लायन्सको सहयोगमा पोखरा महानगरले बनायो १०० बेडको कोभिड अस्पताल

विजय नेपाल
जेठ १५, २०७८
psg hospital

पोखरा । पोखरा महानगरपालिकाले पोखरा–२७ मा कोभिड उपचार केन्द्रको प्रारम्भिक उद्घाटन गरेको छ । छोटो समयको प्रयासमै निर्मित सो उपचार केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । करिब २ करोड लागतमा निर्मित अस्पतालमा हाल ५० बेड तयार छन् । आगामी दिनमा १ सय बेड क्षमता विस्तार गर्ने योजना महानगरको छ ।

मेयर मानबहादुर जिसीले २ करोड लागतमा कोभिडका बिरामीको उपचार लक्षित गरी लायन्सको समन्वयमा अस्पताल निर्माण गरिएको जानकारी दिए । ‘यस कार्यमा हामीलाई लायन्स क्लबले ठूलो सहयोग ग¥यो,’ मेयर जिसीले भने, ‘मिहिनेत गरेमा छोटो समयमै पनि हुँदो रहेछ भन्ने लागेको छ ।’ महानगरले करिब १० दिनमै आवश्यक सुविधासहित साविकको लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनलाई कोभिड उपचार केन्द्रको रुपमा विकास गरेको हो । महानगरको स्वास्थ्य महाशाखाअन्तर्गत शिशुवा अस्पताल मातहतमा सो केन्द्र सञ्चालित हुनेछ । १५ महिनादेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा विभिन्न प्रयास जारी राखेको पोखरा महानगरले पहिलो पटक अस्पताल नै निर्माण गरी यसको रोकथाम तथा नियन्त्रणमा जुटेको हो ।

पोखरा महानगर र लायन्सको सहकार्यमा साविकको लेखनाथ नगरपालिकाको भवनमा १० दिनमै २ करोड लागतमा अस्पताल निर्माण भएको हो ।

अस्पताल अहिले महामारीको बेलामात्र सञ्चालन नभई आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनेछ । मेयर जिसीले भने, ‘यो हस्पिटल महानगरकै हो । कोरोना महामारीको बेलामा मात्र नभई सधैँभरि नियमित रुपमा सञ्चालन हुनेछ । आवश्यक सुधार सहित स्रोतसाधन सम्पन्न बनाउँदै जाने छौं ।’

लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ को संयुक्त सहकार्यमा सञ्चालित अस्पतालमा ५० बेडसहित सोसँग सम्बन्धित आवश्यक सामग्री उपलब्ध गराएको हो । लायन्सले बेडसहित सर्जिकल सामग्री, दराज, म्याट्रेस, अक्सिजन कन्सन्ट्रेटर, सोलार, पर्दा लगायत सामग्री सहयोग गरेको लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ का डिपार्टमेन्ट चिफ मोहनबाबु खड्काले जानकारी दिए । खड्का अस्पताल निर्माणमा लायन्सको तर्फबाट संयोजक हुन् । उनका अनुसार ५० बेडमै हाइ फ्लो अक्सिजन मेसिन जडान गरिएको छ भने ९ अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् ।

जसले अक्सिजन नहुँदा विकल्पमा १८ जनासम्म बिरामीलाई धान्न सक्छ । खड्काले गण्डकी क्षेत्रका विभिन्न लायन्स क्लबहरुसहित नमस्ते सामुदायिक प्रतिष्ठान, कवाडी व्यवसायी संघ, पृथ्वी राजमार्ग बस व्यवसायी समिति, मेगा बैंक लगायत सम्पूर्ण सहयोगदाता लगायतको साथ र सहयोगले सम्भव भएको बताए । भौतिक पूर्वाधार निर्माण महानगरको सहयोग छ ।

तत्कालीन लेखनाथ नगरपालिकाको मुख्य कार्यालय रहेकोमा पछिल्लो समय पोखरा महानगरपालिका वडा २७ को कार्यालय थियो । वडा कार्यालय अन्यत्र भाडामा लिई सञ्चालन गरी कुल ३६ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा अस्पताल निर्माणपछि स्थानीय पनि खुसी बनेको लायन्सका डेप्युटी चिफ एड्भाइजर समेत रहेका स्थानीय शैलेन्द्रमोहन भट्टराईले बताए । हाललाई ५० बेड रहेकोमा बिस्तारै माथिल्लो तलामा पनि बेड थपेर १ सय बेडसम्म पु¥याउने महानगरको लक्ष्य छ । आगामी दिनमा आइसियु, भेन्टिलेटर समेत आउने बताइएको छ ।

शिशुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतिभा कोइरालाले अस्पताल निर्माणमा महानगर र लायन्सको टिममै उल्टिएर सहयोग गरेको हुँदा छोटो समयमै सम्भव भएको बताइन् । ‘आज (शुक्रबार) महानगरको इन्जिनियरिङ टिमबाट मेडिकल टिमलाई हस्तान्तरण गरिएको हो,’ कोइरालाले भनिन्, ‘अझै केही समय त लाग्छ । एक साताभित्रै हामीहरुले बिरामी भर्ना लिन्छौं ।’ अस्पतालमा स्वास्थ्यकर्मीमात्रै १० टिमको टिम खटिने उनले जानकारी दिइन् । जसमा २ मेडिकल अफिसर, ४ नर्सिङ स्टाफ सहित प्यारामेडिक, कार्यालय सहयोगी, सुरक्षाकर्मी हुनेछन् ।

२०३४ सालको हेल्थपोस्ट हुँदै स्तरोन्नति हुँदै हाल १५ बेड क्षमताको प्राइमरी लेवलको रुपमा शिशुवा अस्पताल सञ्चालित छ । शिशुवा अस्पतालमा ४० कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width