गण्डकीमा एकै दिन ६ सय ९९ जनाले कोरोना जिते

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा आइतबार ६ सय ९९ जनाले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार शनिबार २ सय ७४ जना निको भएका थिए भने आइतबार यसको संख्या ह्वात्तै बढेर ६ सय ९९ पुगेको हो । पछिल्लो १ हप्तामा प्रदेशमा ४ हजार १ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा बढी शुक्रबार १ हजार ३ सय ९६ जनाले कोरोना जितेका थिए । पछिल्ला दिनहरुमा क्रमिक रुपमा संक्रमितको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गण्डकी प्रदेशमा कोराना निको हुनेको संख्या २३ हजार ७ सय ६७ पुगेको छ । पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

गण्डकीमा शनिबार ९ सय ४६ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ८५ जनाको स्वाब परीक्षण गर्दा ५० दशमलव १४ प्रतिशतमा पोजेटिभ देखिएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २ सय ८४ पुगेको छ ।

 गण्डकी प्रदेशमा कोराना निको हुनेको संख्या २३ हजार ७ सय ६७ पुगेको छ

सबैभन्दा बढी कास्कीमा २ सय ९५ संक्रमित थपिँदा कम मुस्ताङमा २ जना थपिएका छन् । त्यसपछि म्याग्दीमा १ सय ८१ र गोरखामा १ सय ७१ जनामा संक्रमण भयो । मनाङमा कुनै पनि नयाँ संक्रमित नहुँदा बाग्लुङमा ९५ जनामा पोजेटिभ देखिएको छ । यस्तै स्याङ्जामा ९०, तनहुँमा ६१, नवलपुरमा २५, पर्वतमा १८ र लमजुङमा ८ जनामा संक्रमण भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसिआर जाँच गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा १७ जनाको कोरोनाबाट मृत्यु

प्रदेशमा कोरोनाबाट आइतबार १७ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ४, म्याग्दीका ३, गोरखा र कास्कीका २÷२ जनाको ज्यान गएको हो । भारत गोरखपुर र सिन्धुलीका १÷१ जनाको पनि पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पर्वत, लमजुङ, तनहुँ र नवलपुरका १/१ जनाको कोरोनाकै कारण ज्यान गएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ का ३५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको मृत्यु भएको हो । स्याङ्जाकै गल्याङ नगरपालिका ३ का ३६ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङ्जाको भीरकोट नगरपालिका ४ की ८० वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ८ का ८३ वर्षीय कोरोना संक्रमित पुरूषको कास्की मोडल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका ५ का ४६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा महानगरपालिकाकै १० नम्बर वडाका ५० वर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । गोरखाको सिरानचोक गाउँपालिका २ की ५९ वर्षीया महिलाको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । गोरखा सिरानचोक गाउँपालिका २ कै ८२ वर्षीय पुरुष चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका ६ की ६१ वर्षीया महिलाको बेनी अस्पताल, म्याग्दीमा उपचारको क्रममा ज्यान गएको हो । म्याग्दीको बेनी नगरपालिकाकै ७ नम्बर वडाकी ७४ वर्षीया महिलाको पनि बेनी अस्पताल, म्याग्दीमा उपचारको क्रममा निधन भएको हो । म्याग्दीको बेनी नगरपालिका ९ की ९० वर्षीया महिलाको पनि उपचारको क्रममा ज्यान गएको हो । पर्वतको पैयूं गाउँपालिका ४ का ६० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

नवलपुरको कावासोती नगरपालिका ८ की ८४ वर्षीया महिलाको मध्यबन्दु अस्पताल, नवलपुरमा उपचारको क्रममा ज्यान गएको हो । तनहुँको भीमाद ६ की ५४ वर्षीया महिलाको मेडिप्लस अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो । लमजुङको बेंसीसहर नगरपालिका १ का ६२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरी सिन्धुलीको पीपलगाउँ ८ की ३५ वर्षीया महिलाका मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । भारत, गोरखपुरकी ६४ वर्षीया महिलाको पनि मणिपाल शिक्षण अस्पताल, पोखरामै उपचारको क्रममा आइतबार ज्यान गएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width