गाउँमा अस्पताल बनाउन युवाको सक्रियता

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
birgha pic (6)

पोखरा। गाउँमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिका बिर्घाका युवाले सुरु गरेको फेसबुक अभियान सफल हुँदै गएको छ । ‘बिर्घामा अस्पताल, समयमै उपचार’ नाराका साथ सुरु अभियानमा एक सातामै ८ लाख नगद तथा लाखौं रुपैयाँ बराबरको सामग्री संकलन भएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएसँगै जिल्लाका सहरी क्षेत्रमा भन्दा गाउँमा सक्रमणको दर बढेको हुँदा गाउँलेहरुले समयमै स्वास्थ्य उपचारमा चासो देखाएका हुन् ।
कोरोनाको संक्रमण छल्न गाउँ आएका युवा गाउँको स्वास्थ्य चौकी व्यवस्थित बनाउन लागिपरेको अभियान्ता अनन्त पाण्डेले बताए । उनी भन्छन्, ‘गाउँमा ठूलो स्वाथ्य चौकीको भवन त भयो तर प्रभावकारी सेवा र सामाग्री भएनन्, त्यसैले युवा जागे ।’

विर्घा स्वास्थ्य चौकीलाई तत्काल कोभिड–१९ का बिरामीको उपचार गर्न सक्षम बनाउने गरी कम्तीमा २५ ओटा अक्सिजन सहितको शैया, सामान्य रोगको पहिचान गर्न सक्ने प्रयोगशाला, एक्स–रे मेसिन लगायत आवश्यक मेडिकल सामग्री जुटाउन हेलो बिर्घा नामक फेसबुक पेज सक्रिय रहेको छ ।

अभियानअन्तर्गत प्राप्त नगद तथा सामग्रीको विवरण फेसबुक पेज मार्फत नै सार्वजनिक हुने गरेको अभियान्ता पाण्डेले बताए । युवाले कोरोना संक्रमणको प्रभाव कम होस् भन्दै स्वाथ्यचौकीको सरसफाइ तथा व्यवस्थापनको काम समेत गरिरहेका छन् ।

गाउँमै व्यवस्थित अस्पताल बनाउने अभियानलाई सार्थकता प्रदान गर्न गृह मन्त्राालयका सहसचिव तथा कोरोना नियन्त्रण केन्द्रीय समिति सिसिएसीका सदस्य टोकराज पाण्डेले सहजीकरण गरिरहेका छन् । हालसम्म नगदका अलावा ठूलो–सानो साइजका बेड, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेवुलाइजर, पिपिई लगायत महत्वपूर्ण सामग्री प्राप्त भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width