निषेधाज्ञा उल्लंघन गरे ५ लाख रुपैयाँसम्म जरिवाना

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७८
cdo office

पोखरा । कोभिड–१९ संकट व्यवस्थापन अध्योदश–२०७८ जारीसँगै कास्कीमा पनि त्यसको पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अध्यादेशमा भएको व्यवस्था पालना नभए १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाउँदै सोको पालनामा जोड दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मंगलबार साँझ सूचना जारी गर्दै अध्यादेशमा व्यवस्था भएबमोजिम विभिन्न कसूर तथा सजाय हुन सक्नेतर्फ सचेत गराएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा १९ (१) अनुरुप कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

यस्तै सोही दफाअनुसार ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँस्म्म जरिवाना वा दुवै सजाय व्यवस्था गरिएको छ । सम्बन्धित जिल्लाका प्रजिअले नै जरिवाना गर्न सक्ने अधिकार दिइएको छ ।

यस्तै, कसैले कोरोना महामारीमा कसैले मास्क नलगाई सार्वजनिकस्थलमा आवतजात गरे पटकैपिच्छे १ सय, आवातजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गनेलाई पटकैपिच्छे २ सय जरिवाना सुरक्षाकर्मीले नै असुल गर्न सक्ने छन् ।

साथै सवारीसाधनको आवतजावतमा रोक लगाइएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाए पटकैपिच्छे २ पाङ्ग्रे सवारीसाधन भए २ हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ । यस अलावा सो बमोजिम रकम असुलसँगै निश्चित समयसम्मका लागि सुरक्षाकर्मीले गाडी नियन्त्रणमा लिन सक्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width