स्याङ्जामा २ महिनाभित्रै अक्सिजन प्लान्ट

भवानी अधिकारी
जेठ १५, २०७८
Oxygen

स्याङ्जा । स्याङ्जामा २ महिनाभित्रै अक्सिजन प्लान्ट स्थापना गर्ने गरी काम थालिएको छ । भीरकोट नगरपालिका हेलुस्थित कालिका अस्पतालमा प्लान्ट निर्माण गर्ने टुंगो लागेको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि गठित ३ सदस्यीय समितिले प्लान्ट राखिने स्थल, अनुमानित खर्चलगायत विषयमा अध्ययन सकेपछि मंगलबार बसेको भर्चुअल बैठकले अब प्लान्ट निर्माणका तयारीमा तत्काल जुट्नेसहितका निर्णय गरेको हो ।

प्लान्ट निर्माणका लागि प्रत्येक गाउँपालिकाले १०/१० लाख र प्रत्येक नगरपालिकाले १५÷१५ लाख खर्च व्यहोर्नुपर्ने छ । तर भीरकोट नगरपालिकाले भने अन्य पालिकाको भन्दा दोब्बर रकम ३० लाख उपलब्ध गराउने सहमति जुटेको समिति सदस्य घनश्याम सुवेदीले जानकारी दिए ।

‘आकस्मिक खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था आएकाले संघीय समानीकरण अनुदान र आन्तरिक आम्दानी अन्तर्गतका खर्च गर्न नसकिएका केही रकम रकमान्तर गरी खर्चको व्यवस्थापन गर्नेछौं ।’ उनले भने, ‘सरकारी प्रक्रिया लामो र झन्झटिला भएकाले तत्काल हामी सामुदायिक, निजी साझेदारी कार्यक्रम अनुरुप प्लान्ट निर्माणका लागि सबै पक्षलाई सहयोगको आह्वान गरेका छोैं ।’

२ महिनामा सक्ने गरी काम सुरु गर्नेे समितिले जनाएको छ । दैनिक सयदेखि डेढ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको बनाउने गरी योजनामा जुटको भीरकोट नगरप्रमुख छायाँराम खनाल भन्छन् । दीर्घकालीन लक्ष्य अनुरुप कोरोना कहरपछिको अवस्थालार्ई समाप्तपछिलाई पनि ध्यान दिँदै प्लान्ट राखिने भएको प्रमुख खनालको भनाइ छ ।

यसअघि भएको भर्चुअल बैठकले जिल्ला समन्वय समिति उपप्रमुख दिलीप बगालेको संयोजकत्वमा भीरकोट नगरपालिका प्रमुख छायाँराम खनाल र फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी सदस्य रहने गरी समिति बनाई यी विविध पक्षबारे अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो ।

अक्सिजन प्लान्ट निर्माणपछि अक्सिजनसहितको एम्बुलेन्स सेवा, कोरोना संक्रमितको मृत्युपछिका शवको व्यवस्थापनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

स्याङ्जामा वैशाखयता, कोरोना संक्रमितको संख्या ११ सयभन्दा बढी पुगेको छ भने मृतकका संख्या ४८ छ । जिल्लामा दैनिक १ भन्दा बढी संक्रमितको मृत्यु हुँदै आएको छ । मृत्युको प्रमुख कारण अक्सिजन अभाव भएको बताइन्छ ।

यस्तै,स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले १ करोड ५० लाख बजेट स्वीकृत गरेको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width