अदालती बयान अब ‘भर्चुअल’, कास्कीले थाल्याे अभ्यास

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
kdc

पोखरा । कोरोना महामारीको बेला प्रविधिको उच्च प्रयोग गर्दै कास्की जिल्ला अदालतले भर्चुअल (श्रव्य–दृश्य) माध्यमबाटै प्रतिवादीको बयान लिन थालेको छ ।
जिल्ला अदालतमा अभियोगपत्रका साथ पक्राउ परिआएका प्रतिवादीको भर्चुअल प्रविधि प्रयोग गरी बयान लिइएको सूचना अधिकारी नील पनेरुले बताए ।

पहिलो दिन जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा रहेका ४ फरक मुद्दा ७ प्रतिवादीसँग बयान लिइएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराई, डण्डपाणि शर्मा, नारायणप्रसाद पौडेल र देवप्रसाद योगीले बयान लिएका हुन् ।

फौजदारी कार्यविधि संहिताको दफा १२२ को (५) (६) मा थुनामा वा हिरासतमा रहेको व्यक्तिसँग अदालतले श्रव्यदृश्य माध्यमबाट समेत बयान लिन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार कोरोना महामारीको संक्रमण जोखिमलाई ध्यानमा राखी प्रविधिको प्रयोग गरिएको पनेरुले बताए ।

फौजदारी मुद्दामा प्रतिवादीसँग थुनछेक अघि नै न्यायाधीशले बयान लिनुपर्छ । फौजदारी मुद्दाअन्तर्गत लागु औषध, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग लगायतका मुद्दा पर्दछन् ।

कोरोनाको जोखिमलाई हेरेर अर्को आदेश जारी नभएसम्मका लागि यही प्रविधि अपनाइने अदालतले जनाएको छ । यस साथै वकिलले समेत भर्चुअलले बहस गरेका छन् ।
अदालतले अघिल्लो सातादेखि नै म्याद थपको व्यवस्था भर्चुअल सुरु गरिसकेको थियो ।

जिल्ला अदालत कास्कीमा हाल १ न्यायाधीशसहित १२ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width