भूकम्पले ६ घाइते, ७३ घरमा क्षति

नवराज पहाडी
जेठ ५, २०७८
house

लमजुङ । भूकम्पले घर भत्किँदा लमजुङमा ६ जना घाइते भएका छन् । कोरोना कहरले मानिसको जनजीवन आक्रान्त बनिरहँदा बुधबार बिहान लमजुङ केन्द्रबिन्दु्र बनेर गएको भूकम्पले जिल्लाका ७३ घरमा क्षति पुगेको छ ।

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिका–८, भुलभुले केन्द्रबिन्दु भई ५ दशमलब ८ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्ला कास्की, तनहुँ, मनाङ, गोरखामा समेत महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालमा गएको विनासकारी भूकम्पको परकम्प हो । भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ रिक्टर स्केलको फेरि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

घटना विवरण अनुसार मस्र्याङ्दी गाउँपालिका ६, ठूलीवेंसीका २२ वर्षीय गोविन्द अधिकारी घरबाट हामफाल्दा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

लमजुङका भुलभुले केन्द्रबिन्दु भएर बुधबार बिहान २ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस्तै, वेंसीसहर नगरपालिका–६, चनौटेमा महेन्द्र गुरुङको घरमा डेरा गरी बस्ने मस्र्याङदी गाउँपालिका–६ घेर्मुकी ४० वर्षीया उमा गुरुङ पनि घाइते भएकी छन् । घरको गारो भत्किएर पुर्दा उनी घाइते भएकी थिइन् । जिल्ला अस्पतालबाट उपचारपछि बुधबार साँझ उनको डिस्चार्ज गरिएको छ ।

वेंसिसहर ११, रामचोक वेंसीकी ८३ वर्षीया खुवकुमारी पाण्डेको घर भत्किँदा उनको खुट्टा र हातमा चोट लागेको छ । वडा ८ को ओख्लेफाँट टोलमा बस्ने स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष २९ वर्षीया खुशीमाया गुरुङ दौडधुप गर्ने क्रममा खुट्टामा चोट लागेर घाइते भएकी छन् ।

दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङको घरको गारो भत्किँदा घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार वेंसिसहर–८, सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ शौचालय जानेक्रममा भूकम्पका धक्काले लडेर चोट लागेको छ । दोर्दी गाउँपालिका–८, द्वारकी २३ वर्षीया दीलमाया मगरको घर भत्किँदा बिचल्ली भएकी छन् । २ दिनकी सुत्केरी उनी अघिल्लो दिनमात्र अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा गरी ७३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्षतिको विवरण आउने क्रम अझै जारी रहेको कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रले बताए । पुराना र ढुंंगा माटोले बनेका घरमा बढी क्षति भएको छ ।

कार्यालय अनुसार सबैभन्दा बढी ४० घरमा क्षतिको विवरण बेसीशहर नगरपालिकाबाट आएको छ । बेसीशहरमै रहेको प्रमुख जिल्ला अधिकारीको निवास समेत चर्किएर बस्न जोखिम छ ।

यस्तै, क्ब्होलासोंथर गाउँपालिका–१, कपुरगाउँका ३ घरमा क्षति पुगेको हुँदा ती परिवारलाई अन्यत्र बस्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

मस्र्याङ्दी ८, भुलभुले केन्द्रबिन्दु बनेर गएको भूकम्पले स्थानीय नरबहादु गुरुङको घर भत्किएको छ भने वडा ३, तरापुका बासुदेव खत्रीको घर पनि भत्किएको छ ।
मध्यनेपाल नगरपलिका–७, लक्ष्मीबजारका विलास पोखरेलको घर, वडा २, चैनपुर टोलका इन्द्रचन ठकुरीको घर र वडा ५, पराजुलीवेंसीका नवराज तिवारीको धन्सार भत्किएको छ । सुन्दरबजार ३, दुराडाँडाको च्यानपाटाका गोरे क्षत्रीको एकतले घर, वडा १० का दीननाथ तिवारीको घर पनि भूकम्पले चर्किएको छ ।

दोर्दी गाउँपालिकामा ११ घरमा क्षति पुगेको छ । तीमध्ये वडा ७, लप्सीबोटका केहरसिंह कामी र बुद्धिमाया तामाङको घर पूर्ण रुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरीको भान्साघर र प्रहरी निरीक्षकको भान्साघर चर्किएर क्षति पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width