ओखलढुंगा । जिल्लामा कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अहिले देशका केही बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण यो समयमा धेरैलाई समस्या छ, त्यसमा पनि गर्भवती तथा सुत्केरी महिलाहरु भने सबैभन्दा बढी समस्यामा परेका हुन् ।
गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन नपाउँदा र सुत्केरीलाई घरैमा प्रसूती गराउँदा हुने प्रसव पीडा र आवश्यक स्याहार प्राप्त हुन नसक्दा उनीहरु शारीरिक मात्रै होइन मानसिक समस्यामा समेत परेका छन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका– १ मोलीकी भगवती थापा मगरलाई कोरोनाको सङ्क्रमण बढेसँगै यो सङ्क्रमण गाउँघरसम्मै फैलिने चिन्ता त छँदैछ । त्यो भन्दा पनि ठूलो चिन्ता त निषेधाज्ञाको प्रभावले गर्दा प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जान सहजै सवारी साधन नपाउने तथा स्वास्थ्य संस्थामा सहज सेवा पाइँदैन कि भन्नेमा छ । स्वास्थ्यकर्मीले उहाँको प्रसूति हुने अन्तिम मिति यहि जेठ २२ गतेको दिएका छन् । ‘‘अब पोषिलो खाने कुरा, फलफूल किन्न बाहिर जान पनि समस्या छ । घरमै भएको खानेकुरालाई मिलाएर खाने गरेको छु ।’’ उहाँले भन्नुभयो, ‘‘पछि स्वास्थ्य संस्थासम्म जाने बेलामा समयमा यातायात सहजै पाए त हुन्थ्यो । फेरि कोरोनाको डरले स्वास्थ्य संस्थामा पनि राम्रो सेवा पाइदैन कि भन्ने लाग्छ ।’’ उहाँको जस्तो समस्या जिल्लाका सबैजसो गर्भवती र सुत्केरी महिलाहरुमा छ ।
स्वास्थ्यकर्मीले मोलङ्ग गाउँपालिकाको राँगादिप कि याङदु शेर्पालाई प्रसूति हुने मिति जेठ १९ गतेलाई दिएका छन् । निषेधाज्ञाको पालना गरेर बस्नुभएकी उहाँ गाउँघरमा पाइने सागसब्जीको सेवनलाई बढाएर पौष्टिक आहारको मात्रा पु¥याउने प्रयत्न गरिरहनुभएको छ । पहिलो सन्तान सामुदायिक अस्पताल ओखलढुंगामा जन्माएकी उहाँलाई दोस्रो सन्तान पनि अस्पतालमै जन्माउन मन छ । कोरोनाको कहर र निषेद्याज्ञाका कारण समयमा अस्पताल पुग्न नसकिने हो वा अस्पतालमा झन जोखिम मोल्नुपर्ने हो कि भन्ने उहाँलाई लागिरहेको छ । ‘‘पहिलो नानी अस्पतालमा जन्माएकोले सजिलो भयो, सुरक्षित पनि भयो । यो पनि अस्पतालमै जन्माउने चाहाना छ ।’’ उहाँले भन्नुभयो, ‘‘तर अस्पतालमा कोरोनाका बिरामी धेरै हुने भएकाले झन सङ्क्रमणले छुन्छ कि भन्ने डर पनि छ । फेरि अहिले त गाडीहरु चल्न दिएको छैन कसरी अस्पताल जानु रु’’ जिल्लामा एम्बुलेन्स अभाव भएकाले भाडाका सवारी चल्न नपाउँदा बिरामीलाई अस्पताल जान समस्या छ ।
जिल्लाको लिखु गाउँपालिका– १ की गर्भवती सिर्जना बोगटीलाई पनि निषेधाज्ञाले प्रभाव पारेको छ । उहाँलाई स्वास्थ्यकर्मीले असारको पहिलो साता प्रसूति हुने समय दिएका छन् । शारीरिक रुपमा स्वस्थ रहेपनि मानसिक रुपमा कोरोेनाको हल्लाले तनाव थपेको उहाँको भनाई छ । कोरोनाको जोखिममा गर्भवती र सुत्केरी रहने भन्ने सुन्नुभएकी उहाँले गर्भजाँच गर्न जान समेत जान छाड्नुभएको छ । ‘‘गर्भवती र सुस्केरी महिलाहरुलाई कोरोनाको छिटो प्रभाव पार्छ भन्छन् । सकेसम्म त घरमै बसेर सतर्कता अपनाएको छु ।’’ उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य जाँच गराउन जान पनि डर लाग्छ । गाउँमा यातायातको सुविधा छैन प्रसूति हुने समयमा स्वास्थ्य संस्था जान पनि स्टेचरमा लैजानुपर्छ यातायातको सुविधा भए त कति राम्रो हुन्थ्यो ।’’ स्वास्थ्य संस्थाहरुको तथ्याङ्कअनुसार गर्भजाँच गराउन आउनेको सङ्ख्या पनि कोरोना कहरपछि घटेको छ ।
खिजीदेम्बा गाउँपालिका– ८ रावादोलुकी अस्मिता सुनुवारलाई पनि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिइरहेका बेला अब के होला भन्ने चिन्ता छ । अस्पताल तत्काल जानुपर्ने भयो भने आफूहरुको ठाउँबाट भनेको समय यातायातको सुविधा नपाइने उहाँले सुनाउनुभयो । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिन जानपनि डराउनु परेको उहाँको भनाई छ । ‘‘स्वास्थ्य संस्था जान डराउनु परेपछि हाम्रो अरु के विकल्प हुन्छ र रु कि घरैमा जोखिम लिनुुपर्छ कि जे होला भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ । त्यो पनि अरुलाई स्टेचरमा बोकाएर जानुपर्ने अवस्था आयो भने झन् कोरोनाको जोखिम हुनसक्छ ।’’ जिल्लाका अधिकांश ग्रामीण सडकहरु वर्षाको समयमा हिलाम्य हुने भएकाले सवारी आवागमन बन्द हुन थालिसकेको छ ।
समयमा गर्भजाँच गर्न नपाउनु, किनमेल गर्न नपाउँदा पोषिलो खाना खान नपाउनुलगायतका समस्या त छँदैछन् । कोरोनाको सङ्क्रमण बढेसँगै जिल्लाका गर्भवती तथा सुत्केरीहरुले सुरक्षित मातृत्व सेवा समेत सहज रुपमा लिन सकेका छैनन् । स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा नियमित गर्नुपर्ने गर्भ जाँच रोकिएको छ ।
घर बाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण तथा सेवाका लागि नजानु तथा यो बेला स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा पनि थुप्रै गर्भवती तथा सुत्केरीहरुले सेवा लिन नआउने गरेको स्वास्थ्य चौकी कञ्टुजेकी सिनियर अनमी अस्मिता श्रेष्ठ बताउनुहुन्छ । गर्भवतीले धेरै चिन्ता लिँदा गर्भमा भएको बच्चालाई समेत असर पर्ने भन्दै यो समयमा गर्भवती तथा सुत्केरी महिलाको स्याहारसुसारमा परिवारका सदस्यहरुले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।
घरैमा सुत्केरी भएका महिलालाई पनि स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्वास्थ्य संस्था जान डर लागेर घरैमा सुत्केरी गराउँदा उच्च रक्तश्राप भएपछि झन समस्यामा परेको खिजीदेम्बाकी एक सुत्केरी महिला स्वास्थ्य संस्थामा भर्ना हुनुपरेको छ । ‘‘पहिला स्वास्थ्य चौकीमा जान डराएर घरैमा सुत्केरी गराइयो पछि स्वास्थ्यकर्मीकै सहारा चाहिने भएर श्रीमतीलाई स्वास्थ्य चौकीमा लगियो ।’’ नाम नबताउने सर्तमा सुत्केरीका श्रीमान्ले भन्नुभयो, ‘‘बच्चा जन्माउने समस्या त थियो नै घरैमा हुँदा झन् अरु पनि समस्या थपिए । भन्न पनि लाज हुन्छ, बुझेरै पनि जोखिम लिइयो अहिले झन् समस्या बढ्यो ।’’ स्वास्थ्यकर्मीको निगरानी बेगर प्रसूति गराउँदा मातृशिशु मृत्युदर बढ्ने जोखिम छ ।
जिल्लाका सबै ७५ वटै वडामा स्वास्थ्य चौकी र स्वास्थ्यका इकाइहरु छन् । जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालनमा छन् । स्थानीय तहमा स्वास्थ्य शाखा सक्रिय छन् । तर स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको अभियानमा केन्द्रित भएकाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सवाल पेचिलो बन्दै गएको छ । बाह्र वटा वडा रहेको सिद्धिचरण नगरपालिकामा ११ वटा स्वास्थ्य चौकी छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरु मध्ये छ वटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा रहेकोले पनि स्वास्थ्य संस्थामा प्रसूति गराउन सहज हुने सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य अधिकृत पवन कुमार लामा बताउनुहुन्छ ।
आफुहरु सङ्क्रमणको बेला महिला र बालबालिकाको क्षेत्रमा पनि सम्वेदनशील भएर सेवा प्रवाहमा जुटेको उहाँको भनाई छ । स्वास्थ्य संस्था सुरक्षित हुने भएकाले ढुक्कले सेवा लिन र घरैमा जोखिम नलिन उहाँको आग्रह छ । ‘‘गर्भवती र सुत्केरी अवस्था उसैपनि जटिल मानिन्छ । कोरोनाको कहरका बेला उहाँहरु बढी सचेत र सुरक्षित त हुनुपर्छ तर स्वास्थ्यकर्मीसँग डराएर घरैमा जोखिम उठाउनु हुँदैन’’ लामाले भन्नुभयो, ‘‘स्वास्थ्य संस्था सङ्क्रमण मुक्त बनाइएको हुन्छ । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यका मापदण्ड अपनाएर सेवा दिन्छन् । त्यसैले नियमित गर्भजाँच र सुरक्षित प्रसुति सेवा लिन नछाड्नुहोला ।’’ नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्यमा खतरा नहुने उहाँको सुझाव छ ।
कोरोनाको कहर र निषेधाज्ञाको प्रभाव यतिबेला नेपालको मात्र नभएर विश्वभरको साझा समस्या हो । मानव स्वास्थ्यमा गर्भवती तथा सुत्केरी अवस्था विशेष मानिन्छ । त्यो अवस्थामा शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्छ । स्वास्थ्यकर्मीको नियमित निगरानीमा रहेर गर्भजाँच गराउन नपाउँदा पेटमा भएको शिशुमा कुनै समस्या हुने हो कि भन्ने गर्भवतीहरुमा पिरलो पनि छ ।
सुत्केरी गराउन कसरी स्वास्थ्य संस्थामा लैजाने भन्ने समस्या एकातिर छ भने अर्कातिर गर्भमा रहेको बच्चालाई असर पर्ने हो कि भन्ने चिन्ता छ । चिकित्सकका अनुसार यो समयमा खानपान, सरसफाईसँगै आफ्नो बच्चाको सुरक्षामा ध्यान दिनुपर्छ । यो समयमा फुर्सदमा रहेका परिवारका सदस्यहरुले गर्भवती तथा सुत्केरी र नवजात शिशुको स्याहारसुसारमा विशेष ख्याल गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीहरुले पनि आफू कार्यरत क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सहजताको लागि नियमित गर्भ जाँच लगायतका कुराहरुमा थप सहयोग गर्नुपर्ने आवश्यता बढेको छ । त्यस्तै स्थानीय सरकारहरुले पनि यी समस्यामा विशेष ध्यान दिनु अति जरुरी देखिन्छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
पुराना रुख काट्नेलाई कारबाहीको माग
कास्की पोखरा समाज जापानमा कमल
कर्मयोगी भक्तराज सम्मानित
hero news full width
मुख्य समाचार
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१