काठमाडौंका नुभिव हत्या आरोपमा २ कारागार चलन, १ सुधारगृहमा

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
district court

पोखरा । नुभिव उप्रेती हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत कास्कीले २ युवकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । १ जनालाई सुधारगृह पठाएको छ ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार १९ वर्षीय विगेन गुरुङ र वासुदेव गुरुङलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । साथै नाबालकलाई भने सुधारगृह पठाउने आदेश दिएको दिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले बताए । कोरोना महामारीमा पहिलो पल्ट भएको भर्चुअल बयानमार्फत सो आदेश दिइएको हो ।

काठमाडौं खुमलटार निवासी १८ वर्षीय नुभिव उप्रेती गत वैशाख ४ मा फेवाताल किनारमा मृत भेटिएका थिए । उनकोे मृत्युको कारण ‘आत्महत्या’ भन्दै प्रहरीले सुरुआतमा पीडित पक्षको उजुरी लिन मानेको थिएन । पछि जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको उजुरी आधारमा पोखरा महानगरपालिका १७, घारीपाटन निवासी ३ युवकलाई एक सातापछि अनुसन्धानका लागि पक्राउ गरेको थियो । अदालतमा दायर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, सहन्यायाधिवक्ता मदन शर्मा, जाहेरवालातर्फबाट अधिवक्ता इन्द्रप्रसाद शर्मा, भीमप्रसाद धिमाल, वसन्त जोशी, शालिकराम सापकोटाले बहस पैरवी गरेका थिए । प्रतिवादी तीनै जनाको तर्फबाट हरिप्रसाद सुवेदीले बहस गरेका थिए ।

कसरी भयो घटना ?
नयाँ वर्ष सुरुआतकै बेला वैशाख ४ मा फेवाताल किनारमा नुभिवको शव रेस्क्युपछि जिल्ला प्रहरी कार्यालय सुरुमा आत्महत्या भएको निष्कर्षमा पुगेको थियो । तर पछि मृतककी आमाले आत्महत्या नभई हत्या भएको निष्कर्षसहित जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

सधैं बाबु रत्नप्रसादले कलेज छोड्ने छोरा बैशाख ३ गते कलेज बिदा भएपछि घर फर्किएनन् । परिवारका सदस्यले खोजी गर्दै फोन घुमाउन थाले । कतै नभेटिएपछि परिवारले जावलाखेल प्रहरीलाई छोरा हराएको रिपोर्ट दिए । रिपोर्ट दिएर फर्किएपछि आमा भीमा (भगवती कुमारी) मैनाली उप्रेतीले छोरालाई म्यासेज पनि पठाएका थिए । केही समयमा बैंकको पासवर्ड, फोनको पासवर्ड म्यासेज पठाए । उनको म्यासेजमा भनिएको थियो, ‘मामु मलाई माफ गर्नुस् म बोल्न सक्दिनँ । म पोखरा छु । अब यो मेरो अन्तिम म्यासेज हुनेछ ।’

त्यसको केही समयपछि अर्थात वैशाख ४ गते बिहान फेवातालमा एक युवकको शव भेटियो । भेटिएको शव नुभिवकै हुन सक्ने भन्दै प्रहरीले सनाखतका लागि भीमालाई फोन गर्‍यो । भीमा, उनका श्रीमान् रत्नप्रसाद उप्रेती लगायत पोखरा आए । नुभिवको शव रेस्क्युपछि जिल्ला प्रहरी कार्यालय सुरुमा आत्महत्या भएको निष्कर्षमा पुगेको थियो । र, शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह राखेको थियो । उप्रेती परिवारले शव सनाखत गरे । आफ्नै छोराको शव रहेछ । प्रहरीले आत्महत्या भने पनि उनीहरु मान्न तयार भएनन् । शवको प्रकृति हेर्दा आत्महत्या नभइ, हत्या भएको उनीहरुले ठहर गरे । टाउकोमा चोट, घाँटीमा दाग, तीघ्रामा रगत, गुप्तांगबाट रगत बगेको, अनुहार र कोखामा नीलडाम देखेपछि निर्घात कुटपिटबाटै हत्या भएको निष्कर्षमा परिवार पुग्यो ।

सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष अनुरोध गरे । तर, सुरुमा आत्महत्या भनिएकाले वडा प्रहरी कार्यालय, बैदामले हत्याको जाहेरी लिन मानेन । त्यसपछि कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठसँग कुरा भएपछि जाहेरी दर्ता भयो ।

यता, प्रहरीले नुभिवबारे अनुसन्धान अघि बढायो । त्यसपछि मात्र शव फेला पर्नु ३ घन्टा अघि लेकसाइडको स्ट्रिट नंं १३ को बीच सडकमै ३ युवकले १ जनालाई कुटपिट भएको सिसिटिभी फुटेजबाट रहस्य खुल्यो । कुटपिटमा संलग्न ३ जनालाई पनि पक्रन सफल भयो । प्रहरी स्रोतका अनुसार नुभिवसँग ती ३ युवकको ट्रेजर लाउञ्जमा झगडा भएको थियो ।

नुभिवले बुक गरेको कोठामा रहेको झोलाबाट प्रहरीले गाँजा र चुरोट फेला पारेको थियो । नुभिवले सो दिन ट्रेजरमा मादक पदार्थ सेवन गरेको प्रहरीले बतायो । नुभिवका साथी ऋतिक जैशवाल भने आफूले नुभिवलाई पाँचपोखरी जाने बेला चिनेको र आफू नयाँ वर्षमा बर्थ डे मनाउन पोखरा आएको बताउँछन् ।

३ जनाले नुभिवलाई मोटरसाइकल चढी पूर्व रिसइबी लिई योजना बनाइ एक ठाउँमा घटना भएपछि पुनः पिटेको दाबी गरेको छ । प्रतिवादीहरू भने आफूहरूले कुनै रिसइवीले नुभिवलाई नमारेको बताउँछन् । नाबालकले ट्रेजर लाउञ्जमा बाहिर बसेका बाउन्सर आफ्नो मामा पर्ने भएकाले उनीसँग झगडा भएपछि कुटपिट भएको र आफूहरू घर गएको दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width