडकका कारण स्वास्थ्यचौकी पहिरोको जोखिममा परेको छ ।”

तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराएपछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । नगरप्रमुख पौडेलले ततलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्यचौकीको पहिरो रोकथाम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तत्कालै समस्याको समाधानतर्फ नलाग्ने हो भने स्वास्थ्य चौकी विस्थापित हुने खतरा भएको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीको अग्रभागको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्नु पूर्वसावधानी नअपनाउँदा भएको स्थानीयको भनाइ छ । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपयुक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घरसमेत उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।    रासस

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग