पोखरा पर्यटन परिषदद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
ptc (1)

पोखरा । नेपालमा कोरोना संक्रमण बढिरहँदा पोखराका पर्यटन सम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । आइतबार पोखराको माउन्ट कैलाश रिसोर्टमा आयोजित कार्यक्रममा परिषद्ले झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नरेशबहादुर भट्टराई, नमस्ते फाउन्डेसनका अध्यक्ष भीष्मराज पौडेल लगायतले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान, मातृशिशु मितेरी अस्पताल बाटुलेचौर र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कोरोनाको महामारीमा अत्यावश्यक सामग्री अक्सिजन कन्सन्ट्रेटेर मेसिन ६ थानसहित अक्सिजन मेसिन ४ थान, पिपिइ सेट ५ सय थान, पञ्जा १ हजार पिस, मास्क १० हजार पिस लगायतका स्वास्थ्य सामग्री हस्तान्तण गरिएको हो ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्री, मातृशिशु मितेरी अस्पताल बाटुलेचौरका डा.पुष्कर पौडेल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका डा.विकास गौचतले उक्त सामग्री बुझे । सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले मुलुकमा स्वास्थ्य संकटकाल नलगाइए पनि वर्तमान अवस्था संकटकालनै भएको बताए । यस्तो अवस्थामा सरकारको नकारात्मक टिप्पणी गर्नुभन्दा पनि सहकार्य गर्दै मनोबल बढाइदिन उनले आग्रह गरेका छन् । पोखराका मेयर जिसीले अहिलेको अवस्थामा थोरै सहयोगले पनि धेरैको ज्यान जोगाउन सकिने जनाउँदै सबैले आआफ्नों ठाउँबाट सहयोग गरिदिन अनुरोध गरे ।

यसअघि पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेर मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पोखरा ल्याएको थियो ।

नमस्ते कम्युनिटी फाउन्डेसन नेपाल, अमेरिकास्थित नेप्लिज एसोसिएसन अफ जर्जिया र नेपाली कल्चर सेन्टर, जर्जियाका जनसम्पर्क समितिका प्रतिनिधि दीपक पहारी, लेकसाइडको होटल माउन्ट कैलाश रिसोर्ट, प्याराडिसो स्पोर्टस एन्ड बार, होटल लेक सोर, टेम्पल ट्रि रिसोर्ट एन्ड स्पा, इजि एक्पर्ट एन्ड इम्पोर्ट सर्भिस लगायतले उक्त सामग्री खरिदमा सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधि, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।

पोखरा परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाको असर पर्यटन क्षेत्रले भोग्नुपरेको भए पनि यस्तो अवस्थामा समेत कोरोना विरुद्धको लडाइँमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले अझै पनि केही स्वास्थ्य सामग्री आउन बाँकी रहेको जनाउँदै महत्वका साथ सहयोग गर्दै जाने बताए । परिषद्का महासचिव रामचन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width