राष्ट्रिय सभा चुनावमा बादललाई हराउने डा देवकोटा को हुन् ?

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
khimlal-badal

पोखरा । प्रायः कम चर्चामा रहने राष्ट्रिय सभा सम्बन्धित गतिविधि, यसपटक बागमती प्रदेशको उपनिर्वाचनले सर्वत्रबाट ध्यान तान्यो । ध्यानको केन्द्रमा थिए सत्तारुढ दल नेकपा एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापा बादल र एमालेकै माधवकुमार नेपाल पक्ष निकटका डा खिमलाल देवकोटा । डा देवकोटा स्वतन्त्रको हैसियतमा चुनावी मैदानमा थिए ।

एमालेभित्रको शक्ति संघर्षको निर्णायक मोड पनि यसै चुनावलाई लिइएको थियो । अन्ततः स्वतन्त्र हैसियतमा चुनावमा उठेका तर नेपाल पक्षका डा देवकोटाले एउटा नयाँ राजनीतिक कोर्ष नै खडा गरिदिएका छन् । एमालेमा कित्ता काटाकाटको राजनीति पुरानो भएपनि चुनावी प्रतिष्ठाका कारणले राष्ट्रिय सभाको उपनिर्वाचन विशेष केन्द्रमा रह्यो ।

जसको मतपरिणाम बिहीबारै चुनाव सम्पन्न भइ आइसकेको छ । चुनावी रेसमा सत्ताका उम्मेद्वार गृहमन्त्री बादललाई स्वतन्त्र कमल चिन्हका उम्मेद्वार डा देवकोटाले हार चखाए ।

डा देवकोटाले ५,०८८ मतभार पाएर निर्वाचन जिते । गृहमन्त्री बादल भने ४,०१४ मतभारसहित पराजित बने । उसो त डा देवकोटालाई देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

जसको स्पष्ट नतिजा मत परिणाममा पनि देखियो । बागमती प्रदेश सभाका १ सय ५ जना सदस्यले मतदान गर्दा डा देवकोटाले अग्रता लिए । जसमा देवकोटालाई ५८, बादललाई ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ २ मतमा सीमित रहे ।

स्थानीय तहका प्रमुख र उपप्रमुखले समेत डा देवकोटालाई रुचाए । प्रदेशमा २ सय ३३ जनाले मतदान गर्दा देवकोटाले १ सय २८ पाए भने बादलले १ सय ३ मत पाए । मजदूर किसान पार्टीका तामाङले २ मत प्राप्त गरे ।

यस्तो छ विगत
डा देवकोटा विसं २०३० सालमा कास्कीको साविक चापाकोट गाविस वडा ४ (हाल पोखरा २३) मा जन्मिएका हुन् । उनले चापाकोटमै प्राथमिक शिक्षा हासिल गरे । ०३७ सालमा उनी परिवारसहित बाराको साविक सपही गाविस बसाइँ सरेका थिए । माध्यमिक तहसम्मको अध्ययनले उनले बारामै सम्पन्न गरे । उच्च शिक्षाका भने काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा भएको थियो । उनले त्रिविबाट विकास अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) सम्पन्न गरे । डा देवकोटाले युनिभर्सिटी अफ साइप्रसबाट इकोनोमिक एनाइलाइसिसमा एमएसी पनि गरेका छन् ।

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षसमेतमा पनि डा देवकोटाले एक वर्ष सेवा गरिसकेका छन् । विशेषगरी संघीयता कार्यान्वयनमा खरो बहसमा उत्रिने उनले ०७६ असार ३१ मा प्रदेश योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका थिए । पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने र स्पष्ट वक्ताको छवि बनाएका डा देवकोटाले उपाध्यक्षको जिम्मेवारी पाएको ४५ दिनमै प्रदेशको प्रोफाइल तयार गरेका थिए । सातै प्रदेशमध्ये बागमतिको योजना आयोगले मात्रै आधारपत्र तयार साथै लगानी सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरेको थियो, जसको नेतृत्व डा देवकोटा नै थिए ।

उनी त्यसअघि स्थानीय विकास मन्त्रालयको वित्त आयोगमा रहेर पनि नेतृत्वमूलक जिम्मेवारी सम्पन्न गरिसकेका थिए । लामो अनुभव र सूक्ष्म अध्ययन जगमा नेपालकै पहिलो नम्बरमा संघीयता विज्ञको रुपमा आफूलाई स्थापित गराउन डा देवकोटा सफल भएका हुन् ।

सार्वजनिक वित्त, स्थानीय राज्यसत्ता तथा योजना निर्माणमा वर्षौ खर्चिएका डा देवकोटाले सरकारी निकायलाई परामर्श दिने काममा सहयोग गर्दै आइरहेका छन् । अनुसन्धान गरेका छन् । विज्ञका नाताले विभिन्न सरकारलाई परामर्शदाताका रूपमा सहयोग पु¥याउँदै पनि आएका छन् ।

संघीयताको अभ्यासमा बामे सर्दै गरेको मुलुकलाई सैद्धान्तिक र व्यावहारिक रुपमा उनले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना वस्तुतः विचार सम्प्रेषण गर्दै आइरहेका छन् । साथै सो सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल पनि प्रकाशित छन् ।

राष्ट्रिय सभा विज्ञहरुको थलो हुनुपर्ने बताउँदै आएका डा देवकोटाले निर्वाचनमा जित हासिल गरेसँगै आफूले संघीयताको कार्यान्वयन, स्थानीय र प्रदेशको हकहितबारे आवाज उठाउने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width