मेलमिलापबाटै विवाद साम्य

धनबहादुर गुरुङ
जेठ १४, २०७८
Manju devi gurung

पोखरा । पोखरा ९ नयाँबजारमा सोही ठाँउका दीपक मगरातीले सटर भाडामा लिएर व्यावसाय चलाउँदै आएका थिए । गतवर्षको लकडाउनले व्यवसाय नचलेपछि उनले ताला लगाएर बस्न वाध्य भए । कोरोनाको पहिलो लहर अन्त्य भएपछि पनि लामो समय सटरबन्द गरेरै बसे, मगराती । त्यही बीचमा घरभाडाको विषयमा घरधनी बमबहादुर कार्कीसँग विवाद भयो । मगरातीले लगाएको तालामाथि अर्को ताला थपिदिए, कार्कीले । त्यसपछि सटर भित्रको सामान र डेकोरेसनको मूल्य पाउनुपर्छ भन्ने मगरातीलाई लाग्यो । उनले समुदायस्तर, उद्योग वाणिज्य संघसँगै जिल्ला प्रहरी कार्यालय पनि धाए । तर न्यायको अभास भएन । त्यही बीचमा उनले पोखरा महानगरमा न्यायिक समिति रहेको चाल पाए । महानगरको न्यायिक समितिमा विवाद दर्ता गरे केही राहत होला कि भन्ने उनमा आशा पलायो ।

घर भाडाको विवाद शीर्षक राखेर गत वर्षको साउन २५ गते महानगरमा दर्ता गराए । त्यसपछि महानगरको न्यायिक समितिले काम सुरु ग¥यो । त्यपपछि पनि लकडाउनको प्रभाव रहेकै कारण प्रतिउत्तर असोजको ९ गते दर्ता भयो । त्यसपछि कात्तिकको ५ गते पेसी चढेर छलफल भयो । त्यही विषयमा फेरि मंसिर २४ गते पोखरा महानगरको न्यायिक समितिको इजलासले सर्वसम्मतरुपमा मेलमिलापको माध्यबाट टुंग्याउने निर्णय भयो । मगराती र कार्कीको विवादमा मेलमिलापकर्ताको मूख्य भूमिक रहने भयो । उनीहरुको विवादमा वडा नम्बर ४ का शिवजी कोइराला र वडा नम्बर २ को गजेन्द्र भारीलाई मेलमिलापकर्ताको रुपमा रोजियो । मेलमिलापकर्ताद्वय कोइराला र भारीले ६ चरणको बसाईपछि विवाद मिलाएका थिए । भाडा समायोजन, सम्झौता हेर्दा दुवै पक्षको गल्ती देखिएका कारण दुवै पक्षले गल्ती महसुस गरी मिलापत्र भएको थियो । दुवैपक्ष मिलेको निवेदन मेलमिलापकर्ताले न्यायिक समितिमा बुझाएलगत्तै महानगरको इजलासले अनुमोदन गर्‍यो, दुवै पक्ष खुसी भए ।

१ सय ३२ विवाद दर्ता भएकामा ३७ वटाको टुंगो लागिसकेको छ । टुंगो लागेकामध्ये २४ वटामा त मिलापत्र भएको छ

महानगरको न्यायिक समितिले मिलाइदिएका मगराती र कार्की जस्ता २४ विवादका निवदक र दोस्रो पक्ष खुुसी नै छन । देश नयाँ संघीय संरचनामा गइसकेपछि २०७६ चैतको ५ गतेदेखि न्यायिक समितिले काम थालेको हो । चैतभन्दा पहिलेदेखि नै तयारी थालेको महानगरको न्यायिक समितिले चैतको ५ गते पहिलो इजलास बसेर सुरु गरेको हो । अहिलेसम्म महानगरको न्यायिक समितिमा १ सय ३२ विवाद दर्ता भएको महानगरका कानुन अधिकृत राममणि अधिकारीले जानकारी दिए । ती मध्ये ३७ वटा निर्णय भइसकेका छन् भने २४ विवाद मेलमिलापकर्ताको माध्यमबाट मेलमिलाप भएका छन् । ७१ विवाद अझै प्रक्रियामै रहेको अधिकारीको भनाइ छ । पछिल्लो समय महानगरको न्यायिक समितिको कामबाट धेरै नागरिक सन्तुष्ट भएको उनले प्रतिक्रिया दिए । पोखराको न्यायिक समितिको काम अवलोकन गर्न अन्य पालिका पनि आउने गरेको उनले थपे । पोखराको ३३ वटा एउटा संस्थासहित १ सय ७४ जना मेलमिलाप कर्ता छन् ।

स्थानीयस्तरमा उठ्ने सामान्य खालका विवाद र मुद्दा मामिला तल्लो सरकारले नै टुंग्याउने परिकल्पनासहित गठन गरिएका न्यायिक समितिले आफ्ना काम थालेको छ । न्यायिक समितिकी संयोजक समितिकी संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले समितिमा काम गर्न सुरु सुरुमा निकै गाह्रो भएको अनुभव सुनाउछिन् । ‘त्यो बेला मलाई लाएको थियो कि, म भोलि मेरो ५ वर्ष सकिएर बाहिर जाने बेलामा मेरो पक्षमा कोही पनि हुदैन होला भन्ने मलाई लाग्थ्यो,’ उनले भनिन्,‘किन भने दुवै पक्षको कुरा सुन्दा उस्तै उस्तै लाग्छ । हामी कानुनको पृष्ठभूमिबाट नआएको हुनाले निकै गाह्रो भएको थियो ।’ कानुनका ज्ञाताहरुसँग बसेर सिकेपछि अहिले भने सहज भएको उनले बताइन् । सबैतिरबाट ज्ञान लिएर काम गरेपछि न्यायिक समिति अब्बल बनेको उनको भनाइ छ ।

अन्यौलमा चलिरहेका स्थानीय न्यायिक समितिलाई पोखरा महानगरपालिकाले भने न्याय सम्पादन सिकाउन थालेको छ । लकडाउनका बिचमा पनि अनलाइन मार्फत् न्यायिक उजुरी दिन मिल्नेगरि काम गरेको उनले बताइन् । पछिल्लो समय आफूहरुले गरेको कामको अरु पालिकामा पनि चर्चा चल्दा खुसी लाग्ने उनको प्रतिक्रिया छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width