ज्यान जोगाउन अस्पताल ल्याएको अक्सिजन अभावले छट्पटाएर गयो ज्यान

कम्पनी भन्छः सबैभन्दा बढी गण्डकीमै पठाएका छौं

धनबहादुर गुरुङ
जेठ १४, २०७८
wrh

पोखरा । बिरामीलाई साह्रै गाह्रो भयो लौ न चेक गरिदिनुस् ? पर्वत, दुर्लुङका सोमबहादुर विक डाक्टरलाई आग्रह गर्छन् । नजिकैबाट बाटो क्रस भएका डाक्टरको जवाफ आउँछ, म हैन अर्को डाक्टरलाई भन्नुस् । बेडमा आत्तिएकी बुहारीका लागि विकले यसैगरी आजभोलि जो डाक्टरलाई पनि बिलौना सुनाउँछन् । डाक्टरहरु त्यसैगरी तर्किन्छन् । डाक्टरको यस्तै व्यवहारले गण्डकी अस्पताल पहिला जस्तो रहेनछ, कोरोनाले पूरै अस्पताल परिर्वतन गरेछ भन्ने लाग्न थालेको छ ।

उनी जेठ ८ गतेदेखि आफ्नी बुहारीको कोरोना उपचारका लागि अस्पतालमै छन् । अस्पतालमा समय छुट्याएर डाक्टरहरु आउने गरे पनि बिरामी छटपटाएको बेला कोही डाक्टर नआएको उनको गुनासो छ । आफ्नो बिरामीमात्र नभएर अरुको बिरामीको पनि हाल उस्तै रहेको उनले सुनाए । सुरुको २ दिन बिरामी बुहारीलाई अक्सिजन नै दिन परे पनि अहिले भने केही निको भएको विकको भनाइ छ । अस्पतालको मेडिकल वार्डको आइसोलेसनमा बसेका विकको अरु कोरोना बिरामीको हालत देख्दा दुखी छन् ।

बिहीबार बेलुका ग्यास अभाव हुँदा साक्षी हुन् उनी । बिहीबार २ पटकसम्म ग्यास सकिएको उनले बताए । दिउँसो ३ बजेतिर र राति ८ बजेको समयमा २०/२५ मिनेट जति ग्यास अभाव भएको थियो । त्यो समय उनको आफू छेउकै अर्को बेडको बिरामी अक्सिजन अभावले छट्पटिँदै घोप्टो परेर बसेको उनले सुनाए । ‘

धन्न मेरो बिरामीलाई अक्सिजन दिनु परेको छैन,’ उनले भने, ‘मेरै आडैको बेडको बिरामीको अवस्था देख्दा भक्कानो छुटेर आँउछ ।’ अक्सिजनको जोहो गर्न नसकेकोमा अस्पताल प्रशासनप्रति उनको असन्तुष्टि छ । बच्न भनेर आएका बिरामी मरेर फर्कन पर्ने अवस्था भएको उनको भनाइ छ । ‘राम्रो अस्पतालमा भनेर जमानादेखि जचाउन आउने ठाउँ हो, अहिलेको हालत देखेर मन नै म¥यो,’ उनले भने, ‘पहिला आउँदा त राम्रै गरेको हो तर अहिले पहिलाजस्तो रहेनछ ।’

उनी बिहान उठ्दा नै आफूहरु रहेको मेडिकल वार्डकै ३ जनाको मृत्यु भएको सुने । ती ३ जनाको अक्सिजन अभावकै कारण मृत्यु भएको उनको भनाइ छ । ‘५ मिनेट अक्सिजन नहुँदा त छटपटाउँछन्,’ उनले भने, ‘२०/२५ मिनेट भनेको त धेरै हो, आज मर्ने अक्सिजन अभावले नै मरेका हुन् ।’ अस्पतालको व्यवस्थापन र डाक्टर, नर्सको कामप्रति उनको आक्रोश थियो ।

बिहीबार राति अस्पतालमा करिब २५ मिनेट अक्सिजन रोकिँदा ८ जनाले ज्यान गुमाउनु पर्‍यो

अस्पतालमा बिहीबार अक्सिजन पुर्‍याउन नसकिएको कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बरालले स्वीकारे । अक्सिजन कम्पनीबाट सिलिन्डर आउन ढिला भएका कारण अक्सिजन अभाव भएको उनले जानकारी दिए । ‘२÷३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो,’ उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसोदेखि शुक्रबार रातिसम्म ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाइ फ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बराल बताउँछन् । केहीलाई बिहीबारको अक्सिजन अभावले पनि प्रभाव पारेको र केही दीर्घरोगी भएका कारण जटिल समस्याका कारण ज्यान गएको उनले बताए ।

अस्पतालका निर्देशक प्राडा. भरतबहादुर खत्रीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृत्यु भएकाहरु शुक्रबारमात्र मृत्यु भएको नभई बिहीबार दिउँसोदेखि शुक्रबार बिहानसम्मको डाटा रहेको जनाए । मृतकहरु मध्ये धेरै जनामा अन्य दिर्घकालीन स्वास्थ्य समस्या रहेको उनको भनाइ छ । दीर्घरोगको समस्या भएकाहरुमा कडा खालको निमोनिया देखिएकोले उच्च मात्रामा अक्सिजन दिएर उपचार गर्दा नै मृत्यु भएको उनले जानकारी दिए ।

अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजनको उत्पादन प्रभावित हुँदा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसकेको पनि वार्डहरुमा हुने कुनै समस्या नरेहको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मृतकका आफन्त भने अक्सिजनको अभाव भएका कारण हाइ फ्लो दिन नसक्दा बिरामीको ज्यान गएको बताउँछन् । अस्पतालमा एक्कासि अक्सिजनको अभाव भएर बिरामी कुरुवा स्वयं नै अक्सिजनका लागि दौडधूप गर्दा पनि बिरामी बचाउन नसकेको उनीहरुको भनाइ छ ।

यता अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ । सबैभन्दा बढी गण्डकी अस्पतालमा ग्यास पठाएको पोखरा अक्सिजन ग्यास प्रालिका म्यानेजर दीपक भण्डारीले जानकारी दिए । ‘हिजोको घटनाको विषयमा हामीले रेगुलर ग्यास पठाइरहेका छौं,’ उनले भने, ‘सबैभन्दा धेरै सिलिन्डर लाने भनेको त्यही गण्डकी अस्पतालमै हो, अनि बाँकी अरु ठाँउमा बाँड्ने हो ।’ पछिल्लो समय माग अक्सिजन ग्यासको माग ह्वात्तै बढेको उनले बताए । बिहीबार केही समय लाइन गएको र अन्य अस्पतालबाट माग बढेको कारण १०÷१२ वटा कम पठाएको उनको भनाइ छ ।

आइसोलेसनमा ७० जना संक्रमित छन् । उनीहरुका लागि दैनिक ३ सय ६० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । अस्पतालमा अहिले पनि प्रत्येक २५ मिनेटमा १४ वटा सिलिन्डर ग्यास खपत हुन्छ । अक्सिजन ल्याउन अस्पतालका ४ वटा गाडी कुदेको कुद्यै छन् । एउटा गाडीले १ पटकमा बढीमा १० वटा सिलिन्डर ल्याउँछ । अक्सिजन बोक्ने गाडीले केही समय ढिलो गर्नेबित्तिकै अक्सिजन फ्लोमा समस्या पर्ने डा. बरालले जानकारी दिए ।

अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा पोखरा क्षेत्रमा सञ्चालित अक्सिजन उद्योगबाट आपूर्ति व्यवस्था मिलाइएको छ । पोखरामा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग सञ्चालित छन् । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघन्टा ३० सिलिन्डर र कालीगण्डकीले प्रतिघन्टा २० सिलिन्डर अक्सिजन उत्पादन गर्छ । यी उद्योगले दिनमा जति नै कोसिस गरे पनि १५ सयभन्दा बढी सिलिन्डर भर्न सक्दैनन् । यही सिलिन्डरले नै यस क्षेत्रका निजी, सरकारी तथा सामुदायिक अस्पतालमा कोरोनासहित अन्य प्रकृतिका बिरामीलाई धान्दै आएको छ । विद्युत आपूर्ति नहुँदामात्र उत्पादनमा समस्या पर्ने कम्पनीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width