मनाङमा एकै दिन २८ जनाले जिते कोरोना, ६८ प्रतिशत निको

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
manang health office

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण जित्नेको संख्या पनि बढ्दै गएको छ । सोमबारसम्म जिल्लामा एकै दिन २८ जनाले कोरोना जितेका छन् । कुल निको हुने संख्या ३८ जना अर्थात ६८ प्रतिशत रहेको छ ।

मनाङमा कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका क्रममा कोरोनाका कुल संक्रमित ६६ जना पुगेका थिए । तीमध्ये २३ महिला र पुरुष संख्या ३४ रहेको छ भने बालिका ३ जना र बालक ६ जना गरी ६६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय मनाङका जनस्वास्थ्य अधिकृति एवम् कोरोनाका फोकल पर्सन सुदीप खत्रीले बताए ।

उनका अनुसार कोरोना जित्ने ९ महिला र २४ पुरुष छन् भने एक बालक र ४ बालिका रहेका छन् । उनले भने, ‘जिल्लामा यतिबेला २८ जना सक्रिय संक्रमित रहेका छन् ।’ संक्रमित मध्ये ३८ जनाले कोरोनालाई जितेको र निको हुने ६८ प्रतिशत रहेको खत्रीले बताए । संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जनस्वास्थ्य अधिकृति खत्रीले भने, ‘जिल्लामा कुल ११ प्रतिशतको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।’ उपचारको क्रममा सोमबार दुईजनालाई पोखरा रिफर गरिएको छ । ४ जना संस्थागत आइसोलेसनमा छन् भन् अन्य संक्रमित २२ जना होम आइसोलेसनमा रहेको जनस्वास्थ्य अधिकृत खत्रीले दिए । उनका अनुसार मनाङमा पहिलोचरणको प्राथमिकतामा परेको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी आदि छुटेकाहरूको लागि भोलि मंगलबारदेखि खोप लाउने तयारी समेत गरिएको छ ।

हालसम्ममा जिल्ला स्थित सामुदायिक आइसोलेशनमा छ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार मनाङका चार स्थानीय तहमध्ये संक्रमितहरू दुई वटा पालिकामा मात्र रहेका छन् । उनले भने, ‘दोस्रो लहरको कोरोना संक्रमणबाट सदरमुकाम रहेको चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको छ ।’ नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा संक्रमितको संख्या शून्य रहेको छ ।

हाल मनाङमा संक्रमित थपिने क्रम न्यून हुँदै गएको आचार्यले बताए । उनले भने, ‘जिल्लाको सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ ।’
मनाङमा ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर छन् । तीमध्ये ११ वटा अक्सिजन सिलिण्डर
खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख आचार्यका अनुसार चामे गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र दुई वटा साना अक्सिजन सिलिण्डर छन् । उनले भने, ‘मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन कन्सन्टे«टर र १३ वटा साना सिलिण्डर रहेकोमा नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ ।’ त्यस्तै, नार्फु गाउँपालिकामा अक्सिजन सिलिण्डर छैन तर अक्सिजन कन्सन्टे«टर पाँच थान छन् । यसैगरी, नासो गाउँपालिकामा दुई वटा अक्सिजन कन्सन्टे«टर र एक सानो अक्सिजन सिलिण्डर रहेको आचार्यको भनाई छ । उनाका अनुसार यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायजसो यहाँका मानिसले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । उनले भने, ‘मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ ।’

मनाङ जिल्लामा कुल ४७ शय्याको आइसोलेशन छ । तीमध्ये सदरमुकाम रहेको चामे गाउँपालिकामा १०, जिल्ला अस्पताल मनाङमा सात, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नासो गाउँपालिकामा १२ र नार्फु गाउँपालिकामा पाँचवटा आइसोसन रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width