कोरोना रिपोर्टका लागि रकम उठाउने सरकारी कर्मचारी निलम्बित

रासस
जेठ १८, २०७८
GP Koirala

दमौली । पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ ।

सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।

उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ । सत्र जनासँग पिसिआर रिपोर्टका लागि भन्दै उठाइएको रु तीन हजार गत बुधबार फिर्ता गरिएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width