महानगरको प्राथमिकतामा भवन निर्माण

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
metro office (2)

पोखरा महानगरपालिकाले पछिल्लो ४ वर्षमा १० वटा वडा भवन तयार गरेको छ । सुविधा सम्पन्न कार्यालय । भित्रै पार्किङ गर्न मिल्छ । सेवाग्राहीको सहजताका लागि लिफ्ट पनि राखिएको छ । यसमध्ये केही निर्माणकै चरणमा छन् । १० वटा वडाको भवन मर्मत गरिएको छ भने अझै ६ वडाको भवन निर्माणको प्रक्रिया सुरु भएको छ । नयाँ बन्ने सबै भवनमा लिफ्ट राख्नमिल्ने छ । जनप्रतिनिधि र कर्मचारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् ।

पोखरा महानगरको मुख्य प्रशासकीय कार्यालयको भने बेहाल छ । एउटै कामका लागि सेवाग्राहीहरु धेरै कार्यालय चहार्नुपर्ने वाध्यतामा छन् । पोखराको मुख्य प्रशासकीय कार्यालय न्युरोडमा छ । सामाजिक विकास महाशाखा सिर्जनाचोकमा सारिएको छ । स्वास्थ्य महाशाखा नयाँ बजार र न्युरोडमा बीचमा राखिएको छ, कृषि महाशाखा बिरौटा र पशु महाशाखा रामघाटमा छ । स्वास्थ्य महाशाखा भाडामा छ, कृषि पनि हटाउन प्रदेशले उर्दी लगाएको छ । धेरैतिर कार्यालय हुँदा नागरिकले दुख पाएका छन् ।

२०५२ सालमा पोखरा उपमहानगरपालिका हुनुअघि निर्माण भएको न्युरोडको कार्यालयले देशकै ठूलो महानगरपालिका चलाइरहेको छ । महानगरमा जनप्रतिनिधि चुनिएपछि पहिलो कार्यपालिका बैठकले प्रशासकीय नयाँ भवन बनाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयनमा गएको छैन । अहिले भने भवन निर्माणको तयारीमा महानगर जुटेको छ । माटेपानीस्थित पशु सेवाको जग्गामा भवन बनाउन लागिएको हो । यसका लागि डिपिआर तयार भइरहेको छ । २२ रोपनी जग्गा नेपाल सरकारले महानगरलाई हस्तान्तरण गरिसकेको मेयर मानबहादुर जिसीले बताए ।

मुख्य प्रशासकीय भवनका लागि ४४ महिना लगाएर जग्गाको टुंगो लागेको छ

भवन निर्माणका लागि पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा जग्गा खोजविन समिति गठन गरिएको थियो । सोही समितिले तीन ठाउँ प्रस्ताव गरेको हो । नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र, नयाँ बजारको प्रदर्शनी केन्द्र र माटेपानीको पशु कार्यालय भएको ठाउँमध्ये जुनसुकै उपयुक्त हुने सिफारिस समितिले जनाएको छ । नगर प्रशिक्षण केन्द्रमा प्रदेशसभा बसिरहेको छ । प्रदर्शनी केन्द्रलाई अन्तराष्ट्रिय सम्मेलन केन्द्रको रुपमा विकास गर्न लागिएको छ । सोही प्रतिवेदनको आधारमा पशु कार्यालयको जग्गा सबैभन्दा उपयुक्त देखिएको र त्यहिँ भवन बनाउन लागिएको मेयर जिसी बताउँछन् । महानगरलाई जग्गा खोजी गर्न नै ४४ महिना लाग्यो ।

उनका अनुसार भवन बनाउन करिब पौने अर्ब लाग्ने छ । ‘जग्गा आयो । डिपिआर बनाएर शिलान्यास गर्छौं,’ उनले भने, ‘सके यहि वर्ष नभए अर्को वर्ष सकिने गरी काम हुन्छ । नयाँ जनप्रतिनिधि आउँदा नयाँ भवनमा बस्न पाउछन् ।’ त्यहाँ तीनवटा ब्लक बन्ने छन् । त्यसबाहेक नयाँ बजारमा महाशाखाहरु राख्न छुट्टै कार्यालय निर्माण हुँदै छ । पुरानो दमकलको जग्गामा भवन बनाउन २२ करोड लागत स्टिमेटको बोलपत्र समेत आह्वान भइसकेको छ । एकीकृत सेवा दिनका लागि महानगरपालिकाका महाशाखाहरु एकै ठाउँमा राख्ने गरी यो भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । महानगरले दीर्घकालसम्म चल्ने गरी भवन निर्माण गरिरहेको उनको भनाइ छ । ‘अहिले बनेका भवन केहि वर्षमै साँघुरो हुनु हुँदैन । कम्तीमा ५० वर्ष पछिसम्मलाई हेरेर अहिले भवन बनेका छन्,’ उनले भने, ‘काम केही ढिलो भयो होला । तर सोचाइ धेरै परसम्मको छ ।’ पोखरा अन्तर्राष्ट्रिय सहर भएकोले त्यसलाई समेत ख्यालमा राखेर संरचना तयार गरिएको उनले सुनाए ।

वडा तहमा लिफ्ट सहितका भवन बनिरहँदा महानगरमा भने एउटै कोठाभित्र धेरै कुर्ची टेबुल जोडेर बस्न वाध्य छन्, कर्मचारीहरु । वडा भवन बाहेक पोखराले स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रको भवन पनि धमाधम बनाइरहेको छ । ८ वडामा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यहाँ ४६ वटा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छ । ४ वडामा नयाँ स्वास्थ्य चौकी बनेको छ भने २ वटामा निर्माण अन्तिम चरणमा पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width