बागलुङमा बिहेले निम्त्याएको विपत्ती, काेरोनाले एकाघरका ४ जनाको निधन

आदर्श समाज सम्वाददाता
जेठ २, २०७८
Corona Banner

गलकोट ।  बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो । परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो । यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भएको हो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उहाँकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।

अधिकांश सङ्क्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड–४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताउनुभयो । यद्यपि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । यस क्रममै लापरवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।

त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताउनुभयो । सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा सङ्क्रमण फैलिएको छ । “जिल्लामा सङ्क्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो”, जिसीले भन्नुभयो, “सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुँदा समस्या हुन्छ ।”

जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर शुरु भएर सङ्क्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ । कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउनुहुन्छ ।

“कोरोना सङ्क्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवास्ता र लापरवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ”, प्रजिअ कार्कीले भन्नुभयो, “अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ ।”
 खेमराज गौतम/रासस

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width