गण्डकीको आर्थिक वृद्धिदर ३.६ र अर्थतन्त्रको आकार ३ खर्ब ७२ अर्ब

आदर्श समाज सम्वाददाता
जेठ २, २०७८
arthik briddi

पोखरा। मुलुकभरका ७ प्रदेशमध्ये बाग्मती प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा उच्च हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बाग्मती प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण विभागले गरेको हो । गत आर्थिक वर्षमा बाग्मतीको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको थियो ।

प्रदेशहरूमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो १६ खर्ब ८ अर्ब रुपैयाँको हुने अनुमान छ । त्यस्तै सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को अर्थात् चालू आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

हालै विभागले सार्वजनिक गरेको तथ्यांकमा प्रदेश १ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ऋणात्मक १.२ प्रतिशतबाट चालू आर्थिक वर्षमा ३ दशमलव ६ प्रतिशत हुनेछ भने कुल गार्हस्थ्य उत्पादनमा बाग्मती प्रदेशको अर्थतन्त्रको हिस्सा ३७ दशमलव ७ प्रतिशत छ । गत आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ऋणात्मक भएन । यस आर्थिक वर्षमा ती प्रदेशको आर्थिक वृद्धिदर क्रमशः ३ दशमलव ६ र ३ दशमलव ४ प्रतिशत हुने अनुमान छ ।

कर्णाली र सुदूरपश्चिमको अर्थतन्त्र चालू आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ७२ अर्ब रुपैयाँ र २ खर्ब ९४ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै प्रदेश २ को आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशत कायम भई अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

गण्डकी र लुम्बिनी प्रदेशको अर्थतन्त्र यस वर्ष ३ दशमलव ६ र ३ दशमलव ९ प्रतिशतले बढेर क्रमशः ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब रुपैयाँ पुग्नेछ ।

चालू आवमा कोभिडको थप असर नपरे सबै प्रदेशको आर्थिक वृद्धिदर सकारात्मक रहने विभागको भनाइ छ । सरकारले कोभिड नियन्त्रणका निम्ति चालेको निषेधाज्ञा जस्ता कदम बढीमा १५ दिन मात्रै रहे यी प्रक्षेपण हुनेछन् । त्यसपछि लम्बिँदै गए प्रक्षेपण प्राप्तिमा कठिनाइ हुने विभागका अधिकारीहरूको भनाइ छ । विभागले १८ ओटा आर्थिक क्षेत्रका क्रियाकलापका आँकडाका आधारमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सम्बन्धी वास्तविक, अनुमानित तथा प्रक्षेपित तथ्यांक सार्वजनिक गर्ने गरेको छ ।

गतवर्ष खानी तथा उत्खनन, उत्पादनमूलक क्षेत्र, निर्माण, खुद्रा तथा होलसेलको व्यापार, यातायात र भण्डारण, आवास तथा खाद्य सेवा (होटल तथा रेस्टुरेन्ट)को वार्षिक वृद्धिदर ऋणात्मक भएको थियो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीका अनुसार होटल तथा रेस्टुरेन्ट क्षेत्रको आर्थिक वृद्धि गतवर्ष सबैभन्दा बढी करीब ३७ प्रतिशतले ऋणात्मक थियो । तर यी आर्थिक कारोबार हिस्सा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम भएकाले समग्र आर्थिक वृद्धिददर नकारात्मक हुनबाट जोगिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width