डाक्टरको साथले कोरोना जितिन् ८६ वर्षीया कमलकुमारीले

सुनील सापकोटा
जेठ ६, २०७८
kamal kumari B

पोखरा । म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका १ जना युवक क्याम्पस पढ्थे । क्याम्पस जाँदा नै कोरोना संक्रमण भएका उनी आइसोलेसनमा बस्नुपथ्र्यो । तर उनी पसलमा सामान बेच्दै बसे । जो सामान किन्न गए उनीहरुलाई कारोना पनि बाँड्दै गए । सामान किन्ने र तिनका परिवारमा कोरोना पस्यो ।

गाउँका ५१ घरमा अहिले कोरोना पोजेटिभ देखिएको छ, हरेक परिवारको १ जनाको मात्रै पिसिआर जाँचिएको थियो ।

सोही गाउँकी ८६ वर्षीया कमलकुमारी भट्टचन नजिकको सोही पसलमा चिनी किन्न पुगिन् । उनलाई पनि कोरोनाले समातिहाल्यो । बेलुकादेखि नै उनलाई अप्ठेरो हुन थाल्यो अनि ज्वरो आयो, खान मन नलाग्ने । यही लक्षण देखियो परिवारका अन्य सदस्यलाई पनि तर सामान्यजस्तो लाग्यो ।

कमलकुमारीको स्वास्थ्य समस्या सुरुमा हावापानी परिवर्तको कारण हो भन्ने ठानियो । उनी सिकिस्त भइन् । परिवारका सदस्यले हार गुहार गरे । बेनीका प्रकाशले एम्बुलेन्स बन्दोबस्ती गरेर सघाए ।

उनीहरु उपचारका लागि पोखरा हानिए । नातिनी एलिजाले भनिन्,‘एम्बुलेन्समा हामी पोखरा आयौं, फुपूलाई संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवा र हजुरआमालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखियो ।’ ‘आइसोलेसनमा राख्न त पिसिआर रिपोर्ट पोजेटिभ आउनुपर्ने रहेछ, हामीले निजी ल्याबबाट पिसिआर जाँच गरायौं, बिहानको रिपोर्ट बेलुका आयो । सरकारीमा गरेको भए ३ दिन लाग्ने रहेछ, ३ हजार तिरेपछि निजीबाट सोही दिन रिपोर्ट आयो,’ उनले भनिन् ।

कमलकुमारीको रिपोर्ट पोजेटिभ आयो । उनलाई आइसोलेसनमा सारियो । आइसोलेसनमा भर्ना भएकी उनमा पखाला र दिसासँगै रगत बग्ने समस्या थपियो । भोलिपल्ट कमलकुमारी पनि संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवाको आइसियुमा भर्ना भइन् । एलिजाले भनिन्, ‘गण्डकी अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल दुईतिर बिरामी हुँदा अप्ठेरो भइरहेको थियो, एकैतिर सारेपछि सहज भयो ।’

‘हजुरआमालाई अस्पताल जाने बेलासम्म कोरोना के हो भन्ने नै थाहा थिएन, त्यसैले होला, उहाँमा आत्मविश्वास गुमेको थिएन,’ नातिनी एलिजाले भनिन् । बिरामीको आत्मविश्वास, डाक्टरको उपचार तथा सल्लाह र निगरानीबाट कोरोना जित्न सकिने एलिजाको भनाइ छ ।

अस्पतालमा पु¥याउँदा अर्धचेत र शरीरबाट रगत बगिरहेको अवस्था थियो । सुरुमा त बेड उपलब्ध गराउन नसकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखेर उपचार थालिएको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले बताए ।

१६/१७ दिनसम्म कोरोनासँग कमलकुमारीले पौंठेजोरी खेलिन् । उनलाई डाक्टरहरुले साथ दिए । औषधी इन्जेक्सनबाट दिने गरिन्थ्यो । अन्तत उनले कोरोनालाई परास्त गर्न सफल भइन् ।
‘संक्रामक अस्पतालको सेवा राम्रो रहेछ, राम्रोसँग सेवा पाइयो, त्यसैमाथि संक्रामक रोग अस्पतालका डा. विकास गौचन नातेदार पनि हुनुहुँदो रहेछ,त्यहीं गएपछि थाहा भयो,’ एलिजाले भनिन् । डा. गौचन भेटेपछि बिरामी कमलकुमारी र कुरुवा एलिजाको आत्मविश्वास झन् बढेको थियो ।

उनले अस्पतालमा रहँदाको कुरा स्मरण गर्दै भनिन्,‘सोही अवधिमा भर्ना भएका कोरोना बिरामी सलमान खान दाइ बित्नुभयो, मनमा एकखालको सोच घरिघरि आइरहन्थ्यो तर मन दरो पारेर बस्थेँ । मानसिक रुपमा कमजोरजस्तो पनि भइरहेको थियो, अनि फेरि सोच्थेँ म कमजोर बने कसले हेर्छ बिरामी ?’

‘खाना खानु भएको छ, शारीरिक कमजोरीभन्दाबाहेक केही समस्या छैन, सबै निको भयो,’ बिरामी कुरुवा भट्टचनले भनिन् । अब पनि केही समय होम आइसोलेसनमै रहन र पौष्टिक र लोकल खाना खुवाउन डाक्टरहरुले सुझाएका छन् । उनीहरु कोरोनामुक्त भएर गाउँ फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

    • अन्नपूर्णको बजेट ४२ करोड ३० लाख

      साधन राम्जाली असार ८, २०७८
      म्याग्दी  । अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७८/०७९ को लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष…
    • २० मन्त्री पदमुक्त

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय गरिदिएको छ । योसँगै प्रतितिनि सभा विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त…
    • कोरोनाले पोखराको पर्यटनमा करोडौं घाटा

      विजय नेपाल असार ८, २०७८
      पोखरा । पोखरामा सबैभन्दा धेरै रुममध्येको होटल हो, स्वीस इन्टरनेशनल होटल सरोवर । लेकसाइडमा लिफ्ट सुविधासहितको यो होटल ९ तलाको…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…

    hero news full width

    sanil ads

    wordlink ads