जिएमसी र मनिपालमा कोरोनाको निशुल्क उपचार

सरकारले तोकेभन्दा बढी खर्च आए बिरामीले बेहोर्नुपर्ने

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
Gmc-manipal

पोखरा । पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मनिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको छ । सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मनिपालले कोरोना संक्रमित व्यक्तिको निशुल्क उपचार गर्ने भएका हुन् । यी हस्पिटलहरुमा पहिले कोरोनाको सशुल्क उपचार हुँदै आएको थियो ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सय देखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले गण्डकी मेडिकल कलेजलमा कोरोनाको बिरामीको निशुल्क उपचार गर्ने भनेपछि तयारी थालेको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले बताइन् । ‘आजबाट नै निशुल्क उपचार गर्न तयार छौं,’ उनले भनिन्, ‘सबै डाटाहरु इन्सट्लेसनको काम हुँदैछ, यो काम सकिएपछि सुरु हुन्छ ।’ जटिल अवस्थाका बिरामीको उपचारका लागि १ दिनमा १५ हजारभन्दा बढी खर्च लागेको खण्डमा बिरामी आफैले तिर्नुपर्ने उनले बताइन् । घलेले सरकारले सामान्य अवस्थाको कोरोना बिरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार बेहोर्ने गरी सम्झौता भएको बताइन् ।

आफूहरुकोमा धेरै जटिल खालका बिरामी आउने हुँदा सरकारले दिएको १५ हजारले कसैलाई धान्ने कसैलाई नधान्ने उनको भनाइ छ । अक्सिजनको मात्रा, रेम्डिसिभरलगायतका महंगो औषधीको प्रयोग गर्नुपरेको खण्डमा १५ हजारभन्दा माथि खर्च लाग्छ । सुरुमा १ सय बेड कोरोनाका बिरामीका लागि छुट्याउने सहमति भए पनि गण्डकी मेडिकल कलेजमा २ सय २२ जनासम्म संक्रमित पुगेको उनले सुनाइन् ।

जिएमसीमा बिहीबार पनि १ सय ४ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा ५६ जना एचडियुमा १५ जना, क्याबिनमा ३ जना र अन्य आइसोलेसन बेडमा रहको उनले बताइन् । पछिल्लो समय पिसिआरको रिजल्ट आउन समय लागेको कारण पनि कोरोना संक्रमितको चाप थेग्न गाह्रो परेको उनको भनाइ थियो ।

सरकारले जिएमसी र मनिपालसँगै देशभरका अरु अस्पतालहरुसँग पनि कोरोनाको निशुल्क उपचार गर्ने सहमति गरेको छ । नोबल मेडिकल कलेज टिचिङ हस्पिटल, नेसलन मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर, सिभिल सर्भिस हस्पिटल, चितवन मेडिकल कलेज भरतपुरमा पनि निशुल्क उपचार हुनेछ । यसैगरि नेसनल मेडिकल कलेज जोरपाटी, पिपल्स डेन्टल कलेज एन्ड डेन्टल हसिपटल, काठमाडौं नेसनल कलेज घट्टेकुलो, बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनलगायतका हस्पिटलहरु कोरोनाको निशुल्क उपचार गर्ने सहमति भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width