सहरमात्र होइन गाउँगाउँमै पक्की सडक

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
pokhara sadak and Mayor gc

पोखरा । बोलेरो जीप सकि नसकी उक्लिन्छ । सिमसिमे पानी झ¥यो भने वडाध्यक्ष सीम गुरुङको गाडीमा फोर ह्वील चलाउनुपर्छ । पोखरा २० का अध्यक्ष गुरुङले आफ्नै वडा जाने बाटो राम्रो नभएपछि बोलेरो जीप किनेका हुन्, फोर ह्वील भएको । ‘जीपहरु मात्रै जान्छ । मोटरसाइकल पनि कहिलेकसो लैजान्छन् । अरु गाडी लैजान गाह्रो छ,’ उनले भने, ‘ट्रयाक खुलेको धेरै भयो । अलि होलोसँग गाडी जान थालेको आजभोलि हो ।’ मौजा जाने सडकलाई चाक्लो बनाउन र ग्राभेल सहित पक्की बनाउनका लागि महानगरपालिकाले बजेट विनियोजन गरेको छ । ‘ठूलो टेन्डर बल्ल लागेको छ । ५ करोडमा डेढ किलोमिटरको पिच हुँदै छ,’ गुरुङले भने, ‘गाउँमा पु्ूर्वबाट मध्येपहाडी लोकमार्ग छिराउने कुरा छ । कारमा चढेर घर जाने मौजालीको सपना धेरै पर छैन ।’ तुलनात्मक रुपमा राम्रै भए पनि आफ्नो कल्पना जति काम गर्न नसकेको उनले सुनाए ।

गुरुङकोभन्दा समस्या पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीको छ । उनको वडामा अहिलेसम्म पक्की सडक पुगेको छैन । विस्तारै बाटो चक्ल्याउने र नाली बनाउने काम सुरु भएको छ । ‘म आफै साधन चलाउँदिन । केही काम पर्‍यो भने मोटरसाइकलमा लिफ्ट मागेर हिड्नुपर्छ,’ उनले भने, ‘भूगोल धेरै फिँजारिएको वडा छ । बर्खा लाग्न थालेपछि बन्द नै हुन्छ । गाडी चल्दैन । पक्की बाटो, नाली छैन ।’ सहरको मुख्य बाटाहरु वर्षैपिच्चे नयाँ बन्दा उनलाई दुख लाग्छ । पोखरा महानगरले सहरी क्षेत्रको सडकलाई अस्फाल्ट कंक्रिट मार्फत् स्तरीय पिच गरिरहेको छ । ‘अन्त पिच भत्काएर राम्रो पिच गर्दैछन् । हाम्रातिर भएको कच्ची बाटो पनि भल बाढीले बगाएर सद्दे राख्दैन,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय पर्यटक आउने ठाउँ पोखरा । यहिँको वडामा पिच बाटो छैन भनेर सुनाउनु पर्दा लाज लाग्छ ।’ अहिले यो वडामा कालोपत्रे सडक पुग्छ । साढे १३ करोडमा ठेकेदारले घाटिछिनासम्म कालोपत्रे सडक बनाउन सम्झौता गरिसकेका छन् । खहरे, पामेमा पुल बन्दै छ ।

तत्कालीन समयमा १७ वटा गाविस र लेखनाथ नगरपालिका समेटिएर पोखरा महानगरपालिका बनेको यहाँको अधिकांश भूगोल ग्रामीण छ । न भौतिक संरचना, न गतिलो सडक । ती गाविसहरु विकासका हिसावले निकै पछाडि परेका थिए । अहिले पोखराले विकट वडाहरुमा विकासको पूर्वाधार विस्तारै बनाउन थालेको छ । सजिलो बाटो नभएको कारण एम्बुलेन्स समेत पुग्दैनन् कतिपय गाउँहरुमा । कनेक्टिङ सडक योजना अन्तर्गत पोखराले २७ वटा सडक योजना कार्यान्वयनमा लगेको छ । वडाको पहुँच सिधै महानगर कार्यालयसँग जोड्ने गरी सडक निर्माण अघि बढाइएको मेयर मानबहादुर जिसीले बताए । ‘पोखरालाई सारा नेपालले हेर्छ । पोखराकै वडाहरुमा गाडी जाँदैन भन्दा कति लाजमर्दो हुन्छ ?,’ उनले भने, ‘हामी निर्वाचित भएकै दिनदेखि विकट वडालाई निकट ल्याउन जोड बल गर्‍यौं। कतिपय सडकको काम अन्तिम चरणमा पुगेको छ, कतै टेन्डर भएर काम सुरु भएको छ ।’ सबै सडकको काम १ वर्षभित्रै सकिने महानगरले जनाएको छ ।

हालसम्म १ अर्ब ७९ करोड रुपैयाँ कनेक्टिङ सडकमा खर्च भएको छ

‘हाम्रो कार्यकाल सकिँदा नागरिकहरुलाई स्तरीय सडक बुझाएर जान्छौं । सवै वडाबाट आधा घन्टाभित्रै कोर सिटीमा झर्न सक्ने पहुँच हुन्छ,’ जिसीले थपे, ‘हिजो केही थिएन । आज यो पनि निकै धेरै हो भन्ने ठानेका छौं ।’ शिवालयदेखि मनिपाल सडक, पामेदेखि २४ नम्बर वडा कार्यालय जोड्ने, छोरेपाटनबाट २१ नम्बर जोड्ने सडक, खराने हुँदै वडा २६ जोड्ने, झाँझरमारे हुँदै २८ नम्बर वडा जोड्ने सडक, स्याङखुदीबाट कँडेलगाउँ सडक, विजयपुर सुर्केमैदान, देउराली कमेरेगुन्डा, मनिपाल मौजा, ३३ नम्बर वडादेखि ठूल्ढुंगा सडक, कात्रेदेखि घाँटिछिना सडक, लेखनाथ शिरोमणि मार्गको काम अहिले धमाधम भइरहेको छ ।

चितेपानी रैकर, खोलाबेंशी सौर्य सडक, रतिखहरेघाट निर्मलपोखरी, महेन्द्रगुफा अर्मलाकोट हुँदै मौजा, घार्मीखोला ढिकीडाँडा, तिलाहार काउलेपानी सडकको पनि काम चलिरहेको छ । आँपकुना गुन्टेचौर, शिवालय चिलाउनेखर्क, कुलायन मौजा, आरुपाटा कालिका, खपौंदीबाट १८ नम्बर वडा कार्यालय, काहुँखोला मौजा, अमलावेशी घार्मी, बागलुङ बसपार्क कास्कीकोट सडक र ठूलाखेत हर्पन हुँदै पन्चासे जोड्ने सडक महानगरको प्राथमिकतामा छ । हालसम्म १ अर्ब ७९ करोड रुपैयाँ कनेक्टिङ सडकमा खर्च भएको छ । बाँकी सडकको लागि नयाँ टेन्डर निकालिने महानगरले जनाएको छ ।

जनप्रतिनिधि आएपछि १ सय ३६ किलोमिटर सडक पिच भएको छ । त्यसमध्ये ६० किलोमिटर कनेक्टिङतर्फको छ । सबै सडकमा कम्तीमा ६ मिटर सडक र १ मिटरको पक्की नाला निर्माण गर्न लागिएको हो । प्राथमिकता छुट्याएर पहिलो प्राथमिकतामा वडा कार्यालयसम्मको सडक पिच गर्ने कार्यक्रमलाई जोड दिइएको मेयर जिसीले सुनाए । महानगरको अधिकांश बजेट वडालाई महानगर कार्यालयसँग जोड्ने सडक निर्माणमै खर्च भएको छ । पहिलो प्राथमिकतामा परेका सडकलाई दुरी अनुसार डेढ करोडदेखि १० करोडसम्म बजेट खर्च गरिएको इन्जिनियर राजु रेग्मीले बताए । गाउँमा पक्की सडक पुगेपछि गाउँलेहरु खुसी त भएका छन् तर उत्पादन बढाउने र सडकबाट अझै बढी फाइदा लिने तर्फ स्थानीयको ध्यान खासै छैन ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width