संक्रामक रोग र प्रयोगशाला भवन शिलान्यास

धनबहादुर गुरुङ
जेठ १०, २०७८
Shilanyas Photo

पोखरा । कोरोनाको दोस्रो लहर बढेसँगै पोखरास्थित प्रदेशको कोभिड अस्पताल भरिएको वैशाख दोस्रो सातामै हो । प्रदेशका ११ सहित छिमेकी जिल्लाबाट उपचारार्थ आउने बिरामीको चाप बढेपछि पोखरा–३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा धेरैले बेड पाउन सकेनन् । गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व रहेको सो अस्पताललाई गत साउन १ मा आफू मातहत ल्याएर कोभिड उपचार थालेको हो ।

कोरोनाको पहिलो लहरसँगै प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले आफैले पिसिआर चेक गर्ने भयो । केन्द्रबाट पिसिआर मेसिन पनि आयो तर मेसिन कहाँ राख्ने चिन्ता भयो । केही दिनपछि क्षयरोग अस्पतालको प्रयोगशालामा राखेर काम सुरु भयो । अहिलेसम्म पनि अरुकै भवनको प्रयोगशालाबाट प्रदेशभरिका कोरोना संक्रमितको स्वाब परीक्षण हुँदै आएको छ ।

कोरोनाको दोस्रो भेरियन्टको संक्रमणदर उकालो चढिरहँदा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा पनि कोरोना पोजेटिभ देखियो । आइसोलेसनमै रहँदा राजीनामा दिए । वैकल्पिक सरकार गठन हुने मेसो नआएपछि प्रदेशसभामा ठूलो दलको हैसियतमा उनै गुरुङ दोस्रो पल्ट मुख्यमन्त्री बने । मन्त्रिमण्डल बिस्तार गर्ने क्रममा आफैँले स्वास्थ्य मन्त्रालयको जिम्मा लिए ।

मुख्यमन्त्रीले सरुवा रोग अस्पतालसँगै प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन शिलान्यास गरेका हुन् । उनले शल्यक्रिया कक्ष र ७ वेडको आइसियू वार्ड उद्घाटन पनि एकै दिन गरे ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री गुरुङले सोमबार ३ महत्वपूर्ण कार्य गरे । प्रदेशमा कोरोना संक्रमितले बेड नपाएको र आफ्नै ल्याब नभएपछि तत्काल बनाउने गरी उनले संक्रामक तथा सरुवा रोग अस्पताल परिसरमा सरुवा रोगको अर्को भवन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका हुन् । २ भवन शिलान्याससँगै अस्पतालको शल्यक्रिया कक्ष र ७ वेडको आइसियू वार्डको उद्घाटन पनि गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले भवन निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताए । धेरै लामो अध्यनपछि डिजाइन तयार गरेर टेन्डर अन्तिम चरणमा रहेकाले शंका मान्नुपर्ने कुनै कारण नभएको उनको दाबी छ । संक्रामक तथा सरुवा रोग अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने अभियानको सुरुवात शिलान्यास गरेर भएको उनले बताए । प्रदेशमा जटिल खालको बिरामी हेर्ने दक्ष प्राविधिक कमी देखिएको कारण त्यसतर्फ पनि आफूले सोचेको उनको भनाइ छ । प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेको बताउँदै बजेटमा जनताको जीवनरक्षाको विषय पहिलो प्राथमिकता र बाटोपुल दोस्रो चरणमा आउने जनाए ।

गण्डकी प्रदेशको सहरी विकास आयोजना मार्फत ५३ करोड ७५ लाख रुपैयाँ लगतमा ३ वर्षभित्र ५० बेड क्षमताको भवन तयार हुने संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए । २ चरणमा गरी बनाउन लागिएको भवनमा पहिलो चरणमा ५० बेडको तयार गरिने सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले बताए । अर्को चरणमा ५० बेडसहित हेलिप्याड सहितको भवन तयार गरिने उनले सुनाए । अहिले भइरहेको भवनभन्दा केही माथि ६ हजार ३ सय ३५ वर्ग मिटरको क्षेत्रफलमा चारतले भवन बन्ने भएको हो । डिजाइन तयार सकेर टेन्डर प्रक्रियामा गइसकेकोले केही दिनमै निर्माण सुरु हुने कुँवरले जानकारी दिए ।

संघ सरकारको २६ करोड सहयोगमा बन्न लागेको भवनको बाँकी रकम प्रदेशबाट प्राप्त हुने अस्पतालका निर्देशक डा. गौचनको भनाइ छ । पहिलो चरणमा ५० बेडको बनाउने भनिए पनि ७० वटा बेड व्यावस्थापन गर्न सकिने गौचन बताउँछन् । भवन सम्पन्न हुँदा एड्भान्स लेभलको आइसियूदेखि एचडियू, आधुनिक शल्यक्रिया कक्ष, प्रयोगशाला कक्ष, तालिम हल बन्ने उनले बताए । भवन निर्माणपछि प्रदेशका सरुवा रोगबाट बिरामी भएकालाई अरु अस्पताल रिफर गर्नुपर्ने अवस्था अन्त्य हुने उनको दाबी छ ।

सरुवा रोग अस्पतालमै बन्न लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको लागत १४ करोड ३० लाख रहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर झपट थापाले जानकारी दिए । तीनतले भवनमा हलसहित प्रयोगशाला कक्ष र स्टाफ कक्ष हुने छन् । सहरी विकास तथा भवन निर्माण कार्यालयले बनाउने भवन १८ महिनामा सक्ने लक्ष्य लिइएको छ ।

प्रयोगशाला बनिसकेपछि ढुक्कसँग आफ्नै भवनमा सबै काम गर्न सहज हुने प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी प्रमुख सपना सुवेदीले बताइन् । ‘अहिले पिसिआर चेक गर्ने ल्याब क्षयरोगको ल्याब हो । सबै सेटअप गर्न सजिलो भएको कारण प्रयोग गरिएको हो,’ सुवेदीले भनिन्, ‘हाम्रो भवन भइसकेपछि कोरोना मात्र नभएर सर्ने–नसर्ने सबै रोगको प्रयोगशाला सुचारु गर्न सकिन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width