स्याङ्जा, तनहुँ र बागलुङमा थपियो निषेधाज्ञा

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
syangja cdo office

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमित र मृत्युदर बढेपछि तेस्रो पटक थप गर्दे निषेधाज्ञालाई १० दिन लम्ब्याएको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र सहित जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई कडाइका साथ लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

थप निषेधाज्ञा अवधिलाई कडाइका साथ लागु गरिने भएको छ । अत्यावश्यक सेवावाहेकका अन्य खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने, अत्यावश्यक बाहेक घरबाट निस्कन पाइने छैन ।

तर, औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैन ।

सामाजिक कार्यमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन । सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ सेवा समेत पूर्ण रुपमा बन्द गर्ने तर, एटिएम सेवा भने सुचारु राख्ने गरी निर्णय भएको छ। निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १५ दिने निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । यसअघि जारी निशेधाज्ञा शनिबार सकिनुपूर्व नै बसेको बैठकले पुन १० दिन निषेधाज्ञा थप गरेको हो ।

तनहुँमा २२ जेठसम्म निषेधाज्ञा

दमौली संवाददाताका अनुसार तनहुँमा १ साता निषेधाज्ञा थप गरी २२ जेठसम्म पु¥याइएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई ७ दिन निरन्तरता दिने निर्णय गरेको हो ।

प्रजिअ आर्चायले २२ जेठ राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताए । जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ आर्चायले बताए ।

जिल्लामा २२ वैशाख देखि निषेधाज्ञा कायम छ । यसैबीच निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले ३ लाख रुपैयाँसम्म जरिवाना लगाउन सक्ने चेतावनी दिएको छ । निषेधाज्ञाको समयमा बाधा तथा अवरोध गर्ने व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

नेपाल सरकारले जारी गरेको कोभिड व्यवस्थापनसम्बन्धी अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा कारबाही हुने उनले बताए । उनका अनुसार मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयासम्म जरिवाना अर्थात् दुबै सजाय हुनेछ । साथै मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकैपिच्छे १ सय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रणमा गरिएका अवस्थामा सोको उल्लंघन गर्नेलाई पटकैपिच्छे २ सय रुपैयाँ, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पांग्रे सवारी साधन भए २ हजार रुपैयाँ र अन्य सवारी भए ५ हजार जरिवाना गरिने प्रशासनले जनाएको छ ।

बागलुङमा १ साता लम्बियो

बागलुङ संवाददाताका अनुसार बागलुङमा थप १ साता लकडाउन थपिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत वैशाख २१ गतेदेखि लकडाउन भएको हो । संक्रमणको दरमा कमी नआएपछि (डिसिसिएमसी) ले १ जेठ देखि १५ जेठसम्म लकडाउन थप गरेको थिए ।

संक्रमणको दर दिनदिनै बढेपछि (डिसिसिएमसी) ले लकडाउनलाई थप कडाई गर्ने पौडेलेको भनाइ छ । ‘संक्रमितको संख्या बढ्दै गएको छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको बताए । ‘अझै पनि संक्रमितको संख्या बढी रहेको हुँदा निषेधाज्ञा थप कडाइ गरिने निर्णय भएको छ ।’

बागलुङ जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरे पनि बिहान ७ बजेदेखि १० बजेसम्म फलफूल तरकारी, खाद्यान्नलगायतका पसल सञ्चालन गर्न दिँदा बजारमा छरपष्ट मान्छे हिँडडुल गर्दा कोरोनाको संक्रमण बढेको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width