लेखनाथका तालमा नयाँ मापदण्ड तोकिने

प्रकाश ढकाल
जेठ ३, २०७८
7 lake

पोखरा । पोखरा तालैतालको सहर । फेवाताल, वेगनास, रुपा लगायत ९ ताल यहाँ छन् । तर अधिकांश तालहरु संरक्षणमा सरकारको चासो छैन । त्यतिमात्रै होइन, तालकै क्षेत्र समेत सँधियारले मिचेर खाइसके । न मापदण्ड कार्यान्वयन हुन्छ, न त सौन्दर्यीकरणमा चासो छ ।

यिनै ताल र हिमाल हेर्न बर्सेनि लाखौं पर्यटक पोखरा आउँछन् । पर्यटक लोभ्याउने ताल सरकारले बनाउन सकेको छैन । अहिले बल्ल पोखरा महानगरले फेवाताल बाहेक लेखनाथ क्षेत्रका सातै तालको मापदण्ड र सौन्दर्यीकरणबारे प्रारम्भीक अध्ययन सकेको छ । लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले अध्ययन प्रतिवेदन आइतबार बुझाएको छ । डाक्टर सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनले तालको सम्भावित मापदण्ड, हालको क्षेत्रफल, चर्चेको भूमि र सौन्दर्यीकरणका लागि आवश्यक पर्ने कामबारे सरकारलाई सुझाव दिएको छ ।

अन्तका तालमा व्यक्तिले अतिक्रमण गरेजस्तो देखिन्छ । तर यी तालहरुको क्षेत्रफल बढेको छ । व्यक्तिका जग्गा पनि तालमा परेको छ । सार्वजनिक जग्गामा पानी पुगेको छ

यो प्रतिवेदन पाएपछि महानगरले त्यहाँका तालको छुट्टै मापदण्ड कायम गर्ने छ । हाल वेगनास, रुपा लगायत तालमा १ सय मिटर मापदण्ड छ । तर स्थानीयले त्यो मापदण्ड व्यवहारिक र वैज्ञानिक नभएको भन्दै सच्याउन दबाब दिँदै आएका थिए । लामो समयदेखि छलफलकै क्रममा रहेका यहाँका तालहरुको मापदण्ड तालको आकार हेरेर तोक्न सिफारिस गरिएको छ । अध्ययन समितिले वेगनास र रुपा तालको मापदण्ड ६० मिटर र बाँकी साना तालहरुको मापदण्ड ३० मिटर तोक्न सकिने प्रतिवेदन दिएको हो । अध्ययन समितिका सदस्य तथा मालपोत कार्यालय लेखनाथका प्रमुख हरिबहादुर भुजेलले पहिलेको नक्सा र अहिलेको फिल्ड हेरेर प्रतिवेदन बनाएको बताए ।

‘कानुनी आधारहरु खोज्यौं । तालको संरक्षण र तालबाट प्रतिफल लिन सक्ने गरी मापदण्ड महानगरलाई सिफारिस गरेका छौं,’ उनले भने, ‘ठूला ताल र साना तालको छुट्टै मापदण्ड छ । बर्गीकरण गरेर स्वरुप अनुसार सिफारिस गरेका हौं । पहिलो चरणमा ठूला तालमा जोड दियौं ।’ प्रस्तावित मापदण्ड पूर्ण निषेधित भने होइन । ‘यो मापदण्ड पूर्ण निषेधित होइन । क्षेत्र छुट्याएर सौन्दर्यीकरणको प्रस्ताव गरेका छौं,’ उनी भन्छन्, ‘अन्तका तालमा व्यक्तिले अतिक्रमण गरेजस्तो देखिन्छ । तर यी तालहरुको क्षेत्रफल बढेको छ । व्यक्तिका जग्गा पनि तालमा परेको छ । सार्वजनिक जग्गामा पानी पुगेको छ । नयाँ ड्याम बनाएपछि क्षेत्रफल बढेको देखिन्छ ।’

समितिले बुझाएको प्रतिवेदन महानगरका मेयर मानबहादुर जिसीले लिएर कार्यान्वयनका लागि अघि बढाईसकेका छन् । उनले यसै वर्ष गुरुयोजना तयार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिए । प्रतिवेदनमा तालको मापदण्ड, तालहरुको विशेषता अनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिइएको छ । नापी कार्यालय पोखराका प्रमुख खिमलाल गौतम, मालपोतका लेखनाथ इलाका प्रमुख हरिबहादुर भुजेल, ताल विकास प्राधिकरणका प्रमुख अनुप गुरुङ सदस्य थिए भने आमन्त्रित सदस्यमा गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा आशोककुमार सुनारलाई तोकिएको थियो । समितिले दिएको प्रतिवेदन मिहिन रुपमा अध्ययन गरेर कार्यान्वयनमा लैजाने मेयर जिसीले बताए । उनले कार्यपालिका बैठकबाट प्रतिवेदन पास गर्ने बताएका छन् ।

‘वडाध्यक्षसँग बस्यौं । ५ मिटर मात्रै मापदण्ड बनाउनुपर्छ भने । नजिकका जग्गाधनीहरु मापदण्ड जतिसक्दो कम बनाइदिए हुन्थ्यो भन्छन्,’ उनले भने, ‘धेरै थरी कुरा आएपछि विज्ञ खटाएर अध्ययन ग¥यौं । यसले एउटा मार्गचित्र देखाएको छ ।’ समितिले निकालेको प्रतिवेदन अनुसार तालमा पानीको सतह साँघुरो भएपनि क्षेत्रफलमा कुनै असर नपरेको देखाईएको छ ।

स्थानीय र जग्गाधनीले नै ताल संरक्षणमा योगदान गरेको प्रतिवेदनले जनाएको छ । यसलाई थप सौन्दर्यीकरण गरेर प्रवद्र्धनमा ध्यान दिए पोखरामा पर्यटकको बसाई बढाउन सकिने निष्कर्ष निकालिएको छ । रुपातालमा बृहत परियोजना सन्चालन भैरहेको छ । वेगनास तालमा नयाँ ड्याम बनेको छ । अरु तालहरु संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगिसकेका छन् । पोखराका सबै तालहरु जोड्ने गरी पोखरा महानगरपालिकाले साइकल लेन समेत निर्माण गर्दै छ । अहिले तालको गुरुयोजना बनाउन २५ लाख विनियोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width