अक्सिजन सिलिन्डर नै कम तौलका

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
Oxygen cylender

बागलुङ । कोरोना संक्रमितको स्वास्थ्यमाथि खेलवाड गर्दै बागलुङमा कम तौलका अक्सिजन सिलिन्डर भित्रिन थालेका छन् । अक्सिजन सिलिन्डरमा समेत अनियमितता हुन थालेको सूचना आधारमा बागलुङ भित्रिएका अक्सिजन सिलिन्डरको तौल चेकजाँच गर्नेक्रममा सो तथ्य फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, स्वास्थ कार्यालय समेतको संयुक्त अनुगमन टोलीले सदरमुकामस्थित मेडिकल पसलमा अनुगमन गरेको थियो । अनुगमनमा अक्सिजन सिलिन्डर मापदण्डविपरीत कम तौलको फेला परेको हो । अक्सिजन कम हुँदा धौलागिरि अस्पताल बागलुङमा उपचार गराइरहेका कोरोना संक्रमितले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले बताए ।

दिनहुँजसो अक्सिजन सिलिन्डर र नगद सहयोग भइरहेको समयमा कम तौलका सिलिन्डर भित्रिनुले गम्भीर खेलवाड भएको भन्दै यसतर्फ सचेत हुनुपर्ने जनस्तरबाट आवाज उठेको छ ।

सिलिन्डरको तौल लिँदा प्रत्येक सिलिन्डरमा ५ केजीदेखि ७ केजीसम्म कम तौल फेला परेको जनाइएको छ । कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

यसैबीच, अन्नपूर्ण सर्जिकलले पोखरादेखि बागलुङसम्म अक्सिजन सिलिन्डर ल्याउने काम आफूले गरिरहेको तर यसबारे प्राविधिक ज्ञान नभएको डिलर युवराज पुनले बताए ।

कालीगण्डकी अक्सिजन प्रालिमार्फत अन्नपूर्ण सर्जिकलले अक्सिजनको खाली सिलिन्डर पोखरा लगेर रिफिल गरी ल्याउने गरेको छ । अहिले अक्सिजनको धेरै माग भएको कारण कम्पनीबाट पठाएको अक्सिजन कम तौलको भित्रिने गरेको देखिन्छ ।

बिरामीलाई लगाउँदै आएको अक्सिजन सिलिन्डर छिटो सकिएको गुनासो आएपछि संयुक्तरूपमा बजार अनुगमन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width